Sunday October 21, 2018 |

टेलिकममा मनपरीको खेल फेरि सुरु, कर्मचारी संगठनद्वारा चेतावनी

featured-news

काठमाडौँ, १५ साउन । नेपाल टेलिकममा करिब बीस अर्बको फोर जी घोटाला प्रकरण अझै चर्चामा रहिरहेकै बेला भ्वाइस रेकर्ड मेल प्रकरण सुरु भएको छ । टेलिकमको नेपाल राष्ट्रिय कर्मचारी संगठनले यही साउन ९ गते एक विज्ञप्ति जारी गरी यसको भण्डाफोर गरेको छ ।
विज्ञप्तिमा उल्लेख छ—आदरणीय दूरसञ्चारकर्मी मित्रहरु, वर्तमान प्रतिस्पर्धाको अवस्थामा नेपाल टेलिकमले भोगिरहेको समस्या कर्मचारीहरुलाई विदितै छ । नेपाल टेलिकमको राजश्वमा दिनानुदिन गिरावट आउनु तथा कम्पनीका मुख्य आयोजनाहरु समयमा अगाडि बढ्न नसक्नुमा व्यवस्थापन र सञ्चालक समितिको अकर्मण्यता प्रष्ट देखिएको छ ।
यसै सन्दर्भमा कम्पनी आफैंले सहज रुपले सञ्चालन गर्न सक्ने भिएमएस भ्वाइस रेकर्ड मेल सेवालाई बिना टेन्डर कम्पनी व्यवस्थापनले मनपरी ढंगले आफूखुसी भेन्डर कम्पनीलाई दिन लाग्नु गम्भीर विषय हो । नेपाल टेलिकमका ग्राहकहरुको भ्वाइस रेकर्ड मेलको रुपमा बाह्य भीएमएस प्रोभाइडरको मोनिटरिङमा रहनेगरी तथा कम्पनीको महत्वपूर्ण र गोप्य सूचनाहरु बहिर जानेगरी भीएमएस सेवालाई बाह्य भीएमएस प्रोभाइडरबाट सञ्चालन गर्न दिन लागेको प्रक्रियालाई तुरुन्त खारेज गरी कम्पनी आफैंले भीएमएस सेवा सञ्चालन गर्न कार्य अगाडि बढाउन आग्रह गर्दछौं । अन्यथा कम्पनी बचाउनका लागि यस संगठन जस्तोसुकै कदम चाल्न बाध्य हुने कुरासमेत जानकारी गराउन चाहन्छौं । सो विज्ञप्ति संगठनका महासचिव तेजबहादुर शाहीद्वारा जारी गरिएको छ ।
उता, युनाइटेड पोस्ट साप्ताहिकले यही साउन १० गते प्रकाशन गरेको —कामिनीका कारण टेलिकमलाई २० अर्ब घाटा, एनसेलसँंग अवैध साँंठगाँंठ शीर्षक समाचारमा टेलिकममा फोर जी प्रकरण लगायतका घोटालाको भण्डाफोर गरेको छ । जसका सम्बन्धमा यस अनलाइनले धेरै पहिलेदेखि समाचार समावेश गर्दै आएको छ । र पत्रकारिताको धर्म निर्वाह गर्दै टेलिकमको खण्डनसमेत प्रकाशन गरेको थियो ।
टेलिकममा व्यवस्थापकीय नेतृत्वको चरम लापरवाही र उदेक लाग्दो सेवाका सम्बन्धमा हालै एबीसी न्यूजले आफ्नो बिग न्यूज कार्यक्रममा सविस्तार समाचार र सेवाग्राहीको भनाइ समावेश गरेको छ । सो च्यानलले प्रष्ट भनेको छ—असक्षम व्यवस्थापकीय नेतृत्वका कारण टेलिकम गुणस्तरीय सेवा दिन असफल जस्तै छ, मोबाइल सेवा, इन्टरनेट सेवा, ल्यान्डलाइन सेवा गतिलो छैन । चरम लापरवाहीका कारण टेलिकमले आफ्नो विश्वास गुमाउँंदै गएको छ । झापा, सप्तरी, सिरहा र रौतहटका सेवाग्राहीको भनाइ राख्दै सो च्यानलले स्थलगत रिपोर्ट प्रसारण गरी पटकपटक नेटवर्क समस्या हुने गरेको जनाएको छ ।
यसरी टेलिकमको व्यवस्थापकीय नेतृत्व लिएकी प्रबन्ध निर्देशक कामिनी राज भण्डारीको असक्षमताबारे पटकपटक आवाज उठ्दा र अब स्वयं टेलिकमकै कर्मचारी संगठनले आरोप लगाउँंदा पनि सरकारबाट कुनै कारबाही नहुनु घोर आश्चर्यको विषय हो । यसरी सर्वसाधारणको दैनिक करोडौं खर्च भइरहेको सरकारी स्वामित्वको कम्पनी व्यवस्थापकीय अकर्मण्यताका कारण अर्बौं घाटामा जाँंदा पनि सबै निकाय तैंचुप मैंचुप हुनुलाई देशकै दुर्भाग्यको संज्ञा दिन सेवाग्राही बाध्य छन् । टेलिकमका कयौं सेवाग्राहीसमक्ष यस सम्बन्धमा यस अनलाइनले जिज्ञासा राख्दा उनीहरु अब टेलिकमको व्यवस्थापनविरुद्ध सर्वसाधारणले नै आन्दोलन चलाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अहिलेसम्म टेलिकमको अनियमितताविरुद्ध कडा कारबाही नगरेकोलाई सेवाग्राहीले विडम्बनाका रुपमा लिएका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon