Saturday August 24, 2019 |

सगरमाथा आरोहणमा कामीरिताको नयाँ कीर्तिमानी

featured-news

सोलुखुम्बु, १ जेठ । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेक्नुभएको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । लामो समयदेखि आरोहण क्षेत्रमा रहनुभएका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको हो ।

कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् । कम्पनीका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताउनुभयो । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताउनुभएको थियो । बौद्ध धर्मअनुसार एक महीनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताउनुभयो । यसअघि २१ पटक सगरमाथा चढिसक्नुभएका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसक्नुभएको छ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon