Saturday May 26, 2018 |

पत्रपत्रिकाबाट— बाढी विस्थापितको पीडा : ‘न घर न घडेरी’

featured-news

मैनाकडेरी (सप्तरी)- सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत पर्ने मैनाकडेरीका विरक्ष मुखियाको घर रहेको ठाउँमा हाल खोला बगिरहेको छ । मुखियाको दुईवटा घर, भान्छा, गाईगोठ, सबै बाढीले बगाएपछि उठिबास लागेको छ । गत असार १७ मा आएको महुली खोलाको बाढीले नै विरक्षको एउटा घर र गाईगोठ बगाएको थियो ।

‘एउटा घर र भान्छा बाँकी थियो, पछिल्लो बाढी (साउन २८ को) ले त्यही पनि लग्यो,’ बाढीले बगाएको घर रहेको ठाउँनजिकै मंगलबार भेटिएका विरक्ष कुरा गर्दागर्दै भक्कानिए, ‘न घर नै रह्यो न त घर बनाउने जग्गा नै ।’ मुखिया परिवार लामो समयदेखि गाउँकै ऐलानी जग्गामा घर बनाएर बसोबास गर्दै आएको थियो ।
    छोराले कमाउन थालेपछि चार वर्षअघि एक कट्ठा जग्गा खरिद गरेर जसोतसो घर बनाएको विरक्षले बताए । ‘दुई पैसा जोगाएर जसोतसो जग्गा किनेर घर बनाएँ, त्यो पनि बाढीले बगायो’, उनले भने, ‘पछिल्लो दुई महिनादेखि नहरको डिलमा पाल टाँगेर बस्नुपर्ने बाध्यता छ ।’
    यसै बस्तीका लक्षण रामको घर पनि बाढीले बगाइदिएपछि चार बालबालिकासहितको परिवार नहरको डिलमा पाल टाँगेर बस्दै आएको छ । रामले यसै वर्ष घर बनाएका थिए । टिनको छाना हालेर बनाएको चारकोठे घर, भान्छा, गोठ, शौचालय, सबै बाढीले बगाइदिएको लक्ष्मणकी पत्नी जलसीदेवीले बताइन् । ‘ऋण काढेर घर बनाएका थियौं’, जलसीले भनिन्, ‘घरको अवस्था हेर्दा त्यहीं गएर झुन्डिएर ज्यान दिऊँजस्तै लाग्छ । घर बनाउन लिएको ऋणसमेत तिर्न सकिएको छैन ।’ राहतमा पाएको त्रिपालमुनि पछिल्लो दुई सातादेखि अत्यन्तै दुःखका साथ बाँचिरहेको उनले सुनाइन् । उनले थपिन्, ‘अहिले त जासोतसो पालमा बसेकी छु, राहतका नाममा च्युरा, मुरही (भुजा) र चामल पनि आउँदैछ तर यहाँबाट कहाँ जानु, कहाँ बस्नु, के खानु भन्ने चिन्ताले राति निद्रासमेत लाग्दैन ।’
पछिल्लो बाढीले मैनाकडेरीस्थित दलित बस्तीका १५ परिवारको घर बगाएकोे स्थानीय प्रहरी चौकीले जनाएको छ । दुई साताअघिसम्म बस्ती रहेको ठाउँमा यति बेला खोला बगिरहेको छ । मैनाकडेरी र भेडिया यसपटक बाढीबाट बढी प्रभावित भए । यी दुवै बस्ती महुली नदीछेउमा छन् ।
अतिवृष्टि र अनावृष्टिबाट जोगिन भेडियास्थित बनसखण्डी मठमा सप्तरीका प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा बर्सेनि पूजाआजा गर्ने परम्परासमेत छ । पञ्चायतकालमा तत्कालीन अञ्चलाधीश यहाँ पूजा गर्न पुग्थे । प्रजातन्त्र आएपछि जिल्ला विकास समितिका सभापतिको नेतृत्वमा पूजा गर्न थालियो । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएपछि प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीलगायतको अगुवाइमा पूजाआजा हुने गरेको छ ।
यसपटक महुली नदीको पश्चिमी तटबन्ध असार १७ गते नै कटान भएको थियो । त्यति बेला नै स्थानीय प्रशासनले बाँध बनाउन तदारुकता देखाएको भए आफूहरु बेघर हुनुपर्ने अवस्था नै नआउने बाढी विस्थापितको गुनासो छ । ‘प्रशासनले समयमा ध्यान नपु¥याउँदा हामी बेघर हुन पुगेका हौं’, विरक्षले भने, ‘अहिले बाढीपीडितलाई राहतको नाममा करोडौं खर्चिंदै छन् । केही लाख खर्चेर बनाउन सकिने तटबन्धतर्फ भने सरकार र स्थानीय प्रशासनको ध्यान पुग्न सकेन ।’
असार १७ को बाढीपछि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मासहितको टोली मैनाकडेरीछेउमै रहेको भेडिया पुगेको थियो । बाढीपीडितको अवस्था बुझ्नुका साथै टोलीले महुली नदीले कटान गरेको तटबन्धको निरीक्षण गरेको थियो । ‘प्रधानमन्त्रीज्यूको भ्रमणपछि हामी निकै उत्साहित थियौं’, पीडित लक्ष्मण रामले भने, ‘ठूला मानिस आएपछि कटान भएको तटबन्ध तत्कालै निर्माण हुन्छ कि भन्ने आशामा थियौं तर केही भएन । साउन २८ गते फेरि बाढी आयो र थप बिजोग बनायो ।’
पालमा आश्रय लिएका बाढीपीडितको अवस्था पीडादायी छ । ‘चर्को घामका पालमुनि बस्नु निकै कष्टकर छ’, बाढीबाट विस्थापित लिखनीदेवी खंगले भनिन्, ‘बच्चा बिरामी पर्न थालेका छन्, मलाई पनि चार दिनदेखि ज्वरोले च्यापेको छ ।’
च्युरा, मुरही बाँड्नेभन्दा पनि आफूहरुलाई घर फर्केन वातावरण बनाइदिनुपर्ने माग विस्थापितको छ । ‘च्युरा, मुरहीले केही हुनेवाला छैन’, स्थानीय काशीन्द्र खंगले भने, ‘पालको बसाइ निकै कष्टपूर्ण छ, घर फर्किने व्यवस्था सरकारले मिलाइदिनुप¥यो ।’ तर अहिलेसम्म आश्वासनमात्र पाएको इन्द्रदेव पण्डितले बताए ।
    बाढीले घरसँगसँगै घडेरी पनि बगाइदिएपछि यस्ता विस्थापितको पुनस्र्थापना स्थानीय प्रशासनका लागि समेत निकै चुनौतीपूर्ण भएको छ । सरकारले विस्थापितलाई घर बनाउन २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । विस्थापितहरु भन्छन्, ‘घर भएको ठाउँमा खोला बगिरहेको छ, सरकारी २५ हजारले कसरी घर बनाउन सकिन्छ र ?’ — नागरिक दैनिक, १७ भदौ 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon