Friday October 18, 2019 |

विवाह शरीर होइन मन मिलाउने बन्नुपर्छ – डा डी आर उपाध्याय

featured-news

                                   युवक–युवतीले एकअर्कालाई मन पराएर केही समय वा लामो समयसम्म प्रेमी–प्रेमिकाका रुपमा रही गरेको प्रेम विवाह वा उनीहरुका अभिभावकले बरबधूको छनोट गरी गरेको मागी विवाहमा कसले जीवन सुखी र आनन्ददायी बनाउँछ भन्ने प्रसंग सधैं समाजमा बहसको विषय बन्ने गरेको छ । यसबारे कसैको अनुमान, भविष्यवाणी वा विश्लेषण कुनै मामिलामा सटीक हुन सक्छ भने कुनैमा सर्वथा मिथ्या बन्न सक्छ ।

समाजमा लाखौं यस्ता दम्पती भेटिन्छन् जसले वर्षौं प्रेम गरेर विवाह बन्धनमा बाँधिएपछि केही वर्षमै एक–अर्कालाई हदैसम्म घृणा गर्ने गरेका छन् । उनीहरुले सम्बन्ध विच्छेद गरेर अन्य जीवनसाथी खोजेका छन् । यतिमात्र होइन प्रेमविवाह गरेका कयौं पति–पत्नीले पारपाचुकेपछि प्रतिशोधको उग्र भावनाका वशीभूत एकअर्कालाई बर्बाद गरिछाड्ने क्रियाकलाप पनि गरेका छन् । प्रेमपथमा सँगै हिंड्दा एकअर्काका लागि ज्यान दिन तत्पर रहेको दृढता व्यक्त गर्नेहरु पति–पत्नी भएको केही समयमै एकअर्काको ज्यान लिने सीमासम्म पुगेको धेरै उदाहरण छन् । यसको यो अर्थ कदापि होइन कि सबै प्रेम विवाहको नियति यस्तै हुन्छ । प्रेम विवाह गरेर जिन्दगीको अन्तिम साससम्म सुखशान्ति, भरिपूर्ण आनन्द भोग गरेका जोडीको संख्या पनि धेरै छ । प्रेम विवाहको विरुद्धमा वकालत गर्ने मनसाय यस पंक्तिकारको किमार्थ होइन ।
आफ्ना सन्तान विवाह योग्य भएपछि अभिभावकले नाता–कुटुम्बमा चर्चा चलाउन थाल्छन् । कुनै कुनै समुदायमा हुनेवाला दुलहा–दुलहीलाई केही घन्टा एकान्तमा एकअर्कासँग परिचित हुने अवसर दिइन्छ भने कतैकतै केवल देखेरै चित्त बुझाउने प्रचलन छ । एकअर्कासँग खुलेर बोल्ने मौकासमेत उनीहरुले सुहागरातमा मात्रै पाउँछन् ।

यस्तो परम्परागत विवाहमा प्रेम भावना भन्दा सम्पूर्ण परिवारप्रति कर्तव्यपरायणता, आदर्श र अनुशासनमा विशेष जोड दिइन्छ नवदम्पतीलाई । मायाप्रीतिको विकास क्रसँग हुँदै जान्छ । जसरी विवाह बन्धनमा बाँधिएकामध्ये विशेषगरी नारीमाथि धेरै दिनसम्म मानसिक दबाब हुन्छ र उनी विस्तारै खुल्दै जान्छिन् । प्रेम विवाह गरेका पति बाहिरबाट घरमा पुगेर पत्नीसामु आपूmले केही खाने इच्छा व्यक्त गर्दा कयौं पत्नीले आपूmलाई आलस्य वा थकाइ लागेको हुँदा आपैंm झिकेर वा पस्केर खान पतिलाई सुझाउँछिन् । तर अरेन्ज म्यारिज अर्थात मागी विवाह गरेकी पत्नीले पति घरमा पुग्नासाथ– “केही खानु हुन्छ ?” भनेर खानपिन गराउन तत्पर हुने गरेको भेटाउन सकिन्छ ।
पुरुष र महिला बीच समान अधिकार हुनुपर्ने कुरा आफ्नो ठाउँमा छ । पत्नीका हरेक इच्छा पूरा गर्दा नै खुसी महसुस गर्ने पतिहरुको बहुसंख्यालाई हामीले नजर अन्दाज गर्न मिल्दैन । यस्ता व्यवहारले दाम्पत्य जीवनमा माधुर्य र आनन्द ल्याउँछन् । प्रेम विवाह वा मागी विवाह वा भागी विवाह वा गन्धर्व विवाह गरे पनि युवक–युवतीले पति–पत्नी भएपछि एकअर्काका चाहना, भावनालाई उचित कदर गरेमा निश्चय नै दाम्पत्य जीवनमा कहिल्यै तितोपना आउँदैन । एकअर्कालाई दाम्पत्यको रथको दुई पाङ््ग्रा मान्दै अघि बढेमा जीवनयात्रा अत्यन्त सहज रुपले अघि बढ्छ । स–साना कुरामा अविश्वसा, शंका–उपशंका गरेर दाम्पत्यमा कलह भित्र्याएपछि जुनसुकै पद्धतिको विवाह सूत्रमा बाँधिएका दम्पती होऊन्, उनीहरुबाट सुखशान्ति टाढिंदै जान्छ । दुई जिउ एक ज्यानभन्दा दुई मन वा दुई मुटु एक ज्यान हुने प्रणका साथ जुनसुकै पद्धतिबाट दाम्पत्य जीवनमा प्रवेश गर्दा सधैं खुसियाली र शान्तिले नै अंकमाल गर्छ ।

                                                                                             – २०७६ साउन २४

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon