Monday April 22, 2019 |

होलीको मर्ममा आधुनिकताको नकारात्मक प्रहार रोकौं –डा डी आर उपाध्याय

featured-news

                             देशैभरी खुसियाली र उमंगको रङ छर्ने होली पर्वको आफ्नै विशेषता छ । हिन्दू धर्मावलम्बीहरुको पारम्परिक पर्व भए पनि अहिले हाम्रो देश तथा छिमेकी मित्रराष्ट्र भारतमा हिन्दूका साथसाथै अन्य धर्मावलम्बीले समेत होली मनाउन थालेपछि यो आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्ने पर्व बन्दै गएको छ ।
होलीबारे विभिन्न क्षेत्रमा फरक–फरक धारणा भए पनि सबैको सार नराम्रा विचारमाथि राम्रोको विजय तथा आपसी प्रेमलाई वृद्धि गर्ने मूल मर्म यस पर्वको रहेको छ । ईश्वरका भक्त प्रह्लादका पिता हिरण्य कश्यपले प्रह्लादलाई मार्न अनेकौं उपाय गर्दा पनि विफल भएपछि आफ्नी बैनि होलिकालाई यस कामको जिम्मेवारी दिए । होलिकालाई आगोमा नजल्ने वरदान भगवान शिवले दिएका थिए । तर यस वरदानका साथै शर्त पनि थियो –आगोमा पुरुषसँंग स्पर्श हुनु हुँंदैन, यस्तो भएमा होलिकाको मृत्यु हुनेछ । होलिका यो शर्त बिर्सिइन् ।, उनले बालक प्रह्लादलाई पुरुषका रुपमा लिइनन् । वरदान पाएको दम्भमा परेकी होलिका प्रह्लादलाई काखमा लिएर अग्नि चितामा बसिन् । जहाँं होलिका त जलेर भष्म भइन् तर भगवान विष्णुका प्रिय भक्त प्रह्लादलाई केही पनि भएन । त्यही दिनदेखि होली मनाउन थालिएको शास्त्रमा उल्लेख छ ।
नेपालमा मैथिली, भोजपुरी तथा अवधी भाषीहरुमा होली पर्व बढी श्रद्धा एवं रुचिपूर्वक मनाइन्छ । त्यहाँं परम्परागत ढंगबाट होली मनाउन समाजका अगुवाहरुले नयाँं पुस्तालाई अझै पनि प्रेरित गर्ने गरेका छन् । जनकपुरधाममा करिब–करिब एक सप्ताह नै विविध कार्यक्रम गरी होली मनाइन्छ । महोत्तरीको कञ्चन बनमा मिथिला माध्यमिकी परिक्रमाको टोली पुगेसँंगै मिथिलामा होली पर्व मनाउन सुरु हुन्छ । कञ्चन बनमा राम सीताले होली खेलेको जनविश्वास छ । मधेशका अनेकौं स्थानमा होलीको जोगिरा गीत अझै पनि गाइन्छ । जनकपुरमा हुने महामूर्ख सम्मेलन देशैभरी प्रसिद्ध छ । महामूर्ख सम्मेलनमा विभिन्न उपाधि पाउनेलाई मिथिलामा उत्पादित तरकारीको माला बनाएर लगाउने प्रचलन छ । अवधी भाषीहरुले पनि होलीका अवसरमा गधाको सवारी लगायत अनेकौं प्रहसन गर्दै रमाइलो गर्छन् । जोगिरा गीतमा विभिन्न व्यंग्यबाट छेड हान्नुका साथै प्रेम एवं भाइचाराको सन्देश पनि हुन्छ ।
भारतको वृजमा खेलिने होली विश्वमै प्रसिद्ध छ । अहिलेसम्म पनि त्यहाँं परम्परागत रुपमै रङ, गुलाल तथा अबिर प्रयोग गरेर महिला एवं पुरुषले होली मनाउने गर्दछन् । त्यहाँं राधाकृष्णले होली मनाएको जनविश्वास छ ।
फागु पूर्णिमामा मनाइने होलीको परम्परागत महत्व तथा रौनक बढ्दो आधुनिकताले हराउँंदै गएकोमा समाजका अगुवाहरुले चिन्ता व्यक्त गर्नु स्वाभाविक हो । केही दशकअघिसम्म होली आउनु केही दिन अगाडि नै गाउँंघरमा ढोल, मादल, झ्याली लगायत परम्परागत वाद्यवादन बजाउँंदै होली गीत गाउने र त्यसैको तालमा नाच्ने गरिन्थ्यो । अहिले मौलिक भाकामा होली गाउने–नाच्ने प्रचलन अनेक गाउँंशहरमा हराउँंदै गएको छ । धेरै स्थानमा क्यासेट, सीडी, मेमोरी कार्डमा जथाभावी गीत बजाएर नाच्ने र मात्र फोहोर पानी तथा विभिन्न पेन्ट दलेर अभद् रुपमा होली मनाउन थालिएकोले यो पर्व विकृत हुँंदै गएको छ । युवा पुस्ताले संस्कृति, संस्कारको महत्व बढाउनका लागि भन्दा पनि केवल सतही रमाइलोका लागिमात्र पर्व मान्नु निराशाको विषय हो ।
होली गीत, जोगिरा एवं सभ्य–शालीन शैलीमा रङ, अबिरको प्रयोग गरेर होली पर्व मनाइए यसले आफ्नो सार्थकता पाउनेछ । अनेकौं कारणले आपसी सद्भाव, प्रेम एवं भाइचारा ह्रास हुँंदै गएको समयमा होली पर्वको महत्व झनै बढेको छ । आधुनिकताको नाममा होलीको मर्ममा प्रहार गर्नुको साटो नयाँं पुस्ताले यसलाई परम्परागत रुपमै सद्भाव एवं प्रेम बढाउने तथा नराम्रो चिन्तनमाथि राम्रोको विजयको पर्वका रुपमा लिंदै होली आफू मनाउने र आफ्ना सन्तान–भाइबैनिलाई त्यसरी नै मनाउन प्रेरित गर्नसके समाजमा सकारात्मक भावनाको विकास हुनेछ ।
                                                                                                  —२०७५ चैत ६

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon