Saturday August 24, 2019 |

महिलामाथि क्रूर हिंसाको निरन्तर वृद्धिले जन्माएको गम्भीर चिन्ता – डा डी आर उपाध्याय

featured-news

                                   

                            यही जेठ २६ गते एक प्रतिष्ठित दैेनिक अखबारमा दुई खबर प्रमुखताका साथ प्रकाशन गरिए । एउटा समाचारको शीर्षक थियो– आईएनजीओ मार्पmत देशभर २५ अर्ब खर्च, अर्को समाचारको शीर्षक– दुई महिना नबित्दै चार बुहारीको हत्या । सरसर्ती हेर्दा यी दुई समाचारबीच कुनै तारतम्य देखिंदैन । तर गहिरिएर विचार गर्दा एकअर्कासँग गाँसिएको देखिन्छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था होऊन् वा राष्ट्रिय गैरसरकारी संस्था, यिनीहरुको कार्यक्षेत्र विशेषगरी सामाजिक जनजीवनको चौतर्फी विकासलाई नै मान्ने गरिन्छ । समाजमा व्याप्त अनेकौं विकृति–विसंगतिलाई यस्ता गैरसरकारी संस्थाहरुले गाउँगाउँमा पुगेर जरैदेखि उखेल्ने वा न्यून गर्ने अपेक्षा एवं विश्वास धेरैले लिएका हुन्छन् । राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई यस्ता कार्य गर्न प्रोत्साहित गर्न हाम्रै सरकारले समेत अर्बौं रुपैयाँ लगानी गर्ने गरेको छ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको खर्चका सन्दर्भमा सार्वजनिक भएको विवरण अनुसार, नेपालका विभिन्न जिल्लामा २३ देशका संस्थाले २५ अर्ब रुपैयाँ खर्च गर्दैछन् । बेलायतले एक्सन एड इन्टरनेशनल नेपाल एनजीओमार्पmत गरिबी निवारणका लागि २४ जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । समाजमा व्याप्त विकृति–विसंगतिको गहिराइमा जाने हो भने त्यहाँ कुनै न कुनै रुपमा गरिबीले आफ्नो विषालु नङ गाडेको देखिन्छ । उक्त एनजीओले सन् २०१६ देखि २०१९ सम्म वार्षिक ३३ करोड ७० लाख ७८ हजार रुपैयाँ खर्च गर्ने योजना अन्तर्गत काम गरिरहेको छ ।
फ्रान्सले नुवाकोट तथा रसुवामा एक्सन कोट्रेला एनजीओमार्पmत बास परियोजनाका लागि करिब ११ करोड रुपैयाँ यस वर्ष खर्चने भएको छ । आगामी आर्थिक वर्ष नेपालमा काम गर्न लागेका १ सय ३७ आईएनजीओमध्ये १ सय ६ युरोपियन युनियन र अमेरिकासँग सम्बन्धित छन् । अन्य ३१ एसिया, अष्टे«लिया र दक्षिण अमेरिकी राष्ट्रसँग सम्बन्धित छन् ।
अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–७७ मा ती आईएनजीओले नेपालमा खर्चन लागेको कुल रकम २४ अर्ब ७९ करोड २४ लाख ८१ हजार रुपैयाँ छ ।
कयौं एनजीओले महिला सशक्तीकरण र यौनहिंसा न्यूनीकरणलाई समेत आफ्नो उद्देश्य बनाएका छन् । अन्य उद्देश्यले पनि सामाजिक विकृति–विसंगति न्यूनीकरणलाई कुनै न कुनै रुपमा छोएको मान्न सकिन्छ ।
यति हुँदाहुँदै पनि केवल एक जिल्ला सिरहामा दुई महिना नबित्दै चार महिलाको हत्या हुनुले गम्भीर प्रश्न उठाएको छ । अझ यी हत्याका कारणहरुले झनै चिन्ता उत्पन्न गरेका छन् । कर्जन्हा नगरपालिका–१ हटलेटवाका चन्देश्वर यादवले ३१ वर्षीया श्रीमती ऋतु यादवको घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ । ऋतुले छोरा नजन्माएका कारण पटकपटक घरमा झगडा हुँदै आएको थियो । सिरहा १४ खिरौनाकी २१ वर्षीया मनीषा कुमारी मण्डलको माइतीले कबोलेको मात्र चार आना सुन नदिएको कारण हत्या गरिएको माइती पक्षले आरोप लगाएको छ । यसैगरी कल्याणपुरकी कञ्चन कुमारी मण्डल र लहान १९ छरापटीकी नुरजहाँ खातुनको ज्यान गएको छ । यो त एक जिल्लाको र दुई महिनाभित्रै महिला विरुद्धको क्रूर हिंसा हो । बलात्कारको भयावह विकृत रुपले सिंगो समाजलाई कसरी स्तब्ध पार्ने गरेको छ, कसैबाट लुकेको छैन ।
महिला हिंसा विरुद्ध दिनहुँ कुनै न कुनै वा भनांै अनेकौं कार्यक्रम हुने गरेका छन् । तर पनि यस्ता घटना बढ्दै जानुले कता के कमजोरी छ, कहाँ कुन प्रयास पुगेन आदि इत्यादि प्रश्न उठाइरहेका छन् । महिलामाथि हिंसा प्रभावित क्षेत्रको पहिचान गरी अन्तर्राष्ट्रिय–राष्ट्रिय गैरसरकारी संस्थाहरुका साथै सरकारी संयन्त्रले त्यहाँ तत्काल प्रभावी विशेष अभियान दीर्घकालीन रुपमा सञ्चालन गर्नु अत्यावश्यक रहेको देखिन्छ ।
                                                                                     – २०७६ जेठ २८

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon