Sunday September 15, 2019 |

बिहे नगरी पति–पत्नीका रुपमा बस्ने लिभिङ टुगेदरमा जाँंदा दूरदृष्टि र गहन विचार नभए ठूलो जोखिम —डा डी आर उपाध्याय

featured-news

                       लिभ इन रिलेसनसिप, लिभिङ टुगेदर अर्थात युवकयुवतीले बिहे नगरी आपसी सहमतिमा पतिपत्नीका रुपमा जिन्दगी गुजार्न खोज्नु । पश्चिमी राष्ट्रहरुबाट छिमेकी भारतको सहरी क्षेत्रमा बढ्दै गएको यो चलन हाम्रो देशमा काठमाडौं र पोखरामा पनि सुरु भइसकेको छ । काठमाडौं र पोखरामा अन्य जिल्लाबाट उच्च शिक्षा हासिल गर्न अथवा रोजगारीको सिलसिलामा आएका आधुनिक विचारधाराका युवक–युवतीमा यस जीवनशैलीप्रति आकर्षण बढ्दै गएको देखिएको छ ।
मायाप्रीतिको प्रथमचरण पार गरेका अथवा एकअर्काको व्यक्तित्व र गुणलाई मन पराउन थालेका युवक–युवती डेटिङबाट आफ्ना अभीप्सा र उद्देश्य पूरा भएको नपाएपछि लिभिङ टुगेदरतर्फ कदम चाल्ने गरेका छन् । केही युवा लिभिङ टुगेदरलाई आफ्नो प्रणय सम्बन्धलाई आजीवनको नाता बनाउनुपूर्वको कसीका रुपमा लिन्छन् भने केहीका लागि आफ्नो यौनचाहना पूरा गर्ने अल्पअवधिको निर्बाध अवसरमात्र हुन्छ । केहीले त यसलाई आफू अतिविकसित अत्याधुनिक दर्शनको धनी रहेको प्रदर्शन गर्नका लागिसमेत लिभ इन रिलेसनसिपलाई अपनाउने गरेका छन् । हुन त नेपालको कानुनले लिभिङ टुगेदरलाई वा बिहे नगरी पतिपत्नीसरह बस्न पाउने कुरालाई मान्यता दिएको छैन । तर यसमा कुनै समस्या खडा भएर कानुनको शरणमा कोही नपुगेसम्म उसले खासै हस्तक्षेप गरेको पनि देखिंदैन । एक किसिमले हेर्ने हो भने यस सम्बन्धमा कानुन मौन छ । पश्चिमी केही राष्ट्रमा भने लिभिङ टुगेदर जीवनशैलीले सामाजिक र कानुनी मान्यता नै प्राप्त गरेको छ ।
बिहे नगरी पतिपत्नीका रुपमा बस्ने जोडीसामु स्वाभाविक रुपमा अनेकौं गम्भीर जोखिम तथा चुनौती रहेका छन् । युवक वा युवती दुईमध्ये कसैमा पनि भविष्यमा यो नाता टुटेपछि आफूलाई सम्हाल्नै गाह्रो हुने वा मानसिक जटिलता आउने जस्तो लाग्छ भने ऊ यस्तो अभ्यासबाट टाढै बस्नुपर्छ । किनभने आफूलाई अनुकूल नलागेमा रिलेसनसिपलाई एक पक्षीय रुपले तोड्ने सहमति पहिल्यै भइसकेको हुन्छ । दुई–चार पटकको डेटिङ र ६–७ महिनासम्मको चिनजानपछि नै लिभिङ टुगेदरमा जानु झनै जोखिमपूर्ण हुन्छ । एकअर्काका बानी–व्यहोरा, रहन–सहनको तौरतरिका, रुचि आदि बारे पूर्णतया व्यवहारिक रुपमै जानकार भएरमात्रै लिभिङ टुगेदरमा जानु उपयुक्त हुन्छ । यसका लागि कम्तीमा एक वर्षको समय आवश्यक हुन्छ ।
हिन्दू समाजमा लिभिङ टुगेदरलाई रुचाउने अभिभावक बिरलै छन् । परिवार यस सम्बन्धलाई पछि आत्मसात गर्न सक्दैन भन्ने जान्दाजान्दै लिभिङ टुगेदरमा जानुलाई बुद्धिमतापूर्ण मान्न सकिंदैन । यसबाट परिवारका धेरै सदस्यको सुखशान्ति खल्बलिने सम्भावना हुन्छ ।
भारत तथा अन्य केही देशमा लोकप्रियता वा प्रसिद्धि कमाएकाहरु लामो समयसम्म लिभ इन रिलेसनसिपमा बसेर अधबैंसे वा वृद्धावस्थामा छुट्टिनुपर्दा ठूलो तनाव र डिप्रेसनमा पुगेको अनेकौं घटना प्रकाशमा आउने गरेकै छन् ।
सबैभन्दा गम्भीर तथा जटिल कुरा के छ भने लिभ इन रिलेसनसिपका बेला जन्मिएका सन्तान, सो जोडीले कुनै कारण अल्प समयमै छुट्टिँंदा ती सन्तान दुर्भाग्यपूर्ण नियति भोग्नुपर्ने हुन्छ । त्यस्ता निर्दोष सन्तानमा कतिपयले जीवनभर ठूलो मानसिक यातना र तनाव झेल्नुपर्ने हुन्छ । उनीहरु मादकपदार्थ, लागूपदार्थका दुव्र्यसनी र विभिन्न अपराथमा संलग्न हुँंदा समाजमा नकारात्मक असर पर्ने गरेको पनि छ । यस कारण बिहे नगरी पतिपत्नीका रुपमा बस्नुपूर्व युवक–युवतीले दूरदृष्टि अपनाउँदै गहन विचार तथा आफ्ना अभिभावकलाई समझदारीमा लिएरमात्र कदम अगाडि बढाउनु उपयुक्त हुन्छ ।
                                                                                                –२०७६ साउन ३१

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon