Saturday May 25, 2019 |

ओली र प्रचण्डबीच सत्ताको भित्री रस्साकसी सुरु भएकै हो ? – डा डी आर उपाध्याय

featured-news

                               नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय मध्येका एक केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारले यही फागुन ३ गते भोलि वर्षगाँठ मनाउँदैछ । सरकारको सफलता–असफलताको विश्लेषण धुँवाधार किसिमबाट देशव्यापी रूपमा भई नै रहेको छ । यसका साथै सत्ताको नेतृत्व गरिरहेको दलमा चर्किंदै गएको अध्यक्षद्वयबीचको विवादले गम्भीर रूप लिन थालेको छ । यस विवादलाई केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको शीतयुद्धका रूपमा लिन थालिएको छ ।
नेकपा स्थायी कमिटी सदस्य रहेका पूर्व गृहमन्त्री जनार्दन शर्माले सरकारले संविधानको भावना विपरीत प्रदेश सरकारलाई निकम्मा बनाउने ढंगले काम गरिरहेको गत मंगलबार बताएका छन् । उनले संघीयताको रक्षा गर्ने गरी यसलाई सच्याएर अघि बढ्न माग पनि गरे । यो विचार उनले कुनै साधारण कार्यक्रम वा पत्रपत्रिकाको अन्तर्वार्तामा व्यक्त गरेका होइनन् । प्रतिनिधिसभामा आफ्नै पार्टीको सरकारले प्रस्तुत गरेको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय विधेयक’ माथिको छलफलमा भाग लिंदै उनले यस्तो धारणा राखेका हुन् । विधेयकको विरोध गर्नेमा सांसद नवराज सिलवाल, रेखा शर्मा, प्रदीप यादव समेत रहेका थिए ।
उता सोही दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालगन्जमा संघीयता व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार सफल भइरहेको बताएका थिए । यसरी सत्तारूढ प्रमुख दलको दुई धारका जिम्मेवार नेताहरूबाट संघीयताका बारेमा विरोधाभाषी अवधारणा प्रकट हुनुले विवाद चुलिंदै गएको नै संकेत गर्दछ । नेकपालाई एमालेकरण र माओवादीकरण गर्ने तीव्र प्रतिस्पर्धामा ओली र प्रचण्ड लागेको सोही पार्टीभित्र चर्चा तीव्र रूपमा भइरहेको छ । सरकार गठनसँगै मुलुक संघीयता कार्यान्वयनमा पुगेको पनि एक वर्ष पुगेको छ तर संघीयता कार्यान्वयन जटिल बन्दै गएको आंकलन गरिंदैछ । प्रदेश नं. २ मा संघीय र प्रदेश सरकारबीचको तनातानी कसैबाट लुकेको छैन । यही सरकारले पूरा अवधि काम गर्ने भनी प्रधानमन्त्री ओली तथा उनी पक्षका मन्त्रीहरूले समय–समयमा ठोकुवा गर्न थालेपछि प्रचण्ड झस्केकोमा कसैको दुईमत हुन सक्दैन । किनभने आधा–आधा कार्यकाल ओली र प्रचण्डले प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्ने लिखित सहमति भएको कुरा आरम्भमै उहाँहरू निकटकै नेताहरूबाट चुहिसकेको थियो । जब ओलीकै नेतृत्वमा सरकारको पूर्ण कार्यकाल सकिने ठोकुवा हुन थाल्यो त्यसपछि प्रचण्ड पक्षधरबाट सरकारको आलोचना सुरू भयो । प्रचण्डले यसैबीच पटक पटक छिमेकी मित्र राष्ट्र चीन र भारतको भ्रमण गर्न थालेपछि ओली सतर्क हुनु स्वाभाविकै थियो । प्रचण्डले मधेशवादी दल लगायत अन्य दलका नेताहरूलाई समेत सरकारको विरोधमा लाग्न उक्साएको चर्चापछि ओली झनै गम्भीर बनेको उनी पक्षधरहरूको भनाइ छ । यसकै फलस्वरूप ओली स्वयंबाट यो सरकार नढल्ने भनाइ आएको होला । नेपाल प्रहरीले गत मंगलबार आयोजना गरेको १७८ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले भने– यो सरकार अहिले ढल्दैन । कसैलाई नौ–नौ महिनामा सरकार परिवर्तन होला भन्ने लागेको होला तर यो सरकार हट्नुभन्दा अगाडि धेरै कुरा थितिमा आउँछ ।
हुन त दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने प्रावधानले धेरैलाई लाग्ला अहिले सरकार परिवर्तनको कुरा वाहियातको गफ बाहेक केही होइन । तर राजनीतिमा असम्भव भन्ने केही हुँदैन । जसरी ओली निकटका नेताहरू प्रचण्डतिर सरिरहेका छन् र माधव नेपाल तथा झलनाथ खनालजस्ता प्रभावशाली नेता असन्तुष्टि व्यक्त गरिरहेका छन् त्यसले कतिबेला ओली सरकारले कुन दिन देख्नुपर्ला भन्न सकिंदैन । यस स्थितिमा यो प्रश्न अस्वाभाविक होइन कि ओली र प्रचण्डबीच सत्ताको भित्री रस्साकसी सुरू भएकै हो त ?
                                                                          – २०७५ फागुन २

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon