Wednesday July 17, 2019 |

रोजगारी खोज्दै विदेशिने युवाको लर्को र प्रधानमन्त्री रोजगार कार्यक्रमको तारतम्य – डा डी आर उपाध्याय

featured-news

                               देशमा बेरोजगारीको अवस्था दिन प्रतिदिन विकराल बन्दै गएको छ । यद्यपि सत्तारूढ दलका नेता, सरकारका मन्त्री लगायतले अब रोजगारीका लागि देशका युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य हुने दाबी गरिरहेका छन् । धुमधामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको थालनी भएपछि त त्यस्ता दाबी गर्नेहरूको संख्या बढ्नु स्वाभाविकै हो । बेरोजगारी र गरिबीको समस्यालाई सम्बोधन गरी दिगो आर्थिक विकासका निम्ति सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको बताउने गरेको छ । १८ देखि ५९ वर्ष समूहका नेपाली नागरिकलाई कम्तीमा पनि सय दिनको रोजगारी दिने गरी सो कार्यक्रम ल्याइएको बताइएको छ । तर कार्यक्रम सुरू भएको केही साता नबित्दै यसको आलोचना पनि हुन थालेको छ । झार सफा गर्ने र छाडा गाईबस्तु सडकबाट हटाउने जस्ता काममा लगाएर प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम खर्च गर्न लागिएको समाचार समेत सार्वजनिक भयो । आलोचना गर्नेहरूका अनुसार, कार्यक्रमको उद्देश्य राम्रो भए पनि त्यस अनुरूप कार्यान्वयन हुन सकेको छैन । सुरूआती दिनमा केही कमजोरी देखिए पनि बेरोजगारीको समस्याबाट जुध्नका लागि यस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नितान्त खाँचो छ ।
देश दिनहुँ युवाशक्तिविहीन बन्दै गएको छ । विदेशिनेहरूको लर्को थामिने नाम छैन । नबिदेशिएर के गरून् युवा, महंगीको सामना गर्न, आफ्ना सामान्य चाहना पूर्ति गर्न स्वदेशको कमाइले पुग्ने अवस्था छैन । दिन प्रतिदिन महंगीको मारले बेहाल बनाउँदै गएको छ । ज्यानसमेत बाजी लगाएर युवाशक्तिले विदेशमा काम गरिरहेको छ । केवल कतारमा ९ वर्षभित्र १४ सय नेपालीको मृत्यु भएको तथ्यांकले अवश्य नै धेरैलाई झस्काएको होला । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, वार्षिक ९० हजारदेखि १ लाखसम्म युवा श्रमकै लागि रोजगारी खोज्दै कतार जाने गरेका छन् । नेपाली युवाका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य नै कतार रहेको छ ।
रोजगारीका लागि कतार गएका धेरै नेपाली श्रमिकले कार्यस्थलमै ज्यान गुमाउने गरेको विषयमा गत जेठ २२ गते अरब न्युजले समाचार प्रकाशन गरेको थियो । जर्मनको सार्वजनिक प्रसारक संस्था वेस्ट ड्युस्चर रन्डफन्क कोन डब्ल्यूडीआरको अनुसन्धानात्मक वृत्तचित्र ट्याप्ड इन कतारलाई आधार बनाएर उक्त समाचार तयार पारिएको थियो ।
कतारमा विश्व कपका लागि रंगशाला निर्माण हुन थालेपछि ९ वर्षको अवधिमा रंगशाला निर्माणमा काम गर्न गएका १४ सय नेपाली श्रमिकले ज्यान गुमाएको समाचारमा खुलासा गरियो । विडम्बना के छ भने रंगशाला निर्माणका क्रममा ज्यान गुमाएका नेपालीहरूका परिवारले कतारबाट कुनै राहत, क्षतिपूर्ति, अनुदान नपाएको गुनासोसमेत वृत्तचित्रबाटै सार्वजनिक भयो । उक्त वृत्तचित्रमा रंगशालामा काम गरिरहेका नेपाली श्रमिकले बन्दी भएर काम गरिरहेको आवाजसहितको भिडियो सार्वजनिक भयो ।
यो अत्यन्त चिन्ताजनक अवस्था हो । यसतर्पm सरकारले गम्भीरतापूर्वक कदम नचालेको पीडित परिवारहरूले पटक पटक गुनासो व्यक्त गर्ने गरेका छन् । राहत, क्षतिपूर्ति वा अनुदान दिलाउन सरकारले हरेक उपाय अवलम्बन गर्दै कार्यस्थलमा श्रमिकको मृत्यु हुने अवस्थाको अन्त्य गर्न सम्बन्धित राष्ट्र तथा रोजगारदाता कम्पनीसँग पहल गर्नु आवश्यक छ ।
यस्ता दुखद स्थितिलाई समेत दृष्टिगत राखेर स्वदेशमै कम्तीमा खाडी राष्ट्रमा आर्जन हुने न्यूनतम तलबभत्ता तथा अन्य सुविधा पाउने किसिमका रोजगारी सिर्जना गर्नेतर्पm सरकारका साथै ठूला उद्योगी–व्यवसायीको गम्भीर ध्यानाकर्षण हुनु जरूरी छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै यस किसिमका रोजगारी यसमा समेटिए अवश्य नै देशको युवाशक्तिको नयाँ आशा एवं विश्वासले सन्तोषको अनुभूति गर्नेछ ।
                                                                                            – २०७६ असार ३

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon