Saturday May 26, 2018 |

एनसेलको टोटल बिजनेस बाह्र प्रतिशतले कम हुँंदा टेलिकमको बिजनेस पचास प्रतिशत घटेको खुलासा, राजभण्डारी टेलिकमको इतिहासकै सर्वाधिक असक्षम प्रबन्धनिर्देशक रहेको आरोप

featured-news

काठमाडौँ, २३ फागुन । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्रबन्ध निर्देशक पद सम्हालेदेखि टेलिकमको कोर बिजनेस निरन्तर ओरालो लाग्दै गएको पटकपटकका तथ्यांकले खुलासा गरेको टेलिकम उच्चस्रोतले बताएको छ । वाट्सऐप, भाइबरलगायत सेवा प्रयोगको क्रम बढेपछि एनसेलको टोटल बिजनेस बाह्र प्रतिशतले कम भएको छ भने टेलिकमको बिजनेस पचास प्रतिशत घटेको स्रोतले बताएको छ । राजभण्डारीको अदूरदर्शिता, चरम असक्षमता र उनको निहित स्वार्थतर्फ ध्यान केन्द्रित भएकोले टेलिकमको यो दुर्दशा भइरहेको टेलिकमका इमानदार कर्मचारीहरुले आरोप लगाए । टेलिकमका इमानदार कर्मचारीहरुले राजभण्डारीलाई टेलिकमको इतिहासकै सर्वाधिक असक्षम प्रबन्धनिर्देशक रहेको आरोप लगाएका छन् ।
राजभण्डारीले प्रबन्ध निर्देशक पदमा नियुक्ति पाउन गरेको कबोल बमोजिमका लक्ष्यका छवटै प्रत्येक बुँंदा माइनसमा गएको हालैको त्रैमासिक प्रतिवेदनमा खुलासा भएको टेलिकम उच्च स्रोतले बताएको छ । केही महिनाअघिसम्म बैंक मौज्दातमा बढेको ब्याज दरमा वृद्धि हुँंदा देखिएको नाफासमेत अहिले माइनसमा गएको स्रोतको दाबी छ । तर राजभण्डारीले तथ्यांकलाई गञ्जागोल पारी माथिल्लो निकायलाई भ्रमित पारेर आफू पदमा टिकिरहेको टेलिकम कर्मचारीको दाबी छ । वित्तीय सूचकहरुको अवस्था दयनीय बन्दै गएको छ । कार्य सञ्चालन आयमा बृद्धिको अवस्था, खुद मुनाफामा बृृद्धि, सम्पत्तिको प्रतिफलमा बृद्धि, प्रतिशेयर आयमा बृद्धि र ग्राहक संख्यामा बृद्धि सबै माइनसमा छन् । टेलिकमको आर्थिक कारोबारको टेक्निकल अडिट गरिएमा राजभण्डारीका सबै अनियमितता भण्डाफोर हुने स्रोतको दाबी छ । नेपाल टेलिकमको धारा ९क अनुसार प्रबन्ध निर्देशक पदमा नियुक्ति हुँदा गरेको कबोल बमोजिम लक्ष्य अनुसारको प्रगति नगर्नेलाई नियुक्त गर्ने पदाधिकारीले पदबाट हटाउनुपर्ने व्यवस्था छ तर राजभण्डारीले नियुक्ति पाउनका लागि प्रस्तुत गरेको लक्ष्यका प्रत्येक बुँदा माइनसमा छ र टेलिकमको पूरै कोर बिजनेस चौपट अवस्थामा छ । अहिले टेलिकमको शेयरमा पनि गिरावट आएको स्रोतले बताएको छ । राजभण्डारीको असक्षमतालाई पूर्व संसदको सार्वजनिक लेखा समितिले प्रष्ट गरी सक्दा पनि टेलिकमको विनियम अनुसार उनलाई पदबाट नहटाइनुको रहस्य के हो ? टेलिकमकै इमानदार कर्मचारी आश्चर्यपूर्ण प्रश्न गर्छन् ।
फोर जीको एलटीइ–३ ओपन टेन्डर स्वीकृत गर्ने प्रकरणमा मूल्यांकन प्रस्तुत गर्न गठित समितिका पदाधिकारीहरुले साथ नदिएका कारण अर्बौं रुपैयाँं अनियमितता गर्ने राजभण्डारीको दाउ असफल भएकोमा टेलिकमका इमानदार कर्मचारीहरुले सन्तोष प्रकट गरेका छन् । टेलिकमका धमिरा र जागिर अवधिभर अनेकौं प्रोजेक्टमा अनियमितता गरी करोडौं कमाउन सफल प्रबन्धक प्रदीप ठाकुरबाट हालै टेलिकम मुक्त भएकोमा टेलिकमका इमानदार कर्मचारीले खुसीसमेत मनाएका छन् । तर राजभण्डारीले फोर जीमा अब नयाँं ढंगबाट आफ्नो गलत मनसाय पूरा गर्ने चाँंजोपाँंजो मिलाउन थालेको समेत उनीहरुले बताए । राजभण्डारीले चाँंडै नै ठाकुरजस्तै भ्रष्ट प्रवृतिको अर्को नयाँं दलाललाई अगाडि सार्ने योजना बनाइरहेको राजभण्डारी निकट स्रोतले बताएको छ । स्रोतले तत्कालै उनको नाम भने खुलाउन चाहेन । नवगठित सरकार र निकट भविष्यमै नियुक्त हुने सूचना तथा सञ्चारमन्त्रीले फोर जी प्रकरणलाई आरम्भदेखि नै छानबिनको दायरामा राख्ने आशा ती कर्मचारीले व्यक्त गरे । 
फोर जीको एलटीइ–३ ओपन टेन्डरमा हुवावेबाट तीन अर्ब पच्चीस करोड रुपैयाँंमा देशव्यापी फोर जी सेवा उपलब्ध गराउने प्रस्ताव आइसकेको अवस्थामा यसका लागि पच्चीस वा एकतीस अर्ब खर्च गराउने राजभण्डारीको जोडदार प्रयत्नमा लुकेको अनियमितताको नियत आफैंमा ठूलो घोटालाको प्रमाण भएको टेलिकम उच्च स्रोतको दाबी छ । फोर जी सेवा सुचारु गर्न कम्तीमा दुई वर्ष लाग्छ र तबसम्म फाइभ जी सेवा सुरु भइसक्नेछ । त्यसपछि फोर जीमा गरिएको लगानी उठ्नै नसक्ने र टेलिकमको टाट पल्टने टेलिकमकै विज्ञहरुको भनाइ छ ।
उपरोक्त समाचारका सम्बन्धमा राजभण्डारीसँंग जानकारी लिन पूरा समाचार डट कमले फेरि पनि सम्पर्क राख्न गरेको प्रयास सफल हुन सकेन । पूरा समाचार डट कमको नेपाल टेलिकम वा त्यहाँका कुनै पनि पदाधिकारीसँग कुनै आग्रह–पूर्वाग्रह छैन । तर त्यहाँं भइरहेका र हुने आर्थिक अनियमितताबारे खुलासा गर्न यस अनलाइनले नजिकबाट अध्ययन र विश्वस्त स्रोतबाट खोजी पत्रकारिता जारी राखेको छ । नेपाल टेलिकम देशको अर्थतन्त्रको बलियो खम्बा बन्न सक्छ तर राजभण्डारीको अनियमिताका कारण यो धराशायी बन्दै गएको बारे हाम्रो विश्वस्त स्रोतले निरन्तर खुलासा गर्दै आएको छ । नेपाल टेलिकमलाई ध्वस्त बनाउने गतिविधि टुलुटुलु हेर्न नमिल्ने कुरा आत्मसात गरेर पूरा समाचार डट कमले विश्वस्त स्रोतबाट प्राप्त समाचार सम्प्रेषण गरिरहेको मात्र हो । टेलिकममा सर्वसाधारणका रगत–पसिना बगाएर कमाइ गरेको अर्बौं रकम रकममा ब्रम्हलुट गर्नेको भण्डाफोर गर्न हामी हर समय तत्पर छौं, यसमा कुनै पनि चुनौती आए पनि पूरा समाचार डट कम पछाडि हट्ने छैन ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon