Monday April 22, 2019 |

कुनै पनि बहानामा अर्थतन्त्रका राष्ट्रघाती धमिराहरुले उन्मुक्ति पाउनु हुँंदैन — डा डी आर उपाध्याय

featured-news

                                विभिन्न निकायका प्रतिवेदन र तथ्यांक आफ्नो ठाउँंमा छन् तर देशमा गरिबीले सर्वसाधारणको जीवन कति दुष्कर बनाएको छ यो कटु सत्य कसैबाट लुकेको छैन । विपन्नता र गरिबीले गर्दा हजारौं युवा अनैतिक एवं आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको कथा—व्यथा जताततै सुन्न पाइन्छ । तर गैरकानुनी तवरमा देशको अर्थतन्त्रलाई क्षतविक्षत बनाउने नवधनाढ्यहरुको बेग्लै दुष्चक्र चलिरहेको छ । यस्तो दुसाहस गर्नेहरुका पछाडि राष्ट्रिय राजनीतिमा भुइँंचालो ल्याउन सक्ने हस्तीहरु नै रहेको हुँंदा उनीहरुको रौं टेढो पार्नु पनि सगरमाथाको शिखरमा आरोहण गर्नुजस्तै हुन्छ प्रशासनिक निकायका लागि ।
गत बुधबार सार्वजनिक भएको खोज पत्रकारिता केन्द्र र दि इन्टरनेसनल कन्सोर्टियम जर्नालिस्ट्सको विवरण अनुसार विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानुनी व्यवस्था विपरीत ५५ जना नेपालीका विभिन्न देशमा लगानी रहेको भेटिएको छ । नेपालिक्स नाम दिइएको उक्त सनसनीखेज खुलासामा उल्लेख छ — यस्तो लगानी गर्नेमा प्राध्यापक, डाक्टर, पूर्व सांसद, अन्य नेता तथा पहिला नामै नसुनिएका व्यक्तिसमेत रहेका छन् । बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख गरेकी मीनु शाह छिब्बरले मात्रै स्विस बैंकमा २ अर्ब ६१ करोड रुपैयाँं जम्मा गरेको खुलासामा बताइएको छ । खोज पत्रकारिता केन्द्रले गरेको खुलासामा जनाइए अनुसार, स्विस बैंकमा सबैभन्दा बढी रकम जम्मा गर्ने नेपालीमा पर्छिन् मीनु शाह छिब्बर ।
शंकास्पद विदेशी लगानी भित्र्याउने सन्दर्भमा पटक पटक चर्चामा आउने गरेका अजेयराज सुमार्गीले विदेशमा कम्पनी खोलेर त्यसैबाट नेपालमा विदेशी लगानी भन्दै ठूलो रकम भित्र्याएको सो खुलासामा उल्लेख छ । जस अनुसार, सुमार्गीले साइप्रसको एयरबेल सर्भिसेज कम्पनीमा लगानी गरेका छन् । नेपालिक्समा बताइएको छ — साइप्रसस्थित म्याग्नम हाउस ठेगाना उल्लेख गरिएको हाल पनि सक्रिय उक्त कम्पनी सन् २००८ मा खोलिएको हो । एयरबेलमा सुमार्गीमात्र होइन नेपालस्थित सुमार्गीको कम्पनी मुक्तिश्री प्रालिमा कार्यरत अर्जुन शर्मा, ब्रिटिस भर्जिन आइल्यान्ड्सको जोधार इन्भेस्टमेन्ट्स प्रालि र अन्य १२ जना विदेशी लगानीकर्ता छन् । सुमार्गीले यही कम्पनीबाट विदेशी लगानी भन्दै सम्पति शुद्धीकरण गरेको खुलासामा उल्लेख छ । उनले सन् २००८ देखि २०१३ सम्म ९ पटकमा ६ अर्ब ३१ करोडभन्दा बढी रुपैयाँं एयरबेलबाट आफ्ना नेपाली कम्पनीमा भित्र्याएको बताइएको छ । यसबाहेक सुमार्गीले झन्डै ६ अर्ब रुपैयाँं अहिलेसम्म नेपाल भित्र्याएका छन् ।
सो खुलासा अनुसार, विदेशमा शंकास्पद लगानी गर्नेहरुमा उपेन्द् महतो, राजेन्द्र बजगाईं, चन्द्र ढकाल, वीरेन्द्र महतो, मंगेसलाल श्रेष्ठ, शशिकान्त अग्रवाल, रमा मल्ल, निरज श्रेष्ठ, भावना श्रेष्ठ, अरुण चौधरी, हेमराज ढकाल लगायत रहेका छन् ।
यसरी कर छल्ने र आफ्ना अवैध रुपमा आर्जित सम्पतिलाई शुद्ध बनाई अर्बौं रुपैयाँं विदेशमा जम्मा गरेर मुलुकको अर्थतन्त्र डाँंवाडोल बनाउने कार्य हुनु निश्चित रुपमा राष्ट्रघाती कदम हो । यस्ता दुष्कृत्यलाई कडा रुपमा दुरुत्साहित बनाउन कसैले खुट्टा कमाउनु हुँंदैन । विडम्बना के छ भने नेपालिक्सको उक्त खुलासा प्रतिष्ठित सञ्चामाध्यमहरुमा प्रमुखताका साथ प्रकाशन भइसक्दा पनि कुनै जिम्मेवार निकायबाट गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रियासमेत आएको छैन । राजनीतिक दलहरुलाई निर्वाचनका बेला तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न निरन्तर ठूलो रकम सहयोग गर्ने गरेका अधिकांश ठूला उद्योगपति—व्यापारीहरुले गैरकानुनी कामसमेत गर्दा मुलुकका शक्तिकेन्द्हरुले संरक्षण दिने चलनलाई विराम नलगाएसम्म देश समृद्ध बन्छ भन्ने कल्पना गर्न सकिंदैन । कुनै पनि बहानामा अर्थतन्त्रका राष्ट्रघाती धमिराहरुले उन्मुक्ति पाउनु हुँंदैन । विकिलिक्स खुलासापछि अन्तर्राष्ट्रिय स्तरमा मच्चिएको खलबली र अनेकौ मुलुकका हस्ती कारबाहीमा परेको यथार्थलाई हामीले उदाहरण बनाउनु पर्दछ ।

                                                                                — २०७५ माघ ६

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon