Friday October 19, 2018 |

पत्रपत्रिकाबाट— रसुवागढी–केरुङ नाका अब अन्तर्राष्ट्रियस्तरको

featured-news

काठमाडौंः नेपाल र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा स्तरोन्नति गरिएको छ ।

जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र सरकारले ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीको उपस्थितिमा ल्हासामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै रसुवागढी–केरुङ नाकालाई बुधबारदेखि अन्तर्राष्ट्रिय नाकाको रूपमा स्तरोन्नति गरिएको घोषणा गरेको हो । 

उक्त नाका वि. सं. २०७१ मंसिर १५ देखि द्विपक्षीय नाकाको रूपमा सञ्चालन हुँदै आएको थियो । रसुवागढी–केरुङ नाकाबाट नेपाली र चिनियाँ नागरिक वैधानिक राहदानी र भिसा लिएर एक अर्काका मुलुकमा आवतजावत गर्नसक्ने अवस्था विगतमा रहेकोमा अब अन्तर्राष्ट्रिय नाकाको रूपमा रूपान्तरण भएपश्चात बुधबारदेखि रसुवागढी–केरुङ नाकाबाट नेपाली र चिनियाँ नागरिकका साथै तेश्रो मुलुकका नागरिकसमेत आवतजावत गर्नसक्ने जानकारी ल्हासास्थित नेपाली महावाणिज्यदूत कार्कीले दिए । 

रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि सन् २०१७ को जुन महिनामा नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरूबीच कूटनीतिक पत्र आदान–प्रदान भएको थियो । पत्रकार सम्मेलनमा तिब्बत सरकारका तर्फबाट तिब्बत सरकारका सहायक अध्यक्ष लु मेइले ल्हासास्थित नेपाली महावाणिज्यदूतको उपस्थितिमा रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गर्न पाउँदा खुसी लागेको बताइन् ।

उनले चीनतर्फ उक्त नाकाको भौतिक पूर्वाधार पुनर्निर्माण तथा स्तरोन्नतिको कार्य लगभग पूरा भएको र यो नाकालाई अन्तर्राष्ट्रिय नाकामा रूपान्तरण गरेबाट दुई देशबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्कमा अभिवृद्धि हुने तथा यसबाट चीनको ‘वान् बेल्ट वान् रोड’ कार्यान्वयनमा समेत सहयोग पुग्ने बताइन् ।

पत्रकार सम्मेलनमा ल्हासास्थित नेपाली महावाणिज्यदूत कार्कीले रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाइएपछि दुई देशबीचको व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध अझ बढ्ने बताए ।

नेपालले चीनको वान् बेल्ट वान् रोडमा हस्ताक्षरसमेत गरिसकेको तथा दुवै देशले सम्पर्क विस्तार एवं व्यापार, पर्यटन र लगानी प्रवद्र्धनलाई जोड दिएको सन्दर्भमा वि. सं. २०७२ वैशाख महिनाको भूकम्पबाट अवरुद्ध हुन पुगेको नेपाल र चीनबीचको ऐतिहासिक तातोपानी–खासा नाका पुनःसञ्चालनमा ल्याइ दुवै देशको सहमतिमा थप नयाँ नाकाहरू समेत खोल्दै जानुपर्ने बिचार व्यक्त गरे ।

कार्यक्रममा तिब्बत सरकारका अन्य पदाधिकारीहरूले रसुवागढी–केरुङ नाका अन्तर्राष्ट्रियस्तरमा सञ्चालनमा आएपश्चात व्यापार तथा पर्यटन प्रवद्र्धन भइ दुवै मुलुकलाई फाइदा हुने बताए । साथै उनीहरूले रसुवागढी–केरुङ नाका भविष्यमा चीनलाई दक्षिण एसियासँग जोड्ने महत्वपूर्ण प्रवेशमार्ग हुने कुरा पनि बताए । — कारोबार दैनिक, १५ भदौ 
 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon