Thursday June 20, 2019 |

सारङ्गीको धुनमा गाउँगाउँमा गन्धर्व

featured-news

बेझाड, १६ चैत । जीवनको अधिकांश समय रामबहादुर गन्धर्वले सारङ्गीको धुन रेटेरै बिताउनुभयो । अहिले उहाँ उमेरले ६७ वर्ष पुग्नुभयो तर उहाँलाई सारङ्गी रेट्ने कामदेखि टाढा रहन मन छैन ।

लामो समयदेखि सारङ्गी रेटेरै रामबहादुरले आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । गाउँबस्तीमा पुगेर सारङ्गी रेट्दै गीत गाउँदै गर्दा उहाँलाई साँझ बिहान बितेको पत्तै हुँदैन । बाउबाजेबाट घरमा सानै उमेरदेखि नै सारङ्गी रेट्ने सीप सिक्नुभएका रामबहादुरले १५ वर्षको उमेरदेखि नै पेशागत हिसाबले सारङ्गी रेट्दै गीत गाउँदै गाउँबस्तीमा जान थाल्नुभएको हो । अहिले उमेर ढल्कदै गए पनि उहाँको सारङ्गी रेटाइ र गीत सुन्दा जवानी अवस्थाको जस्तै अनुभूत हुन्छ । उमेर ढल्कँदैछ तैपनि उहाँलाई सारङ्गी रेट्न र मायाप्रेम, ख्यालठट्टाका गीत गाउनमा उत्तिकै जोशजाँगर बढेर आउँछ ।

“सारङ्गी रेटेर धुन बजाउन थालेपछि बल्ल २०÷२५ वर्षको ठिटो छु जस्तो हुन्छ, सारङ्गीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ, उमेर गन्दा सात दशकको नजिकै पुगिएछ, तर अझै पनि जवानीमै छु जस्तो हुन्छ बेलाबेलामा” उहाँले भन्नुभयो । पाल्पाको तानसेन लामीडाँडा बस्ने उहाँ यो उमेरसम्म पनि विभिन्न गाउँबस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउनहुुन्छ । उहाँको गीत मन नपराउने सायदै कमै होलान् ।

‘परेवा र परेवीको फिल्मी कथा सुन्छु, कपालमा हात लगाई धुरुधुरु रुन्छु’ ‘रुन्छु रुन्छु मै पागल हुन्छु, रुनी मनलाई बुझाउनी गाल बुन्छु ।’ उहाँकी यस्ता कर्णप्रिय गीतले बालबालिका, युवायुवती, वृद्धवृद्धा सबै उमेर समूहका व्यक्तिको मन छुन्छ ।

गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म रकम सङ्कलन गर्दै आइरहेको उहाँ बताउनुहुन्छ । आफ्नो खर्चबाहेक बचेको केही रकम घरमा समेत पठाउने गर्नुहुन्छ । गीत गाउँदै हिँड्ने सिलसिलामा पाल्पाको रामपुरमा आउनुभएका रामबहादुरले समाजबाट लोप हँुदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृतिलाई धान्नका लागि गाउँगाउँमा पुग्ने गरेको बताउनुभयो ।

एकातिर संस्कृति संरक्षण अर्कोतिर जीवन पनि सजिलैसँग रमाइलो गरी चलिरहेको उहाँको भनाइ थियो । “गाउँमा पसेपछि सबैले गन्धर्व दाइ भनेर खुशीसँग स्वागत गर्छन्, सकेको रकम पनि दिइरहेका छन्, सबैको माया पाएको छु”, उहाँले भन्नुभयो ।

कहिले पूर्व कहिले पश्चिम क्षेत्रमा पुगेर सारङ्गी रेट्ने रामबहादुर हिजोआज भने उमेर ढल्कँदै जाँदा पाल्पा र नजिकका केही जिल्लामा मात्र केन्द्रित हुनुहुन्छ । “जन्मनु नाङ्गै राम मर्नुछ नाङ्गै, सम्पत्ति जाँदैन साथैमा, बाँचुसम्म दिनु खानु मरे के छ लानु, साँचेको अलपत्र फ्याँक्नु राम हो राम”, उहाँ गीतमै भावना पनि व्यक्त गर्नुहुन्छ । अचेल सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने चलन घट्दो छ । आजसम्म केही पाकापुस्ताले संस्कृतिलाई जेनतेनले धान्दै आए पनि संरक्षणमा आजका गन्धर्व समुदायका युवापुस्ताले भने चासो दिएको पाइँदैन । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon