Tuesday August 21, 2018 |

पत्रपत्रिकाबाट – टेलिकममा खरबौं खरबको चलखेल !

featured-news

काठमाडौं । विगत कयौं महिनादेखि नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरले फोरजी सेवा सञ्चालन र अन्य अनेकौं प्रोजेक्ट तथा टेन्डरमा भ्रष्टाचारको ताण्डव मच्चाइरहेको टेलिकम उच्च स्रोतले बताएको छ । राजभण्डारी, ठाकुरलगायत एउटा गिरोह नै टेलिकमलाई टाट पल्टाउने षडयन्त्रमा लागेको स्रोतको दाबी छ । सेवाग्राही, राज्य, अख्तियार दुरुपयोग अनुसन्धान लगायत भ्रष्टाचार नियन्त्रण गर्ने निकायका आँखामा छारो हाल्ने काम यस गिरोहले कसरी गरिरहेको छ त्यसको थप भण्डाफोर टेलिकम उच्च स्रोतले गरेको छ । टेलिकमको वेबसाइटमा लेखिएको छ– इन्ज्वाय द इन्टरनेट एट मोर देन थर्टी अर्थात तीस एमबीपीएस स्पीड फोरजी । तर सर्वसाधारण सेवाग्राहीले समेत त्यो स्पीड चेक गर्दा टेन अर्थात दस एमबीपीएसभन्दा बढी आउँंदैन । स्रोतका अनुसार, अन्य देशहरुमा फोरजीका लागि फोरटी अर्थात चालीसभन्दा माथि एमबीपीएस उपलब्ध हुन्छ । हालै सुरु गरेको एनसेलको स्पीड टेलिकमको भन्दा निकै बढी देखिएको छ । यसरी टेलिकमको फोरजी वास्तवमा थ्रीजी नै हो भन्ने स्रोतको दाबीलाई राजभण्डारी र ठाकुरले नकार्न नसक्ने टेलिकमका साधारण प्राविधिकले समेत ठोकुवा गरिरहेका छन् । अनि फोर जी सञ्चालनका नाममा खर्च गरिएको एक अर्ब पच्चीस करोड रुपैयाँं कहाँं गयो ?

टेलिकम उच्च स्रोतका अनुसार, सन् २०१६ जुलाई १४ तारिखमा नेपाल टेलिकममा नायब प्रबन्ध निर्देशक सूर्यभक्त पोखरेलको संयोजकत्वमा गठन गरिएको एक कमिटीले जसमा तत्कालीन सीटीओ कामिनी राजभण्डारीसहितले निश्चित बुँदासहित कुन कुन सेवा शर्त पूरा गरेमा मात्र हुवावे टेक्नोलोजीजसँग फोरजीको निश्चित लाइन क्षमता बिना टेन्डर खरिद गर्न सकिन्छ अन्यथा खरिद गर्न हुँदैन भनी प्रतिवेदन समेत पेस गरेको थियो राजभण्डारीले स्वयं सीटीओ हुँदा पेस गरेको प्रतिवेदनमा भएका कन्डिसनहरुलाई लत्याएर प्रबन्ध निर्देशक हुनासाथ हुवावेसँग करिब चार–पाँच गुणा महँगोमा बिना टेन्डर फोरजी सेवा किन खरिद गरिन् ? के यस यथार्थले नै करोडौं घोटालाको भण्डाफोर गर्दैन ? स्रोतको प्रश्न छ । सो प्रतिवेदन झिकाएर त्यसका उल्लेखित बुँदाहरु के के पूरा भए र कसरी फोरजी सेवा खरिद गरिएको अख्तियारले छानबिन गरेमा राजभण्डारी र ठाकुरका अनियमितता छर्लङ हुने स्रोतको दाबी छ ।
स्रोतका अनुसार, सन् २०१७ मै फोरजीको नाममा थ्रीजी इन्हेन्स सर्भिस खरिदमा अनियमितता गरिएको भन्दै अर्को सप्लायर कम्पनी जेडटीईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी दिएको थियो । त्यस उजुरीमा अनियमितता सम्बन्धी महत्वपूर्ण जानकारी छ । प्रमुख आयुक्तले उक्त उजुरी खोज्न लगाएर अध्ययन गरेमा अनियमितता छर्लङ हुने स्रोतको दाबी छ ।
सन् २०१७ मा पछिल्लो सम्झौता २०१२ बमोजिमको दररेटमा थ्रीजी इन्हेन्समेन्ट प्रयोजनका लागि बीटीएस कार्डस्हरु र फोरजी सेवा सञ्चालनका लागि सफ्टवेयर तथा लाइसेन्स खरिद गरिएको स्रोतले बतायो । जस अन्तर्गत पोखरा र काठमाडौंमा ३८७ वटा बीटीएसहरुमा थ्रीजी इन्हेन्समेन्ट कार्डस् अपग्रेड गरिएको र लाइसेन्स तथा सफ्टवेयर लोड गरेर फोरजी सेवा चलाइएको स्रोतले खुलासा गरेको छ ।
स्रोतका अनुसार, यदि वास्तवमै फोरजी सेवा बराबरको क्षमता ग्लोबल टेन्डर मार्पmत खरिद गरिएको भए सन् २०१२ को तुलनामा सस्तोमा फोरजी सेवा आउने थियो । जसमा सम्पूर्ण नेटवर्क कम्पोनेन्ट्स कोर÷एमएससी, बीएससी÷बीटीएस, टावर÷एन्टेना÷पावर समेत खरिद गर्न सकिने थियो । तर कमिसनको खेलमा टेलिकमलाई धराशायी बनाउने कार्य भयो । यसरी फोरजी घोटालाको धमिराले नाफामूलक टेलिकमलाई ढलाउन लाग्दा पनि अधिकार सम्पन्न सबै जिम्मेवार निकाय किन मौन छन् ? टेलिकमका इमानदार कर्मचारी यो प्रश्न गर्छन् । भ्रष्टाचार उन्मूलन गर्ने राजनेताहरु तथा उच्च पदस्थ अधिकारीहरुको ठूलो ठूलो प्रतिबद्धता के सत्ता र अधिकार पाउने शब्दाडम्बर मात्र हो ? होइन भने टेलिकमलाई आयस्रोतको उचाइमा लाने फोरजी सेवा एनसेलको पोल्टामा हाल्ने टेलिकमका आत्मघातीहरुलाई दण्डित गर्न किन कोही अगाडि सर्दैनन् ? टेलिकमका ती इमानदार कर्मचारीको प्रश्न छ । उनीहरुले टेलिकमा भएका अनियमितताका सप्रमाण कयौं उजुरी मन्त्रालय र अख्तियारमा दिएको बताए ।
नेपाल टेलिकमको दीर्घकालीन आम्दानीको मेरुदण्डका रुपमा रहेको मोबाइल सेवाको निर्देशनालयका अत्यन्त अनुभवी, दक्ष र इमानदार अशोक थापालाई राजभण्डारीले सरुवा गरिदिएपछि करिब दुई सातादेखि निर्देशकविहीन भई अस्तव्यस्त बनेको टेलिकम कर्मचारीहरुले बताए । जथाभावी सरुवाबाट करिबकरिब सबै डिएमडी असन्तुष्ट र हतोत्साही भएर कार्यालयमा निरन्तर नआइरहेको अवस्था छ, सबै विभागको कार्य अस्तव्यस्त रहेको कर्मचारीले बताए । यस्ता सबै मनोमानी राजभण्डारीले प्रदीप ठाकुरकै उक्साहट र इसारामा गर्ने गरेको ती कर्मचारीको दावी छ ।
टेलिकमको फोरजी सेवालाई यसरी अस्तव्यस्त बनाइँदा र समयमै देशव्यापी रुपमा नल्याइँदा अन्य निजी कम्पनीलाई कति ठूलो आर्थिक लाभ भयो र देशको राजश्वमा दीर्घकालीन रुपमै प्रशस्त बढोत्तरी गर्न सक्षम टेलिकमलाई कति ठूलो क्षति भयो ? यसको लेखाजोखा कसले गर्ने ? टेलिकमका इमानदार कर्मचारीहरु प्रधानमन्त्री, सञ्चार सचिव र अख्तियारका प्रमुख आयुक्त समक्ष यो प्रश्न राख्छन् । यस्तो अक्षम्य कार्य गर्नेलाई टेलिकमको नेतृत्व गर्ने जिम्मेवारीमा निरन्तरता दिइरहनुको रहस्यबारे आपूmहरु आश्चर्यमा रहेको ती कर्मचारी बताउँछन् । उनीहरुका अनुसार, राजभण्डारी र ठाकुरलाई व्यक्तिगत लाभ नहुने तर महत्वपूर्ण तथा टेलिकमको व्यापार वृद्धि गर्ने प्रवृत्तिका प्रोजेक्ट तथा टेन्डरका फाइल हप्तौंसम्म थन्क्याएर राजभण्डारीले आफ्नो असक्षमतालाई स्वयं नै प्रकट गरिरहेकी छन् । यसरी एकातिर असक्षम अर्कोतिर अनियमितताका कैयौं आरोपबाट घेरिएकी राजभण्डारीमा अलिकति पनि नैतिक बोध भए उनले तुरुन्त पदबाट राजीनामा दिएर योग्य तथा टेलिकमलाई जोगाउन सक्षम सिनियर डीएमडीहरुका लागि बाटो खुल्ला गरिदिनुपर्ने ती कर्मचारीको भनाइ छ । उनले यसो नगरे सरकार वा अख्तियारले एक मिनेट पनि खेर नफाली कडा कारबाही गरी उनलाई पदबाट हटाउनुपर्नेमा ती कर्मचारी जोड दिन्छन् ।
टेलिकमलाई धराशायी हुनबाट जोगाउन संघर्षरत इमानदार राष्ट्रभक्त कर्मचारीहरु टेलिकमका डिएमडी र इन्जिनियरहरु प्रति पनि गुनासो पोख्छन् । उनीहरु प्रश्न गर्छन्– डीएमडीहरुमध्ये कतिपयले फोरजीका नाममा अनियमितता भइरहेको थाहा पाएरै त्यसका कागजातमा हस्ताक्षर गर्न अस्वीकार गरेका होइनन् ? अनि अहिले टेलिकमको भविष्य र विश्वसनीयतामा यत्रो संकट आइलाग्दा पनि ती डीएमडी किन खुलेर राजभण्डारी र ठाकुरका अनियमित कार्यको भण्डाफोर गर्न अघि सर्दैनन् ? यही प्रश्न उनीहरुले टेलिकमको युनियनका पदाधिकारी समक्ष पनि राख्छन् ? एनसेलको तुलनामा टेलिकमको फोरजी सेवाको अवस्था के छ ? कसैसँग लुकेको छैन, उनीहरु भन्छन्– र यस दुर्गतिको मुख्य कारण राजभण्डारी र ठाकुरको मनोमानीपूर्ण कार्यशैली नै हो । ती कर्मचारीका अनुसार, यदि डीएमडी र प्राविधिकहरुले फोरजीमा भएका अनियमितताको भण्डाफोर गरेर राजभण्डारी र ठाकुरमाथि तत्काल कारबाही गराएनन् भने भविष्यमा ती डीएमडी र प्राविधिक पनि अनियमितता गर्नेका सहयोगी ठहरिन्छन् र टेलिकममा फोरजीका नाममा करोडौंको अनियमितता हुँदा र विभिन्न सञ्चार माध्यममा निरन्तर त्यसको भण्डाफोर हुँदा पनि सेवाग्राहीले रगत पसिना बगाएर कमाएको रकममा भइरहेको ब्रम्हलुट रोक्न अख्तियारलगायत जिम्मेवार निकायले किन कडा कारबाही गरिरहेको छैन ? टेलिकमका इमानदार कर्मचारीहरु आश्चर्य मान्दै यो प्रश्न गर्छन् । यस देशमा सर्वसाधारणको रगत पसिनाको कमाइमा भ्रष्टाचारीहरुले कहिलेसम्म मोज गर्ने हुन् ? अख्तियारले राजभण्डारी र ठाकुरलाई तत्काल हिरासतमा राखेर कारबाही अगाडि बढाउनुपर्नेमा राजभण्डारीलाई टेलिकमको खर्चमा विदेशमा सयर गर्ने अवसर दिनु झनै आश्चर्यजनक भएको टेलिकम कर्मचारीको टिप्पणी छ । –२०७४ असार १८ गते आइतबार काठमाडौंबाट प्रकाशित छलफल साप्ताहिकबाट साभार ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon