Saturday August 24, 2019 |

भक्तपुरमा एक महीने गुंला पर्व शुरु

featured-news

भक्तपुर, १७ साउन । भक्तपुरमा एक महीनासम्म मनाइने गुंला पर्व आजबाट शुरु भएको छ ।

परापूर्व कालदेखि यहाँका शाक्य, बज्राचार्य, मानन्धरलगायतका समुदायले गुंलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महीना विभिन्न धार्मिककार्य गरी मनाउने गरिन्छ । गुंला पर्व विशेषगरी बुद्धधर्मावलम्बी नेवारले मनाउँदै आए पनि पछिल्लो समयमा हिन्दू धर्मावलम्बीले पनि मनाउन थालेका छन् ।

सबैको ऐतिहासिक पर्व भएको बताउँदै गुंला ङकधलं व्यवस्थापन समितिका अध्यक्ष जितलाल मानन्धरले एक महीने गुंला पर्वमा उपत्यकालगायत आसपासका चैत्य र बिहारका साथै बौद्ध एवं हिन्दू धार्मिक तीर्थस्थलको परिक्रमा गरी मनाइने बताउनुभयो । यो पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिन्छ ।

न्याकुँ बाजा, धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा, चती, न्याकुल बाजा बजाएर चैत्यहरुका साथै स्थानीय ईष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवीदेवताहरुको परिक्रमा गर्ने गर्दछन् । एक महीनासम्म पर्वमा सहभागी रहने व्रतालुले नून नखाइ एक छाक मात्र खाने र पर्व अवधिभर बिहानबेलुका पूजाअर्चना गर्ने प्रचलन छ ।

भक्तपुर, मध्यपुरथिमिलगायतका बासिन्दाले नागपञ्चमीका दिन चाँगुनारायण, जनैपूर्णिमाका दिन ललितपुर कुम्भेश्वर, कृष्णमन्दिर र बालकुमारी मन्दिर, गाईजात्राका दिन मध्यपुरथिमि नगरपरिक्रमा, कृष्णास्टमीका दिन काठमाडौँको स्वयम्भू, विजेश्वरी, शोभा भगवती, इन्द्रायणी, महाकाल, भदौ ११ सूर्यविनायक गणेशमन्दिर र भक्तपुर नगरपरिक्रमा गरिन्छ भने भदौ १४ मा बुङ्गमती, कार्यविनायक, खोकना, चोभार परिक्रमा गरी यो परम्परा सम्पन्न गरिन्छ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon