Sunday October 21, 2018 |

आलेख ः अस्पतालजन्य फोहरबाट वातावरणमा दुष्प्रभाव

featured-news

 
काठमाडौँ, १३ साउन । अस्पताल र स्वास्थ्य संस्था सञ्चालन गर्दा औषधिजन्य फोहर व्यवस्थापनका लागि विसर्जन केन्द्र बनाउनुपर्ने कानूनी प्रावधान रहेको भएपनि त्यसलाई कडाइका साथ अपनाएको पाइँदैन ।
काठमाडौँ उपत्यकाका अधिकांश स्वास्थ्य क्लिनिकले त्यस्ता फोहरलाई सामान्य फोहर सरह मिल्काउने गर्दा वातावरणीय प्रदूषण भयावह बनेको मात्रै हैन विभिन्न रोगको संक्रमण फैलने जोखिम पनि बढाएको छ ।
यस्ता संस्थाबाट निस्कने फोहरमध्ये काँच, धारिला पदार्थ र सुईजन्य फोहरबाट गम्भीर चोटपटक लाग्ने खतरा रहन्छ । रगतजन्य फोहरको सफाइमा संलग्न कर्मचारीले पर्याप्त सुरक्षा उपाय अपनाएनन् भने उनीहरु एचआइभी, हेपाटाइटिस बी र सी तथा अन्य सरुवा रोगका कीटाणुको शिकार बन्नसक्ने स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी बताउनुहुन्छ ।
डा मरासिनी भन्नुहुन्छ – “दुव्र्यसनीमा लागेका व्यक्तिले पैसा नभएर जथाभावी फालिएका सुईको पुनः प्रयोग गर्दा एचआइभी, हेपाटाइटिस बी र सी सर्ने प्रबल सम्भावना रहन्छ । त्यस्ता रगतजन्य फोहर सुकेपछि धुलो बनेर वातावरणमा मिसिन्छ र त्यसले मानिसको श्वासप्रश्वासमा समस्या निम्याउँछ ।”
स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले अस्पतालजन्य फोहर व्यवस्थापन निर्देशिका, २०७१ अनुसार त्यस्ता फोहर व्यवस्थापनको निमयन र अनुगमन गर्दै आएको छ । उपत्यकाका ठूला र चलनचल्तीका अस्पतालले छुट्टै स्थानमा आवश्यक उपकरणमार्फत फोहर छुट्याएर विसर्जन गर्न शुरु गरेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सृजना श्रेष्ठ बताउनुहुन्छ ।
साना लगानीका निजी अस्पताल, क्लिनिक र औषधि पसलले भने फोहरको प्रकृतिअनुसार छुट्टाछुट्टै स्थानमा राख्ने गर्दैआएको भएपनि स्थान र जनशक्तिको अभावमा यथोचित विसर्जन गरेको देखिँदैन । “त्यस्ता क्लिनिकका लागि सम्बन्धित निकायले छुट्टै स्थानमा ‘केन्द्रीय प्रशोधन संरचना’ (सिटिएफ) को व्यवस्था गर्नुपर्ने आवश्यकता छ,” वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठ भन्नुहुन्छ ।
अस्पतालजन्य फोहर मात्र होइन म्याद गुज्रेका र बिग्रेका रसायनयुक्त औषधि पनि सामान्य फोहरमै मिसाउने गरेको स्वयं औषधि व्यवसायीहरु स्वीकार्छन् । स्थानको अभावमा जोखिमपूर्ण तरिकाले औषधि विसर्जन गर्नुपर्ने बाध्यता रहेको नेपाल औषधि व्यवसायी संघका महासचिव हरिप्रसाद विडारी बताउनुहुन्छ ।
एक बिरामीबाट तीन केजी फोहर
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपचारका क्रममा एक बिरामीबाट औसत दैनिक तीन किलोग्राम विभिन्न किसिमका अस्पतालजन्य फोहर निस्कन्छ । त्यसमा सामान्यतः दुई किलोग्राम खतरारहित र एक किलोग्राम खतरापूर्ण फोहर हुने परिषद्का अनुसन्धान अधिकृत डा मेघनाथ धिमाल बताउनुहुन्छ ।
खतरामुक्त अस्पतालजन्य फोहरमध्ये १.६ किलोग्राम नष्ट हुन्छ भने ०.४१ किलोग्राम पुनःप्रयोगमा ल्याउन सकिने खालको हुन्छ । परिषद्का अनुसार खतरापूर्ण फोहरमध्ये ०.४७ किलोग्राम संक्रमणजन्य फोहर, ०.२० किलोग्राम औषधिजन्य, ०.१८ किलोग्राम सुई, ०.१० किलोग्राम रसायन र ०.०२ किलोग्राम रेडियोधर्मी हुन्छ । तर, व्यवस्थापन महाशाखाले सन् २०१५ मा गरेको अध्ययनअनुसार भने एकजना बिरामीबाट औसतमा दैनिक १.३५ किलोग्राम अस्पतालजन्य फोहर निस्कन्छ ।
ललितपुरस्थित पाटन अस्पतालका प्रशासकीय अधिकृत लीला आचार्यका अनुसार यस अस्पतालमा वार्षिक झण्डै तीन लाख बिरामीले बहिरंग सेवा लिन्छन् र दैनिक ५०० किलोग्राम भन्दा बढी अस्पतालजन्य फोहर उत्पादन हुन्छन् ।
पाटन अस्पतालले सबै फोहर अलगअलग छुट्टयाई विसर्जन गर्ने गरेको उहाँले बताउनुभयो । त्रिवि शिक्षण अस्पतालले भने अस्पतालबाट निस्कने जैविक फोहर र सालनालबाट वायोग्यास उत्पादन गर्न समेत शुरु गरेको छ ।
अस्पताल, क्लिनिक, फार्मेसी, डेन्टल क्लिनिक, औषधि पसल, स्वास्थ्य प्रयोगशालाहरुबाट दैनिक ठूलो मात्रामा फोहर निस्कन्छ । त्यसमा त्यतिकै गलेर जानेदेखि रोग सार्न सक्ने खतरानाक फोहर पनि हुन्छ । जलाउन मिल्ने फोहरलाई आवश्यक तापक्रममा उचित प्रविधिमार्फत जलाउने, संक्रमण फैलन सक्ने फोहरलाई निर्मलीकरण गरी विसर्जन गर्ने र गल्न सक्ने फोहरलाई एकत्रित गरी गाड्नुपर्ने कानूनी प्रावधान छ ।
काठमाडौँ उपत्यकामा रहेका १३ सरकारी अस्पताल र ६० भन्दा बढी निजीस्तरमा सञ्चालित अस्पताल एवं रिसर्च सेन्टर छन् । त्यसबाहेक निजी क्लिनिक, प्रयोगशाला, पोलिक्लिनिकलगायतका सयौं स्वास्थ्य संस्था सञ्चालित छन् । उपत्यकामा दर्ता भएका र नभएका गरी झण्डै पाँच हजार औषधि पसल रहेको अनुमान छ । तर, यी संस्थामा दैनिक कति व्यक्तिले सेवा लिन्छन् र यहाँबाट दैनिक कति परिमाणमा अस्पतालजन्य फोहर निस्कन्छ भन्ने तथ्याँक कसैसँग छैन ।
नेपालमा अहिलेसम्म पनि अस्पतालजन्य फोहरको व्यवस्थापनमा सरोकारवाला निकायको खासै ध्यान पुगेको छैन । अस्पतालबाट निस्कने संक्रमणयुक्त फोहरलाई निर्मलीकरण गरेर मात्र व्यवस्थापन गर्नुपर्ने भएपनि राजधानीकै धेरै अस्पतालले त्यस्ता फोहरलाई महानगरपालिकाले उठाउने फोहरमै मिसाएर पठाइदिने गरेका छन् । यसमा मन्त्रालयको अनुगमन पनि निकै कमजोर देखिन्छ । औषधि विसर्जनसम्बन्धी कानूनको आवश्यकता टड्कारो भएको लामो समय मन्त्रालयमा काम गर्नुभएका हाल प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयमा कार्यरत सहसचिव महेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।
काठमाडौँ उपत्यकामा दैनिक झण्डै एक हजार मेट्रिक टन फोहर निस्कन्छ । त्यसमध्ये काठमाडौँ महानगरपालिकाले मात्र दैनिक ५०० मेट्रिक टन फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको छ । थुपार्नुअघि महानगरपालिकाले पनि फोहर छुट्याउने गर्दैन ।
तीन प्रतिशत औषधि खेर जान्छ
औषधिजन्य फोहर व्यवस्थापन निश्चित प्रविधिमार्फत गर्नुपर्ने हुन्छ । त्यसका लागि आवश्यक नयाँ निर्देशिका तयार गरिएको छ । अहिले त्यो स्वीकृति लिने चरणमा रहेको औषधि व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक नारायण ढकाल त्यस्ता फोहर उत्पादक कम्पनी आफैंले नष्ट गर्ने दायित्व लिनुपर्ने बताउनुहुन्छ । हाल विभागको कानूनी प्रावधानअनुसार औषधि निर्माण कम्पनीले वातावरणमा प्रभाव नपर्ने गरी ‘गुड मेनुफ्याक्चरिङ प्राक्टिस’ मार्फत औषधिजन्य फोहर विस्थापन गर्ने गरेका छन् ।
विभागले औषधिजन्य फोहर व्यवस्थापनको नियमित अनुगमन र निरीक्षण गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार हाल उपत्यकामा एलोपेथी औषधि उत्पादन गर्ने १३ र आयुर्वेद औषधि उत्पादन गर्ने १० कम्पनी छन् ।
मुलुकभर उत्पादन हुने औषधिमध्ये उपत्यकामा मात्र ४० प्रतिशत खपत हुन्छ । मुलुकभर वार्षिक ३६ देखि ४० अर्ब रुपैयाँको औषधि खपत हुन्छ । कुल औषधिमध्ये २ देखि ३ प्रतिशत औषधि विभिन्न कारण खेर जाने महानिर्देशक ढकाल बताउनुहुन्छ ।
औषधि र औषधिजन्य सामग्रीको नेपालभर वार्षिक झण्डै ७० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गर्छ ।
अस्पतालहरुले अस्पतालजन्य फोहर व्यवस्थापन निर्देशिका, २०७१ अनुसार अस्पतालबाट निस्कने फोहरलाई हरियो (कुहिने), नीलो (नकुहिने) र रातो (जोखिमयुक्त रगत लागेका) भाँडामा अनिवार्य छुट्टाएर राखी सोही अनुसार मात्र विसर्जन गर्नुपर्छ । अस्पतालबाट निस्कने फोहरमा कुहिने र नकुहिने ७५ प्रतिशत हुन्छ भने बाँकी फोहर जोखिमयुक्त हुन्छ ।
फोहर व्यवस्थापनमा न्यून बजेट
अस्पताल तथा उपचार गर्ने स्वास्थ्य संस्थाहरुले अस्पतालजन्य फोहर व्यवस्थापनमा आफ्नो कुल बजेटको पाँच प्रतिशतभन्दा कम बजेट छुट्याउने गरेका छन् । परिषद्ले गरेको पछिल्लो अध्ययनअनुसार ४० प्रतिशत स्वास्थ्य संस्थाले कुल बजेटको एकदेखि पाँच प्रतिशत र १८ प्रतिशतले कुल बजेटको एक प्रतिशत भन्दा कम बजेट फोहर व्यवस्थापनमा खर्च गर्ने गरेको पाइएको छ । दुई प्रतिशत स्वास्थ्य संस्थाहरुले भने कुल बजेटको २० प्रतिशतसम्म खर्च गर्ने गरेको दाबी गरेका छन् ।
करीब ५९ प्रतिशत अस्पताल र स्वास्थ्य संस्थाले मात्र अस्पतालजन्य फोहर व्यवस्थापन निर्देशिका अनुसार छुट्टै केन्द्रमा फोहर व्यवस्थापन गर्ने गरेको उक्त अध्ययनले देखाएको छ ।
उपत्यकाका सीमित अस्पतालले मात्र कानूनी प्रावधानअनुसार फोहर विसर्जन गर्दै आएको वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी बताउनुहुन्छ । अस्पतालजन्य फोहरले वातावरणमा पारेको दुष्प्रभावबारे विभागले पनि आफ्नै संयन्त्रमार्फत अनुगमन गरिरहेको उहाँको भनाइ छ । अस्पतालजन्य फोहरको उचित व्यवस्थापन नहुँदा स्वास्थ्य संस्था उपचार गर्ने भन्दा रोग सार्ने थलो बन्नसक्ने विज्ञहरु औँल्याउँछन् । –भीष्मराज ओझा–कल्पना पौडेल, रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon