Sunday September 15, 2019 |

बागलुङ समाजद्वारा तीन महिला सम्मानित

featured-news

चिप्लेढुङ्गा, ८ भदौ । बागलुङ समाज पोखराले हरितालिका तीजको अवसरमा विभिन्न क्षेत्रका तीन महिलालाई सम्मान गरेको छ ।

बागलुङ समाज पोखराद्वारा शनिबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बागलुङमा जन्मिएर पोखरामा कर्म गरेर सामाजिक क्षेत्रमा पहिचान बनाउन सफल तीन महिलालाई समाजले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा गण्डकी प्रदेश नीति तथा कार्यक्रमका सदस्य डा भीमा ढुङ्गाना, सञ्चारिका समूह गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष जमुना वर्षा शर्मा र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा रहेका छन् ।

उनीहरुलाई गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले सम्मानपत्र र दोसल्लासहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य थापाले तीज पर्वको अवसरमा बागलुङे चेलीहरुको सामाजिक योगदानको मूल्याकङ्न गरी सम्मान गर्नु निकै सकारात्मक कार्य भएको बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य कोपिला बोहोराले सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै पर्व मनाउनुपर्ने धारणा राख्नुभयो । वडा नं ८ का वडाध्यक्ष रुद्र बरालले तीज चेलिबेटीको जमघट र आत्मियता साटासाट गर्ने विशेष पर्व भएको बताउनुभयो ।

उहाँले पर्वको सकारात्मक पक्षलाई ग्रहण गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । समाजका पूर्वअध्यक्ष अमृतलाल श्रेष्ठ, बागलुङ समाज वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमला गिरी, वैदाम प्रहरीका प्रहरी निरीक्षक विजय भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका सम्मानित व्यक्तित्वहरुले सम्मानले माइती ठाउँको मायालाई झनै प्रगाढ बनाउँदै कर्मप्रति थप लगनशील हुन प्रेरित गरेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा बागलुड समाजका आजीवन सदस्य स्व प्रेमप्रसाद सापाकोटा स्मृति पुरस्कारबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल आजीवन सदस्यका छोराछोरीमध्ये एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल मनोज श्रीस र विनिता पुनलाई नगदसहित सम्मान गरिएको थियो । उनीहरुलाई पुरस्कारका संरक्षक रीता सापकोटाले नगद प्रदान गर्नुभयो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon