Saturday May 25, 2019 |

लोकतन्त्रको मसिहा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले किन खुट्टा कमाइरहेको छ ? —डा डी आर उपाध्याय

featured-news

                        जनआन्दोलनका कमाण्डर लौहपुरुष गणेशमान सिंहको नेपाली कांग्रेस, राजा महेन्द्रसँंग टक्कर लिने बिश्वेश्वर प्रसाद कोइरालाको नेपाली कांग्रेस,राजसंस्थालाई जरोसहित उखेल्ने दबंग नेता गिरिजाप्रसाद कोइरालाको नेपाली कांग्रेस अहिले आएर निरीह नेपाली बन्न पुगेको टिप्पणी गर्ने कांग्रेसी कार्यकर्ताहरुको कमी छैन । संघीय संसदको निर्वाचनमा अप्रत्यासित पराजयको आघातले के नेपाली कांग्रेसजस्तो क्रान्तिकारी राजनीतिक शक्तिको मेरुदण्डलाई चोटिल बनाइदिएको हो ? लोकतन्त्रमा आस्था राख्नेहरु निराश भएर एकआपसमा यो सवाल गर्ने गर्दछन् ।
राजनीतिमा दलहरु कहिले सत्ता र कहिले प्रतिपक्षको पंक्तिमा बस्नु सामान्य प्रक्रिया हो । हाम्रो छिमेकी मुलुक भारतमा भारतीय कांग्रेसले त्यहाँं स्वतन्त्रतापछि सबैभन्दा बढी सत्तारुढ हुने अवसर पायो तर प्रमुख प्रतिपक्षी भएर पनि उसले आफ्नो भूमिका पटकपटक निर्वाह गर्नुपरेको छ । अहिले त्यहाँं प्रमुख प्रतिपक्षीकै हैसियतमा उसले आसन्न लोकसभा निर्वाचनको सामना गरिरहेको छ । तर उसको राजनीतिक सक्रियता सशक्त नै छ । यसका विपरीत हामीकहाँं नेपाली कांग्रेसले संघीय निर्वाचनमा पराजयको सामना गर्नुपरेपछि उसले सधैंका लागि आफ्नो सबै गुमाइसकेको जस्तो अनुभूति आफ्ना शुभचिन्तक–समर्थकहरुमा गराइरहेको कांग्रेसी कार्यकर्ताहरुले नै गर्नु स्वयं नेपाली कांग्रेस र देशको लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण रहेको छ ।
वामपन्थी नेतृत्वको सरकारको १२ महिनामा भ्रष्टाचार तथा अन्य गैरसंवैधानिक अनेकौं काण्डको आरोप सञ्चार माध्यमहरुले लगाइरहेका छन् । लोकतान्त्रिक मूल्यमान्यतासँंग गम्भीर खेलवाड भइरहेको विरोधमा लोकतन्त्रका हिमायतीहरुले जोडतोडका साथ आवाज उठाइरहँंदा पनि नेपाली कांग्रेस सशक्त रुपमा अगाडि नआउनुले उनीहरुमा निराशा फैलिंदै गएको छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या, सिन्डिकेट अन्त्य घोषणा, सुन काण्ड, एसिया प्यासिफिक सम्मेलन, विमस्टेक सम्मेलनमा सेना पठाउने प्रकरण, वाइडबडी विमान खरिद, पत्रकारितालाई नियन्त्रित गर्ने आदि इत्यादि अनेकौं विषयमा प्रमुख प्रतिपक्षीको सशक्त भूमिका अपरिहार्य थियो । तर नेपाली कांग्रेसले आफूसँंग सिधा सम्बन्ध रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल तनहुँं र सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्ज प्रकरणमा मात्र आक्रामक भूमिका खेलेर सरकारलाई निर्णय फिर्ता लिन बाध्य पारेको देखिन्छ अरु सन्दर्भमा उसको भूमिका निराशाजनक छ ।
नेपाली कांग्रेस सत्तामा रहँंदा तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले २०५७ को लाउडा लगायत प्रकरणमा कसरी सदन र सडकमा संघर्ष गरेको थियो, कांग्रेसका अहिलेका प्रभावशाली नेता त्यसका साक्षी छन् । कांग्रेस महामन्त्री मीनेन्द्र रिजाल भन्नुहुन्छ —चित्त नबुझ्नासाथ सडकमै ओर्लने, टायर बाल्ने, रेलिङ भत्काउने प्रवृतिका प्रतिपक्षी हामी होइनौं । जब सरकारले लोकतान्त्रिक मूल्यमान्यता र आदर्शमाथि धावा बोल्छ, तब कांग्रेसले प्रतिपक्षको धर्म छाड्दैन ।
तर प्रहरी, शान्ति सुरक्षा, भूमिसम्बन्धी आदि केही विवादित ऐन जसका बारेमा सत्तारुढा दलकै केही जिम्मेवार नेताले सदनमै आलोचना गरेका छन् त्यसको विरोध पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सशक्त रुपमा गर्न नसक्नुले उसको जुझारु छवि धूमिल भएको अनुभूति धेरैले गरिरहेका छन् । सत्ताबाट टाढिएपछि के नेपाली कांग्रेस पूर्ण रुपमा हतास बन्न पुगेको छ भन्ने गम्भीर प्रश्न लोकतन्त्र प्रेमीहरुले आपसमा गर्न थालेका छन् । कांग्रेसी जिम्मेवार नेताहरुले सरकारले अधिनायकवाद लाद्न खोजिरहेको भन्ने गरेका त छन् तर उनीहरु यसको विरोधमा कुनै सशक्त कदम चाल्न सकिरहेका छैनन् । यसलाई कुन रुपमा अथ्र्याउने हो, उनीहरुबाटै स्पष्ट गरिनु आवश्यक छ । के लोकतन्त्रको पक्षमा संघर्ष गर्ने ऊर्जा कांग्रेसी नेताहरुमा ह्रास भइसकेको हो ? अन्यथा लोकतन्त्रको मसिहा र प्रमुख प्रतिपक्षीको पगरी भिरेको नेपाली कांग्रेस आफ्नो भूमिका निर्वाह गर्न किन खुट्टा कमाइरहेको छ ? लोकतन्त्रका लागि चिन्तितहरुबीच ज्वलन्त प्रश्न खडा भएको छ ।
                                                                         –२०७५ फागुन १२

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon