Sunday September 15, 2019 |

सन्दर्भ – पिता सम्मान दिवस – बाबुको मुहारमा कम्तीमा सन्तोषको भाव कायम राखिदिए सार्थक हुनेछ – डा डी आर उपाध्याय

featured-news

                          देशको राजधानीलगायत विभिन्न शहर तथा ग्रामीण बजारमा मिठाई एवं फलपूmल, लुगा तथा फेन्सी पसलहरूमा आज र भोलि पनि ठूलो भीडभाड देख्न पाइन्छ । हिन्दू धर्मावलम्बी करिब–करिब सबै सन्तान आफ्ना बाबुका लागि बाबुको मुख हेर्ने दिनमा अर्पण गर्ने किसिम–किसिमका उपहार खरिद गर्न व्यस्त हुन्छन् । पितालाई सम्मान दिने यस दिवसलाई कुशेऔंसी पनि भनिन्छ । बुबाको देहावसान भइसकेकाले यस दिन काठमाडौंको गोकर्ण, रसुवाको बेत्रावती र धरानको विष्णुपादुका स्थित मन्दिरमा पुगेर श्राद्ध तथा सिदादान गर्ने गर्दछन् ।
हुन त आफ्ना जन्मदाता पितालाई सम्मान गर्न, उनीप्रति आफ्नो श्रद्धा एवं प्रेम व्यक्त गर्न अथवा उनको खुसीका निम्ति उनलाई प्रिय वस्तु उपहार दिन कुनै विशेष दिन नै आवश्यक हुँदैन । किनभने उनै पिता आफ्नो सन्तानलाई यस धर्तीमा पदार्पण गराउने व्यक्ति हुन् । तर पनि यसलाई विशेष महत्व दिंदै प्रत्येक वर्ष बुबाको मुख हेर्ने दिनका रूपमा नेपालमा मनाइन्छ । विश्वका अनेकौं देशमा फरक तिथिमा फादर्स डे को रूपमा यसै दिवसलाई मनाउने गरिन्छ । ती देशहरुमा पनि पितालाई विशेष सम्मान प्रदान गर्ने, शुभाकामना व्यक्त गर्ने, उपहार दिने तथा उनीबाट आशिर्वाद ग्रहण गर्ने प्रचलन रहेको छ ।
वास्तवमा अहिलेको समाजमा यस्ता दिवसहरूले हाम्रो मन–मस्तिष्कलाई घच्घच्याउने काम गरिरहेका छन् । आधुनिकताले युवापुस्तालाई जकडिंदै गएको छ । अधिकांश परिवारका वृद्धहरूले आपूm आफ्नै सन्तानबाट उपेक्षित–तिरस्कृत–बहिष्कृत, घरबारबाट निस्काषित समेत हुनुपरेको पीडा सार्वजनिक रूपमै व्यक्त गर्ने गरेका छन् । वृद्धआश्रमहरूमा दिनरात आँसु बगाउँदै बसेका हजारौं अभागी बुबा भेट्न सकिन्छ, जसले आफ्नो सिंगो जीवन आफ्नै सन्तानको खुसीका लागि समर्पित गरे । आफ्नो लागि बुढेसकाल सुखद रूपमा बिताउन सक्ने चल–अचल सम्पत्ति पनि छोरा–छोरीकै निम्ति खर्च गरे तर आज सम्पन्न छोराछोरी त्यस्ता पितालाई सडकमा बेसहारा छाडिदिएका सयौं उदाहरण रहेका छन् । आफ्ना पितालाई आफ्नो सुख–सुविधा र विलासी जीवनका बाधक मानेर उनको बेवास्ता गर्नेहरूको कमी छैन समाजमा । यस्ता स्वार्थी सन्तानका लागि वर्षको एक दिन नै भए पनि आफ्नो पिताप्रतिको उत्तरदायित्व सम्झाउनकै निम्ति भए पनि यो दिवस प्रभावकारी हुनेछ भन्ने दूरगामी सोच राखेर यो दिवस मनाउन समाजका अगुवा विद्वानहरूले सुरू गरेका हुन् । तर वर्षमा केवल एक दिन आफ्ना बुबाप्रति सम्मान व्यक्त गरेर आफ्नो कर्तव्य र उत्तरदायित्वको इतिश्री मान्नु हुँदैन ।
वृद्धहरूले सन्तानबाट अत्यधिक उपेक्षा र प्रताडना सहनु परेपछि बाध्य भएर लामो समयसम्म आन्दोलन–अनशन गरे । फलस्वरूप अहिले राज्यले उनीहरूलाई वृद्ध भत्ता तथा अन्य सुविधाहरू उपलब्ध गराइरहेको छ । छोराको आम्दानीको केही प्रतिशत बुबालाई उपलब्ध गराउने प्रक्रिया सुरू भएको छ । यी सबै सकारात्मक कदम हुन् । तर यस्तो बाध्यता उत्पन्न हुनु पारिवारिक प्रेम, मानवीयता एवं आधुनिक सभ्यताका निम्ति उत्साहजनक भने पक्कै होइन । आफ्नो सन्तानको एकएक खुसी आपैंm बुझेर जुटाइदिने बाबुले दुई छाक खान, लाउन र औषधि उपचारका लागि अन्य स्रोतको आश्रित हुनुपर्ने, अरूको मुख ताक्नुपर्ने अवस्था आउनु सन्तानहरूका लागि गौरव गर्ने कुरा हुन सक्दैन । बाबुको मुख हेर्ने दिनमा हरेक छोरा–छोरीले उनका निम्ति बाबुले निर्वाह गरेका कर्तव्यहरू सम्झेर उनको मुहारमा हाँसो नभए पनि सन्तोषको भाव कायम राख्ने अठोट मात्रै गरिदिए बाबुको मुख हेर्ने दिन सार्थक ठहरिनेछ ।
                                                                                                – २०७६ भदौ १२

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon