Thursday December 13, 2018 |

अाेसुमीलाई नोबेल पुरस्कार किन?

featured-news

यो वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार जापानका प्राध्यापक योसिनोरी ओसुमीले पाएका छन्। शरीरका कोषिकाले फोहोर तत्वलाई प्रशोधन गरेर (अटोफेजी) कसरी अाफूलाई स्वस्थ राख्छन् भन्ने प्रक्रियाको अध्ययन गरेका थिए। अटोफेजीमा उनी सन् १९९३ देखि काम गर्दै आएका अनुसन्धानकर्ता हुन्। उनले पत्ता लगाएको भनिएको आविष्कारको मुख्य अंश १९९८ मा सार्वजनिक भएको थियो। अहिले त्यही कामका लागि नोवेल पुरस्कार दिइएको हो।

अटोफेजी रोक्न सकेको खण्डमा क्यान्सर सेलहरुको भोकमरीसँग लड्ने अवस्था नास हुन्छ र क्यान्सर सेललाई सजिलै मार्न सकिन्छ। यसले क्यान्सर रोगको उपचारमा ठूलो मद्दत पुग्नेछ। 

मानव शरीरभित्र विभिन्न कोषिकाहरु हुन्छन्। ती कोशिकाहरुले नचाहिने प्रोटिनदेखि बाहिरबाट आएका ब्याक्टेरियासम्मलाई 'रिसाइकल' तथा 'डिग्रेड' गर्छन्। यसरी सेलले अनावश्यक प्रोटिन र बाहिरबाट आउने नचाहिने चिजलाई खाने प्रक्रिया नै अटोफेजी हो।

सेलले कसरी त्यस्तो प्रोटिन खान्छ भन्ने कुरा पहिलै पत्ता लागिसकेको हो। प्रोफेसर योसिनोरीको अनुसन्धान र आविस्कार कुन कुन प्रक्रियाबाट अटोफेजी हुन्छ र कुन कुन जिनले कसरी अटोफेजी रोक्छ भन्ने हो। हालसम्म उनको अनुसन्धानबाट यस्ता १५ वटा जिन पत्ता लागेका छन्।  मेडिकल विज्ञानमा यसले ठूलो महत्व राख्छ। क्यान्सर तथा वृद्ध अवस्थामा हुने पार्किन्सन, डाइविटिज र अल्जाइमर जस्ता रोगको उपचारमा ओसुमीले गरेको आविष्कार उपयोग हुन सक्ने देखिएको छ।

तन्दुरुस्त मान्छेमा सेलले अटोफेजी प्रक्रिया सामान्य राख्छ। बुढ्यौली हुँदै जाँदा अटोफेजी प्रक्रिया अवरुद्ध हुँदै जान्छ। त्यसपछि पार्किन्सन,डाइबिटिज, अल्जाइमर जस्ता रोग देखिन सक्छन्। शरीरमा अटोफेजीको मेकानिजम तन्दुरुस्त नहुँदा हानिकारक प्रोटिन जम्मा हुन्छन्। यसरी जम्मा भएको प्रोटिनले रोग निम्त्याउँछ।

नोवेल पुरस्कार पाएका योसिनोरी ओसुमीको अनुसन्धानले कुन कुन जिनले अटोफेजी रोक्छ भन्ने पत्ता लगाएको छ। अटोफेजीको महत्व विशेष रुपमा क्यान्सर रोगका लागि छ।  क्यान्सर हुनु भनेकै मान्छेमा नचाहिने सेलहरु सामान्यभन्दा करोडौं गुणा जम्मा भएर हो। धेरै सेलहरुका लागि धेरै न्युट्रियन आपूर्ति हुनुपर्ने हुन्छ। तर क्यान्सरका कारण धेरै गुणाको संख्यामा बढेका सेलहरुलाई रक्त सञ्चारबाट आउने न्युट्रियन्टले पुग्दैन। त्यसले सेलको लेभलमा एक किसिमको भोकमरी हुन्छ।  तिनले न्युट्रियन नपाउँदा सेल भित्रैका प्रोटिनहरु अटोफेजी प्रक्रियाद्वारा खान थाल्छन्। यसरी हुने अटोफेजीले सेललाई लामो समयसम्म भोकमरीका बाबजुद जीवित राख्छ। तसर्थ अटोफेजी रोक्न सकेको खण्डमा क्यान्सर सेलहरुको भोकमरीसँग लड्ने अवस्था नास हुन्छ र क्यान्सर सेललाई सजिलै मार्न सकिन्छ। यसले क्यान्सर रोगको उपचारमा ठूलो मद्दत पुग्नेछ। 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon