Wednesday December 19, 2018 |

पत्रपत्रिकाबाट— पढ्न पाउने शर्तमा किशोरीको विवाह

featured-news

वीरगन्जः ‘अहिले उमेर भएको छैन बिहे गर्दिन भन्दा पनि बुबा आमाले मान्नु भएन, कक्षा ९ मा अध्ययनरत १५ वर्षीया गीता कुमारी ठाकुरले भनिन्, ‘अनि मैले पनि शर्त राखे, बिहे गर्ने नै हो भने मेरो पढाइ छुटाउन पाइदैन, मेरो शर्त बुबाआमाले मानेपछि मात्रै म बिहे गर्न राजी भएकी हुँ ।'

पर्साको बहुदरमाइ गाउँपालिका २ डाकैला बहुअरीकी संगीता गाउँमै रहेको नेपाल राष्ट्रिय उच्च माविमा कक्षा ९ मा अध्ययनरत छिन्। आठ कक्षाको बार्षिक परीक्षा सकिए लगत्तै संगीताका अभिभावकले स्कुल छुटाएर बिहे गरिदिने चाँजोपाँजो मिलाएपछि उनले प्रतिवाद गरिन्। तर अभिभावकले आफ्नो अडान नछाडेपछि उनले पनि अध्ययनलाई निरन्तरता दिने शर्तमा मात्रै बिहे गर्न मन्जुरी दिईन्।

बैशाख १५ गते बाराको इनर्वाका युवकसँग लगनगाँठोमा बाँधिएकी संगीता अहिले माइतिमै बसेर अध्ययनलाइ निरन्तरता दिइरहेकी छिन् । ‘ससुरा पक्षकाले पनि तिमी जति पढ्छौ पढ भनेर भनेका छन्, संगीताले भनिन्, ‘माइतीमै बसेर १२ कक्षा पास गर्ने सोच बनाएकी छु, त्यसपछि अवस्था कस्तो हुन्छ त्यहि अनुसार गरौंला।'

मधेसमा छोरी चेली सामान्य लेखपढ गर्न सक्ने भएपछि सानै उमेरमा बिहे गरिदिने प्रचलन अहिले पनि कामय छ जसले गर्दा उनीहरुको पढाई अधुरो नै हुने गरेको छ। हुर्केकी छोरी चेलीलाइ विहे नगरि घरमै राख्दा सामाजिक प्रतिष्ठामा आँच आउने र दाइजो पनि बढी दिनु पर्ने जस्ता सोचका कारण अभिभावकहरुले सामान्य लेखपढ मात्रै गर्न सक्ने भएपछि छोरीलाइ स्कुल छुटाएर बिहे गरिदिने गरेका छन् ।

तर पछिल्लो समयमा अभिभावकको करकापमा उमेर नपुग्दै बिहे गर्न बाध्य भएका बालिका र किशोरीहरुले आफनो अध्ययनलाइ भने निरन्तरता दिइरहेका छन्। डोकैला बहुअरीमा रहेको नेपाल राष्ट्रिय उच्च माविमा संगीता जस्तै छिमेकका अरु चार जना बिवाहित किशोरीहरु पनि अध्ययनलाई निरन्तरता दिइरहेका छन ।

‘मैले पनि अहिले म बिहे गर्दिन, उमेर पनि भएको छैन, म पढ्छु भनेर रोई कराइ गरे, कक्षा १० मा अध्ययनरत १७ वर्षीया लालमुनि कुमारी यादवले भनिन्, ‘अहिले बिहे भएपनि पढाई चलिरहेको छ।' उनले बैशाखमा बिहे गरेकी हुन्। बिद्यालयका प्रधानाध्यापक शोभाकर उपाध्याले बिहे भएका छात्राहरुका अभिभावकलाइ सम्झाइ बुझाइ गरेपछि मात्र उनीहरु आफना छोरीको शिक्षालाई निरन्तरता दिन राजी भएको बताए।

‘मधेसी समाजमा बालबिवाह अझै छ, दाइजो तथा सामाजिक कुरुती विरुद्ध अभियानका अध्यक्ष बृजेश चौधरीले भने, ‘हुन त उमेर नपुग्दै बालबालिकाको बिहे गरिदिनु राम्रो होइन, तर पछिल्लो समयमा स्वयम् बालिका र किशोरीहरु नै शिक्षाप्रति सचेत देखिएका छन्, पढाइ नछुटाउने भए मात्र बिहे गर्ने शर्त अभिभावक सामु राख्न थाल्नुलाई हामीले सकारात्मक रुपमा लिएका छौ।'— अन्नपूर्ण पोस्ट् दैनिक, साउन  १४ 

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon