Saturday August 24, 2019 |

‘केपिएल–टू’को पुरस्कार राशि, प्रायोजक र कप्तानको नाम सार्वजनिक

featured-news

सुर्खेत, ५ वैशाख । यही वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल–टू) को विजेता टोलीले रु पाँच लाख राशिको पुरस्कार पाउने भएको छ ।

आयोजक कर्णाली क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि, मुख्य प्रायोजक र टोली कप्तानको नाम सार्वजनिक गरेको हो । लिग उपविजेताले रु दुई लाख र सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार हात पार्नेछ । उत्कृष्ट बलर र ब्याट्सम्यानले समान रु २०–२० हजार पाउँदा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले रु तीन हजार ५०० हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगी आठ टोलीका कप्तानको नाम सार्वजनिक गरिएको छ ।

विनोद भण्डारीको कप्तानीमा नेपाल आर्मी रहनेछ भने मञ्जित श्रेष्ठको कप्तानीमा नेपाल पुलिस क्लब रहँदा सशस्त्र प्रहरीको एपिएफको कप्तानी वसन्त रेग्मीले सम्हाल्नुहुनेछ । त्यस्तै, रवीन्द्रजङ्ग शाहीको कप्तानीमा कर्णाली–११ रहनेछ भने मेहबुब आलमको कप्तानीमा लालीगुराँस क्रिकेट क्लब झापा रहेको छ । हिमालयन क्रिकेट एकेडेमी काठमाडाँैको कप्तानमा सुरेन्द्र चन्द, महेन्द्रनगर क्रिकेट क्लबको कप्तान सुशील खड्का रहँदा मध्यपश्चिम क्रिकेट एकेडेमीको कप्तानी अजय साहनीले गर्नुभएको छ । एकेडेमीका संयोजक रेशम शाहीले प्रतियोगिता हेर्न आउने दर्शकका लागि मोटरसाइकल, एलइडी टेलिभिजनलगायत विभिन्न पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार ‘केपिएल–टू’ को मुख्य प्रायोजकका रुपमा वाइवाई चाउचाउ रहेको छ । कर्णाली प्रिमियर लिग दोस्रो संस्करण वीरेन्द्रनगरस्थित कालुञ्चौक क्रिकेट मैदानमा वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon