Saturday May 25, 2019 |

राजनीतिक अस्थिरताले फेरि पिरोल्ने खतरा –डा डी आर उपाध्याय

featured-news

                                  संघीय, प्रादेशिक र स्थानीय तहको निर्वाचनपछि केन्द्रमा दुईतिहाइ बहुमतको सरकार गठन हुँंदा विगतमा नौ–नौ महिनामा सरकार परिवर्तनको तमासा देखेर आजित भएका सर्वसाधारण जनताले सन्तोषको लामो सास फेरेका थिए । दुई वर्षसम्म संसदमा सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने प्रावधानले झनै ढुक्क बनाएको थियो । तर एक वर्ष बित्न नपाउँंदै जसरी सत्तारुढ दल नेकपा लगायत प्रमुख दलहरुमा बखेडा सुरु भएको छ त्यसले फेरि निराशा एवं आशंकाको कालो बादल जनमानसमा मडारिन थालेको छ ।
नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीमा असन्तुष्टि र मतभेदको पारा धेरैमाथि पुगिसकेको छ । नेकपा एकता भएको ९ महिनाभन्दा बढी भइसकेको छ । केन्द्रीय र प्रादेशिक नेतृत्व चयन गरिए पनि स्थानीय तहमा एकता हुन सकेको छैन । प्रदेशको नेतृत्वमा पनि दोहोरो जिम्मेवारीलाई लिएर अर्को समूहको आक्रोशका रुपमा असन्तुष्टि मुखर भएको छ । तल्लो तह र जनवर्गीय संगठनमा एकतालाई पूर्णता दिन चारवटा कार्यदल गठन भए तर चारैवटा कार्यदलले एकतालाई कार्य रुप दिन सकेनन् । दशैंअगाडि नै एकता पूरा गर्ने विश्वास भनिए पनि आधी फागुनमा फेरि सचिवालयले नै एकताको प्रस्ताव बनाउने भन्दै कार्यदल भंग गरिएको छ । एकता कार्यदल विघटनपछि असन्तुष्ट सदस्यले पार्टी अध्यक्षलाई समानान्तर प्रतिवेदन बुझाएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको असन्तुष्टि त झनै उग्र छ । सो पार्टीको महासमिति बैठक गत मंसिर २९ देखि पुस ८ गतेसम्म भएको थियो । बैठकमा विधान मस्यौदालाई लिएर लामो विवाद भयो । पाँंच दिनका लागि बोलाइएको महासमिति बैठक एक साताभन्दा बढी लम्बिएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय नेताहरुबीच चर्को विवाद माघ १० गतेदेखि बस्न थालेको केन्द्रीय समितिको बैठकमा छताछुल्ल भयो । उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा प्रकाशशरण महतबीच भनाभन भयो । नेपाल विद्यार्थी संघका दुई पक्षबीच गत आइतबार पार्टी केन्द्रीय कार्यालयमा झडप भयो जसमा १२ विद्यार्थी नेता घाइते भए । स्थिति नियंत्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो ।
सभापति शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले चेतावनी दिएपछि उनी अनुशासन समिति गठन गर्न हच्किएका छन् ।
मधेश केन्द्रित राजनीतिक दल राष्ट्रिय जनता पार्टी पनि आन्तरिक विवाद र नेताहरुबीचको मतभेदमा अल्झिएर शिथिल अवस्थामा छ । आगामी वैशाखमा एकता महाधिवेशन गर्ने भनिए पनि खासै तयारी देखिंदैन । मधेशवादी अनेक पार्टी एकीकृत भएर गठन भएको सो दलमा अहिलेसम्म भित्री एकता हुन नसकेको दलका दोस्रो तहका नेता बताउँंछन् ।
यसैगरी, कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको कलह सतहमा आएको छ । समान सिद्धान्तका अन्य दलसँंग एकीकरण एकीकरणको पटकपटक चर्चा भए पनि यही फागुन ११ गते पार्टीका १४ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेपछि एकातिर टाल्ने अर्कोतिर च्यातिने स्थिति देखिएको छ । राप्रपा संगठन सुदृढीकरणका लागि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा भइरहेका बेला केन्द्रीय नेताहरुले पार्टी छोड्नुले पार्टी नेतृत्वसमक्ष एक किसिमको धर्मसंकट नै खडा भएको छ ।
यसरी प्रमुख राजनीतिक दलहरुका जिम्मेवार नेताहरुबीच किचलो हुनु र शक्तिको तानातान हुनु स्वस्थ र श्वच्छ राजनीतिका लागि शुभ लक्षण होइन । संघीय लोकतन्त्रलाई स्थापित गर्ने चुनौतीका बीच देशका प्रमुख दल तथा तिनका जिम्मेवार नेताहरुबीच गहिरो समझदारी हुनुको साटो विवाद, मतभेद तथा एक नेताले अर्कोलाई लछार्नेपछार्ने प्रवृति बढ्दै गएकोले राजनीतिक अस्थिरताले फेरि मुलुकलाई पिरोल्ने खतरा उत्पन्न भएको छ ।
                                                                      –२०७५ फागुन १९

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon