Monday February 18, 2019 |

छाउपडी प्रथा कायम रहनु कालो धब्बा हो समाजको अनुहारमा —डा डी आर उपाध्याय

featured-news

                                 समाजमा परम्परागत कुरीति एवं कुप्रथा जरैदेखि उखेल्नका लागि राज्यको कोषबाट तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट बर्षेनि अर्बौं रुपैयाँं खर्च भइरहेको छ । शिक्षा र सचेतनाको तीव्र विकास गरिएका अनेकौं दाबी एवं तथ्यांक दिनहुँं सार्वजनिक हुने गरेका छन् । तर यी सबै तुष्टिकरणका प्रयासहरुमा तुषारापात गर्दै कुरीति एवं कुप्रथाको विकृत अनुहारले समयसमयमा सबैलाई स्तब्ध बनाउने गर्दछ । यही पुस २४ गते राती बाजुराको बूढीनन्दा नगरपालिका —९ अगाउँंपानीमा छाउपडी कुप्रथा यसैगरी प्रकट भयो । जहाँं साँंझ खाना खाएर सुत्न गएका ३५ वर्षीया अम्बा बोहरा, उनका छोराहरु १२ वर्षीय सुरेश र ९ वर्षीय रमितको ज्यान छाउपडी प्रथाकै कारण गयो । अम्बा महिनावारीको चौथो दिन आफ्ना छोराहरुलाई लिएर छाउगोठमा सुत्न गएकी थिइन् । जहाँं छाउगोठको अँंगेनामा बालिएको आगोले निसास्सिएर तीनैजनाको ज्यान गयो ।
महिला विकास कार्यालयका कर्मचारीहरुका अनुसार, बाजुराको ग्रामीण क्षेत्रमा केहीले आफ्नै निजी तथा केहीले सामूहिक छाउगोठ निर्माण गरेका छन् । महिनावारी हुँंदा गाउँंका महिला यिनै असुरक्षित छाउगोठमा बस्ने गरेका छन् ।
मध्यपश्चिम र सुदूरपश्चिमका कयौं जिल्लामा छाउपडी कुप्रथाकै कारण बर्षेनि महिलाहरुले ज्यान गुमाउनुपरेको छ भने केही बलात्कृतसमेत हुनुपरेको प्रकाशमा आउने गरेको छ । यसै वर्ष असार दोस्रो साता सुर्खेतको बराहताल गाउँंपालिकाकी १५ वर्षीया किशोरीमाथि छाउगोठमै स्थानीय तीन युवाले बलात्कार गरे । दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका —६ की तुलसा शाहीको छाउगोठमै सुतेका बेला गत असारमै सर्पले डसेर ज्यान गयो । सोही नगरपालिका—३ की लालसरा विकको जेठमा छाउगोठमै सुतेका बेला सर्पदंशबाटै ज्यान गयो ।
यस्ता घटनाहरु भएपछि केही समय सरकारी संयन्त्र लगायत गैरसरकारी संघसंस्था तातिन्छन् र कुप्रथा एवं कुरीति हटाउन सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्छन् । विस्तारै सबै सेलाउँंछन् र विभिन्न तर्क अघि सारेर परम्परागत कुरीतिले निरन्तरता पाउने गरेको यिनै क्षेत्रका बासिन्दा बताउँंछन् । यसकै फलस्वरुप छाउगोठ प्रथा मुक्त घोषणा गरिएका अनेकौं गाउँंबाट यो कुरीति हटेको छैन । घरदेखि टाढा गोठजस्तो सानो छाप्रोमा महिनावारी भएका हरेक उमेरका महिला कम्तीमा पाँंच दिनसम्म बस्नुपर्ने बाध्यता छ । यस्ता गोठमा झ्यालढोका नहुने गरेकाले छाउगोठ हरेक दृष्टिकोणले असुरक्षित हुन्छ ।
यस्ता ग्रमीण इलाकामा छाउगोठ प्रथालाई अन्धविश्वासको उपज र कुरीति भन्ने शिक्षित एवं बुद्धिजीवीहरु नभएका होइनन् । केही नगरपालिका एवं गाउँंपालिकाका जनप्रतिनिधि पदाधिकारी महिलाले यस प्रथालाई हटाउन आफूहरुले प्रयास गर्दा पनि हटाउन नसकेको स्वीकार गरेका छन् । उनीहरुका अनुसार, अधिकांश गाउँंलेमा महिनावारी भएका बेला छाउ नबसे अनिष्ट हुने त्रास व्याप्त छ । पुरातन सोचका कारण यस्ता प्रथा कायम छन् । विभिन्न राजनीतिक दलका केही जनप्रतिनिधि महिलाले नै यो प्रथा नछोडेको जागरुक महिलाले बताए । जनप्रतिनिधि महिलाले खुलेर यस प्रथा विरुद्ध बोलिदिए समाजमा अवश्य नै विस्तारै सकारात्मक परिवर्तन आउने विश्वास उनीहरुको छ । तिनै क्षेत्रका जिल्ला सदरमुकाम वा शहरी इलाकामा छाउगोठ परम्परालाई महिलाले छाडिसकेको उदाहरण पुराना चिन्तन राख्ने महिलासमक्ष राख्नुपर्छ । यस्ता परम्परा छाडेर सामान्य किसिमबाट मासिक धर्म निर्वाह गर्ने महिला वा उनका परिवारले अनिष्ट भोग्न नपरेको यथार्थ पुराना सोच राख्ने त्रस्त महिलाहरु समक्ष प्रभावकारी ढंगले राखिदिएमा उनीहरुमा परिवर्तन ल्याउन सकिन्छ । जीवनरथका दुई पांग्रामध्ये एक पांग्रालाई यसरी मानसिक रुपमा रुढिग्रस्त तथा असुरक्षित राखिएमा मानव जीवनको समुचित विकास नहुने कुरा सबैले आत्मसात गर्नुपर्छ । छाउगोठ प्रथाको पीडा भोगिरहेको क्षेत्रका सरकारी तथा गैरसरकारी निकायले बजेटको अभावमा छाउपडी विरुद्ध कार्यक्रम सञ्चालन गर्न नसकेको गुनासो गरेका छन् । यसलाई उच्च निकायहरुले गम्भीरतापूर्वक लिनुपर्छ । अन्य खर्चमा कटौती गरेर भए पनि यस्ता कुरीति हटाउन सबै उपाय अवलम्बन गर्न खर्चको व्यवस्था हुनुपर्छ । छाउपडी प्रथा कायम रहनु समाजको अनुहारमा कलंकको कालो धब्बा हो ।
—२०७५ पुस २८

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon