Saturday May 26, 2018 |

प्रधानमन्त्री र सञ्चार राज्यमन्त्रीको निर्देशन टेलिकमकी राजभण्डारीले बेवास्ता गरेको आरोप

featured-news

काठमाडौँ, १९ वैशाख । नेपाल टेलिकमको सेवा सुधार गर्न प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले निर्देशन दिए तापनि त्यसमा कुनै सुधार नभएको सेवाग्राहीले गुनासो गरेका छन् । पहाडी र हिमाली भेगमा टेलिकम नेटवर्कको समस्या जस्ताको तस्तै छ भने फोर जीको स्पिड पहिलेजस्तै थ्री जी जति पनि नरहेको सेवाग्राहीको आरोप छ ।
यही वैशाख १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी त्यहीं उपस्थित रहेका बेला यस्तो निर्देशन दिएका थिए । सोही अवसरमा प्रधानमन्त्रीले भनेका थिए–टेलिकमभित्र मुसा वा मुसा प्रवृतिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुखद छ । यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनुपर्छ । टेलिकम नाफाका लागिमात्र नभएर जनताको सेवाका लागि स्थापना गरिएको संस्था भएको प्रधानमन्त्रीको भनाइ थियो । 
तर राजभण्डारीको कार्यकालमा न नाफा न गुणस्तरीय सेवा नै भएको स्वयं टेलिकमकै इमानदार कर्मचारीको भनाइ छ । 
प्रधानमन्त्री ओलीले टेलिकमले गरिरहेको अप्टिकल फाइबरको कामप्रति असन्तुष्टि जनाए । उनले भने—यस कामका बारेमा गुनासा आएका छन्, यसको काम जहाँं पुगेको छ त्यहीं रोक्नुहोस्, यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौंला ।
प्रधानमन्त्रीले टेलिकमलाई प्रतिस्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिएका थिए । उनले भने–टेलिकम प्रतिस्पर्धामा पछाडि पर्ने लक्षण देखिएका छन् । त्यस्तो हुनु भएन । सेवामा सुधार गर्नुहोस् । 
तर टेलिकमका इमानदार कर्मचारीहरुका अनुसार टेलिकमलाई जानाजान पछाडि पार्ने र निजी संस्था एनसेललाई अगाडि बढाउने ठूलो खेल लामो समयदेखि भइरहेको छ । यसकै परिणामस्वरुप अहिले फोर जी सेवामा एनसेलले टेलिकमलाई निकै पछाडि पारिसकेको छ । एनसेलको व्यापक प्रचारप्रसार गरिएका विज्ञापनहरुमा वाइडेस्ट फोर जी कभरेज इन ट्वान्टी सिटीज, डु मोस्ट फास्टर दाबी गरिएको छ । एनसेलको प्रचारप्रसार अनुसार उसको फोर जी सेवा उपलब्ध रहेकोले उसले सेवाग्राही तानिसकेको छ । तर देशव्यापी फोर जी सेवा सञ्चालनको कामलाई राजभण्डारीले निहित स्वार्थका वशीभूत लामो समय अलमलाएको टेलिकम उच्च स्रोतको आरोप छ । एनसेलले करिब तीन अर्बमा फोर जी सेवा सञ्चालन गरेको तर टेलिकममा यसै कामका लागि पच्चीसदेखि एकतीस अर्बसम्म खर्च गर्ने नाममा ठूलो अनियमितताको खेल भइरहेको सोतको भनाइ छ । करिब तीन अर्ब पच्चीस करोडमा देशव्यापी फोर जी सञ्चालन गर्ने प्रस्ताव आइसक्दा पनि त्यसलाई ओझेलमा पारिएको टेलिकम स्रोतले पटकपटक खुलासा गर्दै आएको छ । यस अनियमिततामा साथ नदिने सिनियर डिएमडिहरुलाई राजभण्डारीले पाखा लगाएको स्रोतको आरोप छ । अनियमितता गरिएकै कारण टेलिकमको काठमाडौं र पोखरामा सञ्चालित फोर जी सेवाको स्पिड थ्री जी जति पनि नभएको स्रोतको आरोप छ । चालीस एमबीपीएस स्पिड दाबी गरिएकोमा दसदेखि बीस एमबीपीएस पुग्नसमेत कठिन रहेको कुरा मोबाइल सेटमै जाँंच्न सकिने स्रोतको चुनौती छ । हालै टेलिकमको सिमकार्ड वितरणमा त्रुटि देखिएको भन्दै नेपाल विद्यार्थी संघले ध्यानाकर्षण गराएको थियो । आन्तरिक क्षमता वृद्धि नगरी ग्राहकमात्र थप्नाले गुणस्तरीय नेटवर्क सेवा सुविधामा प्रभावकारिता नदेखिनु, पूर्व नेपालका क्षेत्रमा खासगरी पहाडी र हिमाली क्षेत्रमा नेटवर्कमा ठूलो समस्या देखिएको संघको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
हालै राज्यमन्त्री बास्कोटाले पनि राजभण्डारीद्वारा गरिएका सरुवा र टेलिकमका विज्ञ तथा डिएमडिहरुको उपेक्षातर्फ संकेत गर्दै परोक्षमा चेतावनीसमेत दिएको ती कर्मचारीको दाबी छ । उनले भ्रष्टाचार गर्नेलाई कुनै हालतमा उन्मुक्ति नदिने चेतावनी पनि दिएका थिए । राज्यमन्त्री बास्कोटाले फोर जी घोटालाको उल्लेख नगरे पनि आफूले टेलिकमका विभिन्न चर्चाबारे आफू अवगत रहेको बताएका थिए । राज्यमन्त्री बास्कोटाले पटकपटक कार्यक्षमता र टेलिकमको आम्दानी बढाउनमा जोड दिए । यसतर्फ ध्यान नदिई ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउने प्रवृतिलाई आफूले सहन नगर्ने चेतावनी पनि उनले घुमाउरो पारामा दिए । असक्षमता प्रदर्शन गरिरहे र टेलकमको आम्दानी बढाउन नसके पदबाट हटाइने अपरोक्ष रुपमा उनले चेतावनी दिएको तर यसलाई धम्कीका रुपमा नलिनसमेत बताएका थिए । राजभण्डारीले प्रबन्ध निर्देशक पदमा नियुक्ति पाउन गरेको कबोल बमोजिमका लक्ष्यका प्रत्येक बुँंदा माइनसमा गएको हालैको त्रैमासिक प्रतिवेदनमा खुलासा भएको टेलिकम उच्च स्रोतले बताएको छ । केही महिनाअघिसम्म बैंक मौज्दातमा बढेको ब्याज दरमा वृद्धि हुँंदा देखिएको नाफासमेत अहिले माइनसमा गएको स्रोतको दाबी छ । टेलिकमको वित्तीय सूचकहरुको अवस्था दयनीय बन्दै गएको छ । कार्य सञ्चालन आयमा बृद्धिको अवस्था, खुद मुनाफामा बृृद्धि, सम्पत्तिको प्रतिफलमा बृद्धि, प्रतिशेयर आयमा बृद्धि र ग्राहक संख्यामा बृद्धि सबै माइनसमा छन् । सबै बुँंदाको समग्रमा पाँंच दशमलब ६ प्रतिशतले टेलिकम घाटामा गएको स्रोतले खुलासा गरेको छ । तर राजभण्डारीले उच्च निकायमा गलत तथ्यांक पेस गर्दै टेलिकम नाफामा गएको दाबी गर्ने गरेको स्रोतले बताएको छ । टेलिकमको आर्थिक कारोबारको टेक्निकल अडिट गरिएमा राजभण्डारीका सबै अनियमितता भण्डाफोर हुने स्रोतको दाबी छ । नेपाल टेलिकमको धारा ९क अनुसार प्रबन्ध निर्देशक पदमा नियुक्ति हुँदा गरेको कबोल बमोजिम लक्ष्य अनुसारको प्रगति नगर्नेलाई नियुक्त गर्ने पदाधिकारीले पदबाट हटाउनुपर्ने व्यवस्था छ तर राजभण्डारीले नियुक्ति पाउनका लागि प्रस्तुत गरेको लक्ष्यका प्रत्येक बुँदा माइनसमा छ र टेलिकमको पूरै कोर बिजनेस चौपट अवस्थामा छ । अहिले टेलिकमको शेयरमा पनि गिरावट आएको स्रोतले बताएको छ ।
टेलिकमको अनियमितताका समाचारबारे टेलिकमको भनाइ जान्नका लागि सम्पादक धिरज दाहाल त्यहाँं जाँंदा खण्डन प्राप्त भएको छ । खण्डनका सम्बन्धमा अध्ययन र स्रोतसँंग विचारविमर्श भइरहेको छ । पत्रकारिताको धर्म निर्वाह गर्दै यस डट कमले पहिले पनि टेलिकमको खण्डन प्रकाशन गरिसकेको छ र अब पनि यथोचित खण्डन प्रकाशन गर्ने नै छ । तर त्यहाँं भइरहेका वा हुने कुनै पनि अनियमितताका समाचार प्रकाशन गर्न यो डट कम प्रतिबद्ध छ । यद्यपि पूरा समाचार डट कमको नेपाल टेलिकम वा त्यहाँका कुनै पनि पदाधिकारीसँग कुनै आग्रह–पूर्वाग्रह छैन ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon