Sunday September 15, 2019 |

कर्णाली राजमार्गको दुर्दशा

featured-news

जुम्ला, २४ भदौ । पातारासी गाउँपालिका–२ तल्फीगाउँ जुम्लामा भदौ २० र २१ गते बसेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले ‘२१ बुँदे जुम्ला घोषणापत्र’ जारी गर्दै बैठक सम्पन्न ग¥यो । बैठकले त्यहीँबाट विश्वव्यापी चुनौतीका रूपमा देखिएको जलवायु परिवर्तनको असरसँग जुध्न सरोकारवालाहरुलाई ‘हिमाल बचाउ अभियान’ सञ्चालन गर्न आग्रह गर्दै केन्द्रीय समितिको टोली कर्णाली राजमार्ग भएर गन्तव्यतर्फ फक्र्यो ।

देशैभरिबाट महासङ्घका पदाधिकारी तथा सदस्यहरुसहित ८६ जनाको जम्बो टोली संसारको सर्वाधिक उचाइमा धान फल्ने छुमचौर ज्यूलाको छेउमा पुग्दा मख्ख थियो । कर्णाली तथा जुम्लाको भूगोल, उत्पादित फलफुल, जडीबुटी, कालीमार्सी धान, जताततै स्याउ, आरु, ओखरको स्वागतले टोली निकै मोहित भयो । स्याउसँग नजिकको नाता गाँसेर उनीहरु धेरैले फोटो पनि खिचे ।

जब उनीहरुको कर्णाली राजमार्गको यात्रा शुरु भयो तब कालीकोट तिलगुफा नगरपालिका–७ टाकुल्ला खोलामा १३ घण्टा अलपत्र परे । धेरैले काँचो चाउचाउ खाएरै दिन बिताए । काठमाडौँ यात्रामा हिँड्नुभएका वन महासङ्घका केन्द्रीय अध्यक्ष भारती पाठकले भन्नुभयो, “जाँदाको यात्रा जति आनन्दपूर्ण थियो, फर्किँदाको यात्राको त्यति नै पट्यार लाग्दो भयो । राजमार्गको सुधार नभए हरेकले यस्तै समस्या भोग्नुपर्छ ।” यो त सामूहिक यात्रामा जाने उनीहरुको साझा पीडा हो । कर्णाली राजमार्गमा यात्रा गर्ने अधिकांश यात्रुहरुले पटकपटक निकै सास्ती खेप्नु दिनचर्या जस्तो बनिसकेको छ । सानो कुराले पनि घण्टौँ पर्खनु पर्ने बाध्यता र कहाली लाग्दो बाटोले कर्णाली राजमार्गमा स्थलगत यात्रा गर्ने जो कोही यात्रु जीवनमरणको लडाइँ लडेको महसुस गर्छन् । बर्सेनि कर्णाली राजमार्गको कालीकोट र दैलेख सडकखण्डमा वर्षा, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिले अधिकतम अवरुद्ध भइरहन्छ ।

साना गाडीमा एक दिनमा नेपालगञ्ज र ठूला गाडीहरुमा एक दिनमा सजिलै सुर्खेतसम्म पुग्ने यात्रु तथा गाडीहरु गुणस्तरहीन तथा विकल्पविहीन सडकका कारण तीन÷चार दिनको यात्रापछि मात्र सुर्खेत र नेपालगञ्ज पुग्ने गरेको यात्रुहरु बताउँछन् । बाटोले गर्दा बेलैमा नेपालका मुख्य बजारमा पु¥याउने लक्ष्य राखेर ल्याइएका जैविक स्याउ थन्केर बाटोमै कुहिने गरेको स्याउ व्यापारी कृष्ण रावतले गुनासो गर्नुभयो । “हामी नागरिकहरुका दुःखमा कुनै सरकारले सरोकार राख्दैनन्,” व्यापारी रावतले भन्नुभयो, “सर्वसाधारण नागरिकले जे गर्दा नि घाटा नै व्यहोर्नुपर्छ ।”

यता सडक डिभिजन कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले सडक नियमितरूपमा सञ्चालन हुन नसक्नुमा साँघुरो बाटो र स्थानीय सरकारले जथाभावी खनेका सडक मुख्य बाधक भएकोे राससलाई जानकारी दिनुभयो । स्थानीय सरकारका डोजर इञ्जिनीयरहरुका कारण राजमार्ग बिग्रने र त्यसको मारमा नागरिक पर्ने गरेको उहाँको भनाइ थियो । कर्णाली राजमार्ग नियमित सञ्चालनको अर्को बाधक भनेको बेलैमा पुल निर्माण नहुनु हो ।

कालीकोट सडक खण्डको टाकुल्ला र दैलेख सडक खण्डको ज्याक्सी खोला, किटु (घट्टे) खोला पुल आठ वर्षदेखि अलपत्र अवस्थामा छन् । नागरिकका दुःखबारे स्थानीय, प्रदेश तथा सङ्घीय सरकार सबैलाई थाहा भए पनि नागरिकहरुको बाध्यता र समस्याप्रति तीनवटै सरकारको गम्भीर ध्यान जान नसक्दा नागरिकहरुले यात्रापिच्छे दुःख भोग्नु परेको तिला गाउँपालिका–४ जुम्लाका स्थानीय युवा वीरबलनाथ योगीले बताउनुभयो । “नागरिकको नजीकमा स्थानीय सरकार छ ।

त्यसले नै हाम्रा दुःख नजिकबाट बुझ्नुपर्ने हो, त्यो देखिएन,” युवा योगीले भन्नुभयो, “कर्णाली जस्तो विकट भूगोल, गुणस्तरहीन सडकको स्तरोन्नतिमा प्रदेश र सङ्घ सरकारले समेत प्राथमिकतामा राख्न सकेका छैनन् ।” कर्णाली राजमार्गमा देशका मै हूँ भन्ने नेताले स्थलगतरूपमा यात्रा गरे पनि यसको स्तरोन्नति गर्नका लागि पर्याप्त बजेट विनियोजन नगरिनु र कामको जिम्मा लिएका निर्माण व्यवसायीहरुले समयमै कार्य सम्पन्न नगर्नुले यात्रुहरुले सास्ती भोग्नु परेको उहाँको भनाइ थियो ।

उहाँका अनुसार नागरिकका बारेमा सङ्घीय एवं प्रदेश संसद्मा धेरै कुरा उठे पनि त्यसको कुनै पहल हुनसकेको छैन । तेह्रथुम जिल्लाबाट कर्णाली पुग्नुभएकी पार्वता गुरुङले कर्णालीको सम्पन्नतालाई राज्यले पहिचान गर्न नसकेको तर्क गर्नुभयो । गुरुङले भन्नुभयो, “नागरिकहरुको सहज, सरल र समृद्ध जीवन स्थापनाका लागि दीर्घकालीन पूर्वाधारको विकास हुन जरुरी छ । यसमा राज्यले जिम्मेवार अभिभावकीय भूमिका निर्वाह गर्नुपर्दछ ।” राजमार्गको दुर्दशाका कारण घटेका दर्जनौँ दुर्घटनामा सयौँको ज्यान गइसकेको छ । भौगोलिक सुन्दरता, प्राकृतिक, धार्मिक साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व हुँदा पनि सडकको स्तरोन्नति नभएसम्म कर्णाली आकर्षणको केन्द्र बन्न नसक्ने गैरसरकारी संस्था महासङ्घ कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताउनुभयो ।

यात्रुको बिजोग, साहुजीको व्यापार

सामान्य बाटो बिग्रँदा कर्णाली राजमार्गमा यात्रुहरुले छ घण्टादेखि ३६ घण्टा सडकमा कुर्नु पर्दछ । यात्रामा धेरैले मिठो खान, सहज बसाइ गर्न र न्यानो आतिथ्यता पाउन सक्ने अवस्था छैन । धेरैले दुःख पाउँछन् । यात्रुको दुःख सडक छेउका स्थानीयहरुलाई कमाउने अवसर हुन्छ ।

अरु बेला सामान्यतः रु पाँच पर्ने रोटी सडक अवरुद्ध हुँदा रु २५ मा यात्रुले खानुपर्ने बाध्यता आइलाग्ने गरेको यात्रु उज्ज्वल शाहीले दुखेसो गर्नुभयो । “सडक बिग्रँदा यात्रुहरुले गुमाउँछन् तर त्यसलाई अवसर पारेर सडक छेउछाउका व्यापारीहरुले कमाउँछन्,” उहाँले भन्नुभयो, “आखिर यसको मारमा यात्रुहरु नै पर्छन् । कर्णाली राजमार्गको यो दुर्दशा गाडी सञ्चालन भएदेखि भोग्दै आएको उहाँको भनाइ थियो । – शुरबहादुर सिंह, रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon