Friday October 18, 2019 |

आजीवन पिरोल्ने घाउ सम्बन्ध विच्छेद बढ्नुले समाज रुग्ण बन्दै – डा डी आर उपाध्याय

featured-news

                                   समाजमा आधुनिक विचारधाराको साम्राज्य जतिजति विस्तार हुँदै गएको छ त्यतित्यति नै परिवार विखण्डित हुने क्रम बढिरहेको छ । स्वच्छन्द जीवनशैली र लामो समयसम्म एकै किसिमले बाँच नचाहने परिवर्तनशील चिन्तन दिन प्रतिदिन मानिसमा हावी हुँदै गएको छ ।
यसकै फलस्वरुप दिन प्रतिदिन पतिपत्नीबीच सम्बन्ध विच्छेद, पारपाचुके, छोडपत्र गर्ने प्रवृत्ति डरलाग्दो रुपमा बढिरहेको छ । पहिले पतिको अत्याचार तथा कान्छी भित्र्याएको अवस्थामा अधिकांश पत्नीले सम्बन्ध विच्छेद गर्ने घटना प्रकाशमा आउने गर्दथ्यो भने अहिले पत्नीबाट पीडित पतिहरुले सम्बन्ध विच्छेद गर्न कानुनी बाटो अपनाउने गरेका बढी घटनाले चर्चा पाउने गरेका छन् । शहरी क्षेत्रमा मात्र नभई ग्रामीण र अल्पशिक्षित परिवारमा समेत सम्बन्ध विच्छेदको प्रवृत्ति बढ्नु अनौठो मानिएको छ । केही दशकअघिसम्म पतिपत्नीले एकअर्कालाई त्याग्ने र अर्को विवाह गर्ने गरेका घटनाहरु धेरैजसो सिने जगत वा कलाकारहरु बीच हुने गर्दथ्यो । त्यस्ता घटनाले पनि सबैबीच चर्चा पाउने गर्दथे । नायिका–अभिनेत्रीहरुले एक छाडी अर्कासँग बिहे गर्ने गरेकोलाई पनि धेरैले हेय दृष्टिबाट नै हेर्ने गर्दथे ।
मागी विवाहमा सम्बन्ध विच्छेदलाई केही हदसम्म स्वाभाविक भन्न सकिन्छ । किनभने केटा–केटीले एकअर्कालाई राम्ररी बुझेका हुँदैनन् । तर आधुनिक समाजमा वर्षौं प्रेम गरेर, पचासौं पटक डेटिङमा गएका जोडीले विवाह गरेका दुई–तीन वर्षमै सम्बन्ध विच्छेद गर्ने गरेको घटनालाई सहज मान्न सकिंदैन । यस्ता हजारौं उदाहरण समाजमा छन् ।
सम्बन्ध विच्छेद एक्कासि हुँदैन । क्रमैसँग पति–पतिबीचको असमझदारी तनावको रुप लिन्छ । अविश्वास बढ्छ र यसले दैनिक कलहको रुप लिन्छ । लोग्ने–स्वास्नीको झगडा परालको आगो पनि केही सन्दर्भमा सही ठहरिन्छ तर नयाँ पुस्ताका युवा लोग्ने–स्वास्नीको झगडा धेरैजसो सम्बन्ध विच्छेदमै समाप्त हुन्छ । दुवै उच्च शिक्षित र आर्थिक रुपमा आत्मनिर्भर भएपछि को भन्दा को कमको चिन्तनले आगोमा घिउको काम गर्छ ।
एकअर्कालाई असमीति माया गर्ने पति–पत्नीबीच पनि सम्बन्ध विच्छेद हुने गरेका अनेकौं घटना छन् । बिहे गरेको एक वर्षमै पत्नीले छाडेर गएको चोट सहन नसकी करिब दस वर्षदेखि रक्सीको सहारामा बाँचिरहेका एक युवकले आफ्नो सम्बन्ध विच्छेदको कारण आफ्ना दाजु–भाउजु, दिदी–बैनीमात्र होइन आफ्नी आमालाई समेत बताउँछन् । अलिअलि स्वाभिमानी उनकी पत्नीलाई घरमा भित्र्याएकै दिनदेखि उनीहरुले मन नपराएको र दिन प्रतिदिन असमझदारी बढाउँदै लगी अन्ततः पत्नीलाई पारपाचुकेको अवस्थामा पु¥याएको उनी बताउँछन् । उनका अनुसार उनी र उनकी पत्नीबीच प्रगाढ प्रेम थियो ।
सन्तान जन्माइसकेका युवा जोडीले सम्बन्ध विच्छेद गर्दा ती सन्तानमा यसले नकारात्मक असर पार्ने गरेको छ । पुनस्र्थापना केन्द्रहरुमा राखिएका अधिकांश बालबालिका, किशोरकिशोरी वा युवकयुवतीले आफू गलत बाटोमा लागेको कारण आफ्ना बुबा–आमाबीच भएको सम्बन्ध विच्छेदलाई बताउने गरेका छन् । बुबाले अर्की पत्नी ल्याएको वा आमा पोइल गएपछि सानै उमेरमा घर छाडेकाहरुको अनगन्ती कथा–व्यथा सुन्न सकिन्छ ।
सिंगो समाजलाई सुखद वा पीडादायी बनाउने संवेदनशील प्रश्नसँंग जोडिएको सम्बन्ध विच्छेदका घटनामा वृद्धि निश्चित रुपमा सबैका लागि गम्भीर चुनौती हो । यस्तो परिस्थिति र वातावरण सिर्जना हुन नदिन हरेक व्यक्तिले योगदान गर्नुपर्छ । करिबकरिब सबैका लागि सम्बन्ध विच्छेद आजीवन पिरोल्ने घाउ नै बन्छ ।

                                                                                             – २०७६ साउन १७

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon