Monday May 27, 2019 |

महिला अधिकारकर्मी र सरकारी संयन्त्रको दृष्टि पुगेन ! तानेर जबरजस्ती साझा दुलही बनाउने कुप्रचलन रोकिनु अपरिहार्य –डा डी आर उपाध्याय

featured-news

 

                              एक्काइसौं शताब्दीको नेपालमा अझैसम्म यस्ता कुरीति एवं अमानवीय प्रचलन समाजमा व्याप्त छन् जसबारे चर्चा गर्दा पनि जिब्रो टोक्ने अवस्था छ । शहरी क्षेत्रमा आधुनिक समाजले नेपालमै पनि सहजै त्यस्ता कुरीति हाम्रै दुर्गम क्षेत्रका जिल्लाहरुमा प्रचलनमा रहेको विश्वास गर्न गाह्रो पर्छ । तर वास्तविक जीवनमा यस्ता कुप्रचलनले अझै जरो गाडेकै छन् । देशमा शैक्षिक तथ्यांक उकालो लाग्दै गएको, सामाजिक जनचेतना आकाशिंदै गएको दाबीलाई यस्ता प्रचलनले उपहास गरिरहेका छन् ।

राजधानी नजिकैको जिल्ला गोरखाका करिब दुई दर्जन गाउँबस्तीमा नवयुवतीलाई केटाले तानेर लगी विवाह गर्ने प्रचलन कायम छ । तानेर लाने, थुनेर राख्ने र दाजुभाइको साझा दुलही बनाएका कयौं घटना हालै सार्वजनिक भएका छन् । गोरखाका चुमनुब्री गाउँपालिका अन्तर्गत बिही, प्रोक, ल्हो, सामागाउँ, सिर्दिबास क्षेत्रमा जबरजस्ती तानेर बिहे गर्ने परम्परा पुस्तौंदेखि कायम छ । चिनेको होस् वा नचिनेको, मन परेको होस् वा नपरेको, केटाले मन पराएपछि जबरजस्ती तानेर दुलही बनाउने प्रचलन रहेको वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामाले नै बताएको प्रकाशमा आएको छ ।

उनको भनाइ छ– यस्तो चलन बिहीमा अलि बढी छ । प्रोकमा पनि छ । अलिअलि त ल्हो, सामागाउँ र सिर्दिबासमा पनि छ । यो राम्रो चलन होइन, यसलाई हटाउनुपर्छ । यस क्षेत्रका शिक्षित युवाले समेत तानेर विवाह गर्ने चलनलाई संस्कृतिका रुपमा पनि लिन सकिने भन्छन् । केहीको भनाइ छ– हाम्रो गाउँमा कि मागी विवाह हुन्छ कि तानी विवाह हुन्छ । प्रेम विवाह गर्ने चलन छैन । त्यसैले मिलेमतोमै केटाले तानेजस्तो गर्ने, केटीले नमानेको जस्तो गर्ने चलन छ । तानेर बिहे गर्ने चलन कायम राख्न पनि तानेको अभिनय गर्ने गरिन्छ ।

             तर यस भनाइ विपरीतका अनेकौं घटना पनि छन् । जसबाट किशोर एवं नवयुवतीहरुको जीवन दुष्कर एवं यातनामय बन्न पुगेको छ । यसै क्षेत्रका केही किशोरी तानेर विवाह गर्ने प्रचलनमा जबर्जस्ती गरिएपछि आफ्नो गाउँ नै छाड्न बाध्य भइन् । एक किशोरीलाई केही समयअघि स्थानीय एक युवाले तानेर लगे । उनी उम्केर भाग्न सकिनन् । केही दिनसम्म घरभित्रै थुनिएर बस्नुपर्‍यो । अनि दाजुभाइको साझा दुलही भइन् । घरबाट भाग्ने मौका पाएपछि उनी काठमाडौं पुगिन् र उतैबाट विदेश लागिन् । संस्कृतिको नाममा यस्तो विकृतिलाई प्रोत्साहन दिनु सरासर अमानवीय हो । यस्ता प्रचलनले हाम्रो सामाजिक विकासको गतिको खिल्ली उडाउँछन् ।
देशको कानुनले यस्ता प्रचलनलाई स्वीकार गरेको छैन । मञ्जुरीबिना विवाह गर्ने–गराउनेलाई कानुनले दण्ड जरिबानाको व्यवस्था गरेको छ । मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ७२ मा महिला वा पुरुष जो कसैको मञ्जुरी नभई भएको विवाह बदर गर्न सक्ने उल्लेख छ । त्यस्तै मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७२ ले मञ्जुरीबिना विवाह गर्न नहुने र कसैले गरे–गराएको छ भने त्यो व्यक्तिलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था छ । मुलुकी अपराध संहिता ऐन २०७४ कै दफा ३२ ले मञ्जुरीबिना विवाह गरेमा क्षतिपूर्तिको व्यवस्थासमेत गरेको छ ।
नयाँ पुस्ताका केही शिक्षित युवा तथा जनप्रतिनिधिले तानेर विवाह गर्नुलाई संस्कृतिका नाममा विकृति भन्न थालेका त छन् तर यसको सशक्त विरोध गर्न सकिरहेका छैनन् । सरकारले गठन गरेको महिला आयोग, जिल्लाजिल्लामा स्थापना गरिएका महिला कार्यालयले यस्ता दुर्गम क्षेत्रहरुमा आफ्नो सक्रियता वृद्धि गरिदिए अवश्य नै यस्ता कुप्रचलनको अन्त्य भएर किशोरी–युवतीहरु यस्ता अत्याचार एवं अमानुषिक यातनाबाट मुक्ति पाउनेछन् । समाज कल्याणको उद्देश्य राखेर खोलिएका हजारौं गैरसरकारी संस्थाहरुले पनि तानेर जबर्जस्ती बिहे गर्ने प्रचलनलाई आफ्ना लागि ठूलो चुनौती मान्दै आफूलाई सुगम क्षेत्रमा सीमित राख्ने चिन्तनबाट बाहिर निकाल्नु पर्दछ । महिला अधिकारकर्मी र सरकारी संयन्त्रको दृष्टि यस्तो कुप्रचलनतर्फ तत्काल पुग्नुपर्छ ।

                                                                                           –२०७६ वैशाख १७

 

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon