Tuesday October 15, 2019 |

लुकीलुकीबाट खुल्लमखुल्ला बन्दै गएको माया–प्रीतिको वरिपरि – डा डी आर उपाध्याय

featured-news

                                       जीवनका हरेक पक्षको विकास गति दिन प्रतिदिन तीव्रतम हुँदै गएको छ । यो भौतिकतामा मात्र सीमित नरहेर भावनात्मक क्षेत्रमा समेत देखिएको छ । माया–प्रीतिको साइनो गाँस्न अब बैंशलाई कुर्न केटाकेटी तयार छैनन् । किशोर अवस्थामा पुग्दा नपुग्दै विपरीत लिंगीप्रति आकर्षित हुने गरेका केटाकेटीको संख्या बढ्दै गएको छ । यो स्थिति शहरमा मात्रै सीमित छैन । गाउँगाउँमा सञ्चार माध्यमको पैmलिएको सञ्जालले कम उमेरका अधिकांश केटाकेटीमा आइ लभ यु लेख्ने र भन्न हतार हुने अवस्था सिर्जना गरेको छ । केही समयअघिसम्म अपवादका रूपमा देखिने जोडी समय क्रमसँगै सामान्य बन्दै गएका छन् ।
यसका साथसाथै प्रेम गर्ने शैली वा व्यवहार पनि फरक हुँदै गएको छ । के किशोर के युवा सबैमा खुला रूपमा प्रेम प्रदर्शन गर्ने प्रतिस्पर्धा जस्तै चल्न थालेको छ । एकअर्कालाई सार्वजनिक स्थलमै अँगालो मार्न र चुम्बन गर्न पनि कतिपय जोडी संकोच मान्दैनन् । देख्नेहरूले के सोच्छन्, के भन्छन् बाल मतलबको भाव उनीहरूको मुहारमा हुन्छ । उनीहरूको यस्तो व्यवहारले मायाप्रीतिको गम्भीरता र मिठासमा प्रतिकूल प्रभाव पारेको अनुभूतिबाट उनीहरू अनभिज्ञ हुन्छन् वा जानीजानी यस्तो गर्छन् ! प्रेम भावनालाई जिन्दगीको सबैभन्दा अनमोल ईश्वरीय उपहार मान्नेहरूका लागि यो चिन्ताको विषय बनेको छ । “आलभोलिका केटाकेटीले मायाप्रेमलाई कति सस्तो बनाएका, प्रदर्शनको फेशन बनाएका !” भन्ने परिपक्व प्रेमीहरूको उपस्थिति पनि समाजमा छ ।
लुकीलुकी गर्ने प्रेम व्यवहारमा जुन मिठास, स्वाद र आकर्षण हुन्छ त्यो खुलेआम गर्ने प्रेम प्रदर्शनमा हुन सक्दैन । यो प्राकृतिक नियम जस्तै हो । जतिजति प्रेम व्यवहारमा खलापन वा उच्छृंखलता बढिरहेको छ, यो सस्तो बन्दै गएको छ । आफ्ना प्रेमी–प्रेमिकासँग मिलनको घडीलाई प्रतीक्षा गर्नमै जुन मधुरता वा उमंग युवक–युवतीले पहिला अनुभव गर्थे त्यो क्रमैसँग हराउँदै गएको छ युवा मनबाट । अब त्यो व्यग्र प्रतीक्षाको समय व्यतीत गर्न कोही तयार छैन । सम्पर्क भएको दुईचार दिनमै सबैथोक हासिल गर्न उद्दत हुन्छन् । त्यसमा पनि लुकी–छिपी गर्ने मानसिकतालाई कुनै ठाउँ दिंदैनन्, बढीभन्दा बढी अरूले देख्ने थाहा पाउनेगरी प्रेम प्रदर्शन गर्ने प्रतिस्पर्धामा सहभागी बन्न उनीहरूलाई हतार हुन्छ । यसका निम्ति उनीहरू सार्वजनिक पार्क, मठ–मन्दिर, भीडभाड हुने पर्यटकीय स्थललाई छान्छन् । लुकीलुकी एकान्त स्थलमा प्रेम प्रस्तावदेखि अन्य सामान्य मायालु व्यवहार गर्ने जोडीको संख्या अब विरलै भेटिन्छ । यस्ता प्रेमीप्रेमिका अब पिछडिएको सोचवालामा गनिन्छन् । ‘प्यार किया तो डरना क्या’को मान्यतालाई अंगाल्दै प्रेम प्रदर्शन गर्नेहरू दिन प्रतिदिन बढ्दै गएका छन् ।
यो सब त समयअनुसार ठीकै भन्न सकिन्छ तर मायाप्रीतिको खुल्ला प्रदर्शनसँगै यसको महत्व घट्दै जानुले सिंगो समाजमा दीर्घकालीन नकारात्मक असर पार्नु अवश्य नै चिन्ताको विषय हो । केही साताको लभपछि ब्रेकको फेशन केवल प्रेम प्रसंगमै सीमित रहेन । दाम्पत्य जीवन पनि अब टिकाउ हुने अवस्था विस्तारै विस्तारै खस्किंदै गएको छ । जसका कारण ढल्किंदो उमेरमा आवश्यकता भएका बेला नरनारीले एकअर्काको माया नपाउँदा जीवनको उत्तरार्ध खल्लो, नीरस मात्र होइन पीडादायी बन्न थालेको छ । यस कटु सत्यतर्पm सबै किशोरकिशोरी तथा युवकयुवतीको समयमै ध्यानाकर्षण हुनु–गराउनु जरूरी छ ।
                                                                                             – २०७६ असोज ११

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon