Sunday November 18, 2018 |

जीवनसाथीको सम्बन्धमा गहिरिंदै सम्बन्धविच्छेदको कालो छायाँं — डा डी आर उपाध्याय

featured-news

जीवनसाथीको पवित्र र मीठो सम्बन्धमा यताका केही वर्षमा अमिलो तथा तितोपना बढ्दै गएको देखिएको छ । यसले आगामी दिनमा सिंगो समाजलाई नै वितृष्णा र कठोरताको जालोमा पार्ने संकेत पनि देखिंदै छ । केही पश्चिमा राष्ट्रमा पति—पत्नीसम्बन्ध दीर्घकालीन रुपमा टिकाउ नहुने गरेका घटना दिनहुँं प्रकाशमा आउने गरेका छन् । तर हाम्रो समाजमा पति—पत्नीको सम्बन्ध भनेको जीवन पर्यन्तकै लागि मान्ने गरिएको छ । वैवाहिक धार्मिक विधिमा विभिन्न शब्दावली प्रयोग भई जीवनको अन्तिम साँंससम्मको नाताकै रुपमा व्याख्या गरिन्छ । पति—पत्नीबीच स—साना असमझदारी तथा खटपट हुनु र पारपाचुकेसम्म छिटपुट रुपमा प्रत्येक कालखण्डमा नभएका होइनन् । तर अहिले सम्बन्धविच्छेदले भयावह रुप लिन थालेको छ ।
गत भदौं १ गतेदेखि लागू भएको नयाँं मुलुकी ऐनसँंगै विभिन्न जिल्लामा पत्नी सँंग सम्बन्धविच्छेदको माग गर्दै पुरुषले मुद्दा दर्ता गराउने क्रम बढेको छ । हालै प्रकाशित एक तथ्यांक अनुसार दाङ देउखुरी अदालतका श्रेस्तेदार चुडामणि रेग्मीले भदौंदेखि कात्तिक ९ गतेसम्म १०४ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जानकारी सञ्चारमाध्यमलाई दिएका छन् । ती मध्ये ५७ पुरुष र ४७ महिलाले मुद्दा दायर गरेका हुन् । नयाँं मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेपछि जिल्लामा यो अधिकार प्रयोग हुन थालेको हो ।
गत आर्थिक वर्षमा दाङ जिल्लामा ६४० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । ती मध्ये ४९५ मुद्दा फछ्र्यौट भएको अदालतका श्रेस्तेदार रेग्मीले बताए । श्रेस्तेदार रेग्मीका अनुसार पारिवारिक असमझदारी , वैदेशिक रोजगार, हतारको निर्णय, प्रेम विवाह र नयाँं पुस्ता आफूहरु स्वतन्त्र रुपमा रहन चाहनु नै सम्बन्धविच्छेदका प्रमुख कारण हुन् ।
यही कात्तिक ११ गते कपिलवस्तुको शिवराजनगरपालिका —१ बनकसबासामा भएको घटनाले त पति—पत्नी सम्बन्धको अत्यन्तै भयावह स्वरुप प्रस्तुत गर्दछ । प्रहरीका अनुसार, बनकसबासाका ४४ वर्षीय वसन्त परियारले आफ्नी ३५ वर्षीया पत्नी सुमित्राको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । मजदुरी गरी जीवन निर्वाह गरिरहेका परियारले मादक पदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । कात्तिक ११ गते राती छोराछोरी सुतिरहेको समयमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको स्थानीय बासिन्दाले बताए । परियारका दुई छोरा र एक छोरी छन् । यी निर्दोष अबोध बालबालिकाको भविष्य कस्तो हुन्छ सजिलै अनुमान लगाउन सकिन्छ । किनभने बेसहारा बालबालिकाको भविष्य सुरक्षित पार्न सक्रिय संघसंस्थाहरुको दृष्टि सबै स्थानमा पुग्न सक्दैन ।
वैदेशिक रोजगारको सेरोफेरोमा पनि हजारौं पति—पत्नी सम्बन्धविच्छेदको भुमरीमा फसेको कयौं घटना छन् । वैदेशिक रोजगारमा रहेकै बेला वा वैदेशिक रोजगारबाट फर्केपछि आफ्ना पति वा पत्नीको अर्कै स्त्री वा पुरुषसँंग शारीरिक सम्बन्ध रहेको आशंका तथा त्यसमा आफन्त एवं छरछिमेकीले उत्पन्न गरिदिएको अविश्वास एवं घृणाले जीवनसाथीलाई प्रबल शत्रु बनाएका अनेकौं उदाहरण छन् । यस विषम एवं विकृत मनस्थितिको प्रभाव अहिलेको सामाजिक तथा पारिवारिक वातावरणलाई त विषाक्त बनाइ नै रहेको छ । यसको अझ गम्भीर प्रभाव यस परिस्थितिमा जन्मे—हुर्केका बाल—बालिका एवं किशोर—किशोरीमाथि पर्ने निश्चित छ । यसरी भावी पुस्तामाथि नै यसको कुप्रभाव पर्ने आशंका गर्न सकिन्छ । जीवनसाथीबीचको माया र भरोसा स्थायी बनाउन तथा पति—पत्नीबीचको पवित्र नातामाथि सम्बन्धविच्छेदको कालो छायाँं पर्न नदिने उपाय गर्नुमै सिंगो समाजको तात्कालिक र दीर्घकालीन कल्याण छ । यसतर्फ सामाजिक संघसंस्था एवं समाजका अग्रजहरुको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।
—२०७५ कात्तिक १५

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon