Thursday June 20, 2019 |

छाउपडी कायमै

featured-news

बाजुरा, ११ जेठ । बाजुराको डोगडीमा छाउपडी प्रथा अझै कायमै रहेको पाइएको छ । रजस्वला भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले यहाँ निरन्तता पाएको भेटिन्छ । महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी र अन्धविश्वासबाट महिला पीडित हुने गरेका छन् ।

साविकको डोगडी गाविस हाल खप्तड छेडेदह गाउँपालिका–५ का महिला महीनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्छन् । छाउपडी भएका बेला घरभित्र पस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दही महीजस्ता पोषणयुक्त खानेकुरा खान नदिने गरेको स्थानीय महिला भुजी सुनारले बताउनुभयो । । स्थानीय सरकारले समेत वास्ता नगरेको स्थानीय महिलाको आरोप रहेको छ ।

परम्परागत सामाजिक मूल्य र मान्यता, जनचेतनाको कमी, लैङ्गिक विभेद, अशिक्षा, उपयुक्त नीति नियमको अभावका कारण यो प्रथाले निरन्तरता पाउँदै आएको स्थानीय सीता सुनारले बताउनुभयो । ओछ्याउने कपडाको अभावमा जाग्राम बसेर रात काट्नुपर्ने बाध्यता रहेको स्थानीय लक्ष्मी रावतले बताउनुभयो । कानूनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, रु तीन हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले आफूहरुले गाउँपालिकाबाट विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेकाले छाउगोठ नभएको दाबी गर्नुभयो । यदि यो प्रथालाई प्रश्रय दिएको पाइएमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी गर्न उहाँले आग्रह गर्नुभयो । अध्यक्ष रावतले जो पीडित महिला छन् उनीहरुले गाउँपालिकामा उजुरी दिन अनुरोध गदैँ गाउँपालिकाले त्यस्ता गतिविधि अन्त्य गर्ने विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । हाल बाजुराका नौ वटा स्थानीय तहमा रहेको तीनसय छाउगोठमध्ये २०० बढी भत्काइसकिएको छ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon