Saturday August 24, 2019 |

प्राणीलाई सृष्टिकर्ताको अनुपम उपहार मायाप्रीति र पहिलो प्रेमको माहात्म्य – डा डी आर उपाध्याय

featured-news

                          संसारमा माया–प्रीति, प्रेम, लभ शब्दले तरंगित नबनाउने मन–मुटु भेट्टाउनु करिब–करिब असम्भव नै छ । मानिस त के पशुपंक्षीलाई समेत यसले सृष्टिको आदिदेखि नै आफ्नो वशमा पारेको जताततै अनुभव गर्न सकिन्छ । समय क्रमसँगै मानिसमा प्रेमको स्वरूप, परिभाषा र अभिव्यक्त गर्ने शैली परिवर्तन हुँदै आएको छ ।
केही दशक अगाडिसम्म माया–पिरती समाजको दृष्टिबाट बचाएर, लुकेर प्रकट गर्ने गरिन्थ्यो । युवती मात्रै होइन युवकले पनि आफ्नो प्रेम प्रसंगलाई अगाडि बढाउँदा अत्यन्त सतर्कता अपनाउने गर्दथे । तर समाजमा खुलापन बढ्दै गएपछि प्रेमले पनि रीतिरिवाजका सिक्री र बन्धनलाई खुकुलो पार्दै गयो । केही वर्षअघिसम्म किशोर–किशोरीबीचको प्रणयलाई आश्चर्य एवं अशोभनीय दृष्टिकोणबाट हेर्ने समाजमा अहिले यो सामान्य भएको छ । सञ्चार माध्यमको विकासले माया–प्रेमलाई व्यापक बनाइदिएको छ । इन्टरनेट र मोबाइल फोनले संसारलाई एउटा नगरमा सीमित पारेसँगै मानव मन एक मिनेटमै देशको सीमा पार गरेर जहाँ पनि पुग्ने भइसकेको छ । हरेक देश, हरेक भाषाको धेरैजसो गीत–संगीत–साहित्य माया–प्रेमलाई केन्द्रमा राखेरै सबैलाई आकर्षित–प्रभावित गर्ने गरेका छन् । प्रेम प्रसंग बिना कुनै टेलिश्रृंखला वा चलचित्र बनाउने कल्पना गर्न पनि गाह्रो छ, यस क्षेत्रमा काम गरिरहेकाहरूका लागि । यसरी प्रेमको महिमा अपरम्पार छ । प्रेमबिना जीवन नीरस वा अपुरो भन्ने मान्यता राख्नेहरूबाट यो संसार भरिएको छ । मायाप्रेमलाई मिथ्या भन्नेहरूले पनि जीवनको कुनै न कुनै मोडमा यससँग साक्षात्कार गरेकै हुन्छन् । पौराणिक कालमा देवी–देवता तथा ऋषि–मुनि र नारदमुनीजस्ता बालब्रम्हाचारीमा पनि माया–प्रेमले आफ्नो लीला देखाएकै हो ।
समाजमा आधुनिक विचारले आफ्नो वर्चश्व बढाउँदै लगेपछि प्रीति–प्यारमा पनि यसको प्रभाव देखियो । प्रेमी–प्रेमिकाको हाँसो–मुस्कान–खुसियालीमै आफ्नो खुसी महसुस गर्ने, एकअर्काको खुसीका लागि जे पनि गर्न अघि सर्ने प्रेमी–प्रेमिकाको चर्चा समयक्रमसँगै सेलाउँदै गएको छ । यसको ठाउँमा शारीरिक र आर्थिक स्वार्थका वशीभूतको प्रेम प्रसंग बढ्दै गएको छ । एकअर्काप्रति समर्पणको भावनामा ओतप्रोत प्रेम, जुनी काट्ने प्रेम अब केही अपवाद बाहेक केवल चलचित्र र उपन्यासमा सीमित भएका छन् । लाखौं युवा हाकाहाकी भन्छन्– एउटैसँग प्रेम सम्बन्ध गाँसिरहनु ब्यर्थ हो । दुईचार डेटिङपछि गहिरो प्रेम सम्बन्ध गाँसेकाहरूले केही दिनमै ‘ब्रेक’ भएको बताउँदा आपूmलाई अत्याधुनिक र विकसित जीवनशैलीमा बाँच्ने स्मार्ट व्यक्तिका रूपमा प्रस्तुत गर्ने गर्दछन् । आधुनिकतासँगै प्रेममा अनेकौं विकृति–विसंगतिले पनि व्यापक ठाउँ बनाएको छ । हुन त यस्तो परापूर्वकालमा पनि हुन्थ्यो नै तर पहिले यदाकदा हुन्थ्यो भने अहिले संख्यात्मक रूपले यो डरलाग्दो भएको छ । माया–प्रेममा अन्धो भएर छोरीले आमाको हत्या गराएको घटना त नृशंसता र प्रेमको इतिहासमै सबैभन्दा कालो धब्बाका रूपमा देखिएको छ । प्रेमले अनेकौं युद्ध गराएको छ । हिटलरजस्ता त्रूmर तानाशाहको मनमा समेत मायाप्रेमले आफ्नो ठाउँ बनाएर छाड्यो ।
प्राणीलाई सृष्टिकर्ता को अनुपम उपहार रहेको प्रीति–प्यारको माहात्म्य लेखेर साध्य छैन । तर हमेशा करिबकरिब सबैको प्रेम प्रसंगमा एउटा समानता आश्चर्यजनक रूपमा भेटिन्छ । सबैको मुखबाट सुन्न पाइन्छ– जिन्दगीको पहिलो प्रेम अन्तिम समयसम्म याद रहन्छ । यो कथन अहिलेको पुस्तामा पनि उत्तिकै प्रिय छ ।
                                                                                        – २०७६ साउन १०

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon