Sunday October 21, 2018 |

डा. केसीको आमरण अनसनसँंग गाँंसिएका गम्भीर प्रश्न—डा. डी आर उपाध्याय

featured-news

                 चिकित्सा शिक्षामा माफियातन्त्रको अन्त्य गर्ने अठोटका साथ आन्दोलनरत डा. गोविन्द केसी २४ दिनदेखि आमरण अनसन बसिरहेका छन् । यो उनको पन्ध्रौं पटकको अनसन हो । विगतदेखि अहिलेसम्म विभन्न सरकारसँंग वार्ता र आश्वासनका कयौं उपहार डा. केसीले पटकपटक पाए तर निर्णायक रुपमा उनको माग सम्बोधन हुनुको साटो चिकित्सा शिक्षाको क्षेत्रमा मनपरी बढ्दै गएको स्पष्ट छ ।
अनसनरत डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भइसक्दा पनि सरकार वार्ता र उनको उपचारमा समेत उदासीन रहेको समाचार सञ्चार माध्यममा आउनु लोकतान्त्रिक शासनमाथिकै प्रहार हो लेख्दा अतिश्योक्ति नहोला । डा. केसीकोकी आमा मित्रकुमारी चिन्तित अवस्थामा उनी रहेको त्रिवि शिक्षण अस्पतालमा पुगिन् र डा. केसीलाई आफ्नो स्वास्थ्यको ध्यान राख्न भनिन् तर डा. केसी केही बोलेनन् । यसैबाट उनको दृढता स्पष्ट हुन्छ । यसैगरी विभिन्न सञ्चार माध्यमका सम्पादकहरुको टोलीले शिक्षण अस्पताल पुगेर डा. केसीको माग र आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । उता, वसन्तपुरमा आमनागरिकहरु डा. केसीको मागप्रति समर्थन जनाउँंदै सामूहिक अनसनमा बसेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत राष्ट्रिय स्तरका नेताहरुले डा. केसीको माग तत्कालै सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिएको यथार्थलाई समेत सरकारले गम्भीरता पूर्वक आत्मसात गर्नुपर्छ । डा. केसीले आफ्नो व्यक्तिगत कुनै पनि स्वार्थ पूरा गर्न यो आन्दोलन चलाएका होइनन् । चिकित्सा शिक्षा र सेवामा भइरहेका धाँंधली र भ्रष्टाचारबारे समयसमयमा समाचारहरु प्रकाशन भइ नै रहेका छन् । अर्कोतिर सरकारी तथा निजी अधिकांश अस्पतालले बिरामीहरुको आर्थिक शोषण अमानवीय ढंगबाट गरिरहेको यथार्थ पनि सर्वविदितै छ । यस परिप्रेक्ष्यमा डा. केसीको आन्दोलनलाई व्यापक जनसमर्थन प्राप्त हुनु स्वाभाविकै हो । जुम्ला पुगेर पन्ध्रौं अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएर चौतर्फी चिन्ता र विरोध भएपछि सरकारले गत बिहीबार उनलाई उनको इच्छा विपरीत त्यहाँंबाट काठमाडौं ल्यायो । तर यो आलेख लेखिंदासम्म उनको माग सम्बोधन गर्ने प्रक्रिया सुरु भएको छैन । डा. केसीले आफूलाई जबरवस्ती काठमाडौं ल्याइएको विरोधमा आफ्नो स्वास्थ्य जाँंच गर्नै दिएका छैनन् भने सरकारी पक्षले पहिला उपचार गर्ने र उनी स्वस्थ भएपछिमात्रै वार्ता गर्ने अडान लिएको डा. केसी निकटहरुको भनाइले थप च्निता सिर्जना गरेको छ । डा. केसीलाई सरकारले जुम्लाबाट सेनाको हेलिकप्टरमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याए पनि सोमबार साँंझसम्म उनको स्वास्थ्य स्थिति बुझ्नसमेत कुनै सरकारी प्रतिनिधि त्यहाँं पुगेको खबर छैन ।
डा. केसीका पक्षधर चिकित्सकहरु संसदमा विचाराधीन विधेयक फिर्ता गरेर सरकारी वार्ता टोली पूर्ण म्यान्डेटका साथ नआएसम्म वार्तामा बस्नुको अर्थ नहुने स्पष्ट पारेका छन् । उता, सरकारी पक्षका अनुसार सार्वभौम संसदभन्दा बाहिरबाट चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा निकास खोज्न थोपरिने कुनै पनि शर्त मान्य नहुने कुरामा प्रधानमन्त्री अडिग रहेका छन् ।
दुवै पक्षको अडान आफ्नै ठाउँंमा छ । तर डा. केसीको माग नाजायज भएको कसैले भन्न मिल्दैन । चिकित्सा शिक्षा र सेवामा मनपरी र अनियमितता भइरहेको सर्वविदित छ । यसलाई आत्मसात गरेर डा. केसीको माग सम्बोधन गर्ने बाटोको खोजी सरकारले गर्नु नै समस्या समाधानको उपाय हो । चिकित्सा शिक्षा र सेवामा रहेको माफियाराज अन्त्य भए सरकारले पनि जस पाउने र डा. केसीको माग पनि सम्बोधन हुनेछ ।
२०७५ साउन ८

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon