Sunday November 18, 2018 |

विकास र समृद्धिका दाबीलाई चिढ्याउँंदै नयाँ नेपाल निर्माणको गति — डा डी आर उपाध्याय

featured-news

देशलाई विकास र समृद्धिको चुचुरोमा पुर्‍याइदिने दाबीको प्रतिस्पर्धा चलिरहेको जस्तो छ । यस उद्घोषको गुञ्जन स्वदेशमा मात्र होइन विदेशका मञ्चहरुमा समेत सुनिन्छ । यी वाचा र उद्घोषले साकार रुप कुन गतिमा लिइरहेका छन्, घामजस्तै छर्लङ छ । नयाँं नेपालको निर्माण यसै गतिमा भइरहने हो भने निश्चित रुपमा हामी विश्वको विकास प्रतिस्पर्धामा निकै पछाडि रहने छौं ।
दुर्गम क्षेत्रमा भइरहेका विकास निर्माणको त के कुरा गर्ने ! हाम्रो राजधानीकै कलंकी—नागढुंगा सडक निर्माणको गति भनौं वा दुर्गति कसरी भइरहेको छ ? देशकै राजधानी प्रवेश गर्दा सडक यातायातबाट आउने स्वदेशी तथा विदेशी नवागन्तुकको मनमस्तिष्कमा केकस्तो प्रभाव पर्छ होला ? पटकपटक आउने—जानेहरुले यति लामो समयसम्म यति छोटो दूरीको सडक निर्माणमा यतिका वर्ष लाग्नुको कारण कसरी केलाउँंछन् होला ? अहिले त्यस सडक किनारमा रहेका घरहरुमा बसोबास तथा कारोबार गर्नेहरुको मन—मस्तिष्कमा आफ्नो मुलुकका कर्णधारहरुप्रति केकस्तो अवधारणा बन्न पुगेको होला ? सजिलै अनुमान गर्न सकिन्छ ।
राजधानी उपत्यकाभित्रैका प्रसिद्ध पर्यटकीय स्थल नगरकोट र ककनीका सडकहरुको दुरावस्था कहिलेसम्म कायम रहने हो ? यस्ता महत्वपूर्ण सडकहरु निर्माण गर्न एकएक गरी एकमुष्ठ बजेट छुट्याएर पालैपालो छोटो समयमै निर्माण गरिदिए सबैले राहत महसुस गर्ने थिए । भएका संरचना पनि धमाधम सबै भत्काएर हात्तीको मुखमा जीरा हालेजस्तो बजेटबाट पुननिर्माण सुरु गरी यी सडकहरुको कष्टप्रद यात्रा विदेशी पर्यटकहरुलाई गराउँंदा विदेशमा समेत देशको छवि विकृत देखाउनुलाई कुनै पनि तर्कबाट सही ठहर्‍याउन सकिंदैन । के यसबाट देशको पर्यटन व्यवसाय दीर्घकालीन रुपमै चौपट हुने अवस्था सिर्जना भइरहेको छैन ?
राजधानी शहर काठमाडौंको चुच्चेपाटीदेखि साँंखुसम्मको सडक लामो समयदेखि वर्षामा हिलाम्य र अन्य मौसममा धुलाम्य छ । भगवान बुद्धको नामबाट संसारभरि नेपाललाई चिनाइरहेको विश्वसम्पदा सूचीमा रहेको धार्मिक स्थल र बौद्ध धर्मावलम्बीका लागि एक पटक पुग्नैपर्ने स्थान हो बौद्ध । राजधानीका सडक विस्तारको क्रममा अन्य स्थानका सडकको निर्माण तीव्र गतिमा गरियो तर यस्तो महत्वपूर्ण स्थलको सडक निर्माणको ढिलाइबारे सम्बन्धित निकायहरु एकअर्कामाथि दोषारोपण गर्नमै व्यस्त रहे । धुलोबाट बच्न यहाँं ट्यांकरबाट पानी खसालेर हिलो बनाउने क्रम करिब तीन वर्षदेखि चलिरहेको छ । बौद्ध क्षेत्रका व्यापारीहरुको व्यापार चौपट छ । पसलको महंगो भाडा तिर्नेहरु त उठिबासै हुन लागेको गुनासो गर्छन् ।
यी त प्रतिनिधिपात्र मात्र हुन् । अनेकौं क्षेत्रमा विकास निर्माणमा अदूरदर्शिताका कारण सर्वसाधारणले लामो समयदेखि सास्ती खेपिरहेका छन् । आधी–एक घन्टामा आफ्नो गन्तव्यमा पुग्नेहरुलाई दुइतीन घन्टा लाग्छ । स्वास्थ्यमा नराम्रो असर तथा अन्य पीडाको हिसाब छुट्टै छ । हरेक दृष्टिकोणले यसको कुप्रभाव देशको विकासमा नै परिरहेको छ ।
विडम्बना के छ भने यस्ता निर्माणकार्य गर्ने युवा जनशक्ति ठूलो संख्यामा विदेशमा छ र दिनहुँं विदेशिइरहेको छ । । खाडी राष्ट्र र मलेशियामा रहेका नेपाली जनशक्तिले दुख, पीडा र यातना पाउने गरेका कयौं घटना छन् । उनीहरुको पारिश्रमिक पनि आकर्षक छैन । त्यस्ता जनशक्तिलाई आफ्नै मुलुक निर्माण गर्ने समुचित वातावरण बनाउने गुरुयोजना निर्माण गरेर तत्काल कार्यान्वयन गर्नु अपरिहार्य छ । यसो गरिएमात्र देश विकासले तुलनात्मक गति लिन सक्छ । अनिमात्र विकास तथा समृद्धिको दाबी सार्थक दिशामा अग्रसर हुन्छ । अन्यथा उक्त दाबीले जनमानसलाई चिढ्याएको प्रतीत हुनेछ । 
–२०७५ असोज २८

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon