Tuesday August 21, 2018 |

पत्रपत्रिकाबाट— भ्रष्टाचारले रसातलमा जाँंदै टेलिकम

featured-news

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरुले फोरजीका नाममा प्रबन्ध निर्देशक कामिनीराज भण्डारी र प्रबन्धक प्रदीप ठाकुरले व्यापक घोटाला गरेको आरोप लगाएका छन् । उनीहरुका अनुसार यो घोटाला एक सय पच्चीस करोडको रहेको छ ।
टेलिकम कर्मचारीहरुका अनुसार अपेक्षा गरिएअनुसार सेवाग्राही भएमा फोरजीमा गरिएको लगानी उठाउन आठ वर्ष दुई महिना लाग्नेछ । तर यसका लागि प्रयोग भइरहेका उपकरणको म्याद केवल पाँच वर्ष रहेको छ । यसरी यति ठुलो रकम डुब्ने निश्चित छ । टेलिकमको सेवामा पटकपटक समस्या आउने गरेकाले दिक्दार भएर सेवाग्राही एनसेलतर्फ आकर्षित भइरहेका छन् । अझ केही समय टेलिकमको यही दुरावस्था रहेमा टेलिकम पूर्णतया धराशायी हुने निश्चित छ ।
टेलिकमका इमानदार तथा संस्थालाई जोगाउन प्रयासरत कर्मचारीहरुले सञ्चारमन्त्री, सञ्चार सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको विवरण एवं प्रमाणसहित पटकपटक उजुरी दिएका छन् । तर प्रबन्ध निर्देशक राजभण्डारी एवं प्रबन्धक ठाकुरमाथि कुनै कारवाही नहुनुले भ्रष्टाचारको जरो निकै गहिरोसम्म गाडिएको र भ्रष्टाचार नियन्त्रण गर्ने नेता तथा उच्च पदस्थ पदाधिकारीहरुको दाबी थोत्रा नारामात्र रहेछ भन्ने सोच्न आफूहरु बाध्य भएको उनीहरुको भनाइ छ ।
टेलिकमको उच्च स्रोतका अनुसार टेलिकमले प्रयोग गर्ने ९०० मेगाहर्ज (जीएसएम) टूजीका लागि र १८०० मेगाहर्ज (डीसीएस) टूजीका लागि एवं २१०० मेगाहर्ज (युएमटीएस) थ्रीजीका लागि पहिल्यैदेखि उपयोगमा आइरहेको छ । फोरजीका लागि कुनै नयाँ टावर तथा उपकरण जडान नै नगरिकन १८०० मेगाहर्जकै ब्याण्डमा कार्डमात्रै परिवर्तन गरी फोरजी सेवा सञ्चालन गर्ने प्रचारप्रसार गरिएको कर्मचारीहरको भनाइ छ । उनीहरुका अनुसार यो फोरजी नभएर थ्रीजी मात्र हो । यसै कारण एक दुई स्थानबाहेक कहिँ पनि फोरजी सेवा उपलब्ध छैन । सेवाग्राही स्वयंले यसको स्पीड चेक गरेमा यो तथ्य सामुन्ने आउने टेलिकमकै कर्मचारीले भण्डाफोर गरेका छन् । यसरी कार्डमात्रै परिवर्तन गरेर टेलिकममा एक सयपच्चीस करोड रुपैयाँ हजम पार्न खोजिएको स्रोतको दावी छ । फोरजी सम्बन्धी कागजपत्रमा कयौं नायब प्रबन्ध निर्देशक तथा वरिष्ठ प्राविधिकहरुले सहमति जनाउन एवं हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । उनीहरुले ती कागजपत्रमा हस्ताक्षर गरेर आफूहरु भविष्यमा जेल जान इच्छुक नभएको भनी प्रतिवाद गरेको स्रोतको भनाइ छ । तर प्रबन्धक प्रदीप ठाकुरको भ्रष्ट प्रबृत्ति र प्रबन्ध निर्देशक राजभण्डारीले ठाकुरकै सल्लाहमा हरेक निर्णय गर्ने गरेका कारण फोरजीमा यत्रो घोटाला भएको टेलिकम कर्मचारीहरुले खुलासा गरे । विभिन्न अनियमित एवं टेलिकमलाई जानाजान रसातलमा पु¥याउने कार्य राजभण्डारीले ठाकुरकै उक्साहट तथा चाँडोभन्दा चाँडो बढी भन्दा बढी रकम आर्जन गर्नका निम्ति गर्ने गरेको टेलिकमका कर्मचारी बताउँछन् । उनीहरुका अनुसार टेलिकमलाई ध्वस्त बनाएर एनसेलमा गएर उच्च सुविधा लिने चाँजोपाँचो प्रबन्धक ठाकुरले मिलाइसकेका छन् । टेलिकमको फोर जीभन्दा एनसेलको थ्री जी सेवा राम्रो रहेको टेलिकमकै कर्मचारीको भनाइ छ । एनसेलले फोर जी सेवा सुरु गरेपछि टेलिकमको फोर जीको अवस्था झनै दयनीय बनेको टेलिकमकै कर्मचारीले खुलासा गरेका छन् । टेलिकम उच्च स्रोतले अन्य घोटालाका सम्बन्धमा यसरी खुलासा गरेको छ सीआरबीटी प्रोजेक्टमा डकुमेन्ट मिलाएर एकजनालाई मात्र पर्ने गरी टेन्डर दिइएको छ । रोमिङ बिलिङ सोलुसनको टेन्डरमा माइक्रोसफ्ट जस्तो प्रसिद्ध कम्पनी समेतलाई भाग लिन पाउनुबाट वञ्चित हुने गरी चाँजोपाँजो मिलाइयो । यसैगरी मेडिएसन एण्ड इन्टरकनेक्टमा सबै डकुमेन्ट मिलाएर कालो सूची वाला कम्पनीलाई टेन्डर दिइएको स्रोतले बतायो । यी सबैमा करोडौं रुपैयाँको खेल भएको छ । यी सबै अनियमिततामा प्रमुख हात प्रबन्धक ठाकुरकै रहेको स्रोतको दाबी छ । यी सबै टेन्डर एवं प्रोजेक्टको सूक्ष्म एवं प्राविधिक छानबिन एवं लेखा परीक्षण भएमा टेलिकम कसरी ध्वस्त पारिदैछ भन्ने कुरा छर्लङ हुने स्रोतले बताएको छ । प्रबन्धक ठाकुरले हालै नायब प्रबन्धनिर्देशकहरुको बैठकमै अख्तियारलाई टेक्निकल कुराहरुको जानकारी नभएकाले कसैले चिन्ता लिन नपर्ने र अप्ठ्यारो पर्दा आफूले अख्तियारलाई अल्मल्याउन सक्ने कुरा गरेको समेत स्रोतले खुलासा गरेको छ ।
यो सबै तथ्यको भण्डाफोर निरन्तर भइरहँदा पनि टेलिकम कर्मचारी युनियनका प्रभावशाली जिम्मेवार नेताहरु मौन एवं मूकदर्शक बनिरहनु आश्चर्यजनक रहेको छ । टेलिकम कर्मचारीहरुको अनुसार तथाकथित फोरजीका वास्तविक प्रयोगकर्ताको संख्या न्यून भए पनि प्रबन्ध निर्देशक राजभण्डारी र प्रबन्धक ठाकुरले यो संख्या बढी रहेको बताउने गरेका छन् । एक सय पच्चीस करोड रुैयाँ टेलिकमले कहिलेसम्म उठाउने हो ? यो गम्भीर प्रश्न हो । टेलिकमको कोर बिजनेस दिनप्रतिदिन ओरालो लाग्दै गएको छ ।
वित्तीय सूचकांकको अवस्था दयनीय बन्दै गएको छ । कार्य सञ्चालन आयमा बृद्धि, खुद मुनाफामा बृृद्धि,सम्पत्तिको प्रतिफलमा बृद्धि, प्रतिशेयर आयमा बृद्धि, र ग्राहक संख्यामा बृद्धि सबै शीर्षक माइनसमा नै छ ।
यस्तै अपरेटिङ इनकम, प्रोफिट आफ्टरटेक्स र अर्निङ्स पर शेयरको अवस्था पनि माइनस नै छ । प्रबन्ध निर्देशक राजभण्डारीले सो पदमा नियुक्ति पाउन जुनजुन लक्ष्य हासिल गर्ने दाबी गरेकी थिइन् त्यसको पचास प्रतिशत पनि नपुग्ने तथ्यांक देखिएको टेलिकमका विशेषज्ञ कर्मचारीहरुले खुलासा गरे । यसै कारण पनि राजभण्डारीलाई तत्काल सो पदबाट हटाउनुपर्नेमा उनीलाई टेलिकम ध्वस्त पार्न छुट दिइएकोमा ती कर्मचारी आश्चर्य व्यक्त गर्छन् । — २०७४ साउन ३ गते मंगलबार काठमाडौंबाट प्रकाशित पुनर्जागरण साप्ताहिकबाट साभार

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon