Thursday December 13, 2018 |

मायाभित्रको मायालीला – डा डी आर उपाध्याय

featured-news

           माया, प्रेम, प्रीति, प्यार मानव मनका सबैभन्दा प्रिय तथा मीठा शब्द हुन् । हजारौं सुनौला सपना र कल्पना यसमा समाहित छन् । यस अनुभूतिका निम्ति उमेरको कुनै छेकबार हुँदैन । मायाको महिमा लेखेर, भनेर साध्य छैन । सृष्टिका रचयिताले नै मायाको जाल रचेर प्राणीलाई यसका वशीभूत पारेको हाम्रो शास्त्रमा उल्लेख छ । ती त हुन् दिव्य महामाया ! हामी मानिसबीचकै मायाको लीला समेत अपरम्पार छ । आफ्ना मायालु वा प्रेमी–प्रेमिकाका निम्ति ज्यान नै होमिदिने लैला–मजनूँ, शीरी–फरहाद, रोमियो–जुलियटका प्रेमकथा अमर भएका छन् । अहिलेको आधुनिक समाजमा पनि प्रेमलाई त्याग–तपस्याको उदाहरण बनाउने प्रेमी–प्रेमिका समय–समयमा प्रकट हुने गरेका छन् ।
केही दशक अघिसम्मका माया–प्रेमका घटनाहरूलाई सम्झिने हो भने त्यसमा गहिराइ र स्थायित्व देखिन्छ । ती प्रेमी–प्रेमिकाका मन–मस्तिष्कमा मायाभित्र अधिकांश प्रेम प्राप्त गर्ने स्वार्थ लुकेको हुन्थ्यो । यौन आनन्दको आदान–प्रदानका साथै एकले अर्कालाई हरेक दृष्टिकोणबाट बढीभन्दा बढी खुसी दिने चाहना ती प्रणय जोडीको हृदयमा हुन्थ्यो । त्यस समयावधिका चलचित्र र कथा–उपन्यास आदिमा यस्तै भावनालाई महत्व दिने गरिन्थ्यो । शायद त्यसकै प्रभाव स्वरूप युवक–युवतीको हृदयमा कोमल तथा उदार प्रेभ–भावना बढी उर्लिन्थ्यो । प्रेमी–प्रेमिकाबीच मिलन वा विवाह हुन नसक्ने अवस्था आउँदा पनि सहनशक्ति अपनाउँदै त्याग गरेर भए पनि एकअर्काको पारिवारिक मानमर्यादा तथा खुसी जोगाउनुलाई महत्व दिइन्थ्यो । पीडा, वेदना र आँसुको सागरमा डुबेर असफल प्रेमी–प्रेमिकाले एक्लै जीवन व्यतीत गरेका हजारौं घटना भेटिन्छन् ।
तर संसार परिवर्तनशील छ, मानव मन परिवर्तनशील छ । अहिलेको पुस्तामा अधिकाँशले त्यस्तो माया–प्रेमलाई उपहासका रूपमा लिन्छन् । उनीहरूको आफ्नै तर्क छ र त्यो तर्कलाई गलत प्रमाणित गर्न पनि गाह्रो छ । सञ्चार प्रविधिले पृथ्वीलाई साँघुरो बनाइदिएको हुँदा अब आफ्नो भावना अर्को व्यक्तिसम्म प्रवाहित गर्न अत्यन्त सजिलो भएको छ । अहिले इमेल, फेसबुक र मोबाइल फोनले गर्दा प्रेमको आदान–प्रदान केही दशक अघिसम्मको जस्तो अत्यन्त कठिन कार्य रहेन । तर एकातिर पिरती गाँस्न सजिलो भएको छ भने अर्कोतिर यसलाई चुँडाल्न र विकृत पार्न पनि सहज भएको छ । यस सम्बन्धी दुखद र मनै दुखाउने समाचारहरू दिनहुँ नै सञ्चार माध्यममा आउने गरेका छन् । यो प्राकृतिक नियम नै हो, कठिनतापूर्वक वा कडा श्रम गरेर भएको उपलब्धि अत्यन्त मूल्यवान तथा प्रिय हुन्छ भने सजिलै हात पारेको सफलताप्रति मानव मनको गहिरो लगाव हुँदैन । महिनौं–वर्षौंको प्रतीक्षा र भावनात्मक लगनबाट जवान भएको माया र आज आँखा जुध्यो वा फेसबुकमा च्याट भयो, भोलि आइ लभ यु र एक सातामा सबै हासिल हुने माया–प्रेमको तुलना गर्नै सकिंदैन । तर कुरा त्यहीं टुंगिन्छ– संसार परिवर्तनशील छ । अहिलेका युवा स्वच्छन्दता र खुलापन रूचाउँछन् । विवाहको परम्परालाई नै चुनौती दिंदै लिभिङ टुगेदरका पक्षमा वकालत सुरू भइसकेको छ । विदेशमा त यी सबै ‘उहिलेका कुरा’ भएर व्यवहारमा समेत लागू छ । यसलाई आधुनिक समाजको मागका रूपमा लिन थालिएको छ । के सही के गलतको तर्क आफ्नै ठाउँमा छ तर आर्थिक र शारीरिक स्वार्थमा सीमित माया–प्रेमले मानव जीवनमा पीडा, कुण्ठा पछुताउ मात्र पैmलाउँछ । आफ्नी प्रेमिकाबाट नयाँनयाँ ढंगले बढीभन्दा बढी यौन तुष्टि लिने तृष्णा र आफ्नो प्रेमीबाट दिनहुँ महंगा उपहार पाउने चाहनाको प्रवृत्तिले प्रेमको मूलतत्व नै नष्ट गर्नेतर्पm युवाहरू सचेत हुनु जरूरी छ । किनभने यसको दीर्घकालीन कुप्रभाव उनीहरूको अधबैंसे र वृद्धावस्थामा समेत पर्ने निश्चित छ । परेवाको माध्यमबाट पठाइने प्रेमपत्रदेखि सेन्डिङको ओकेसम्म पुगेको पिरतीको सन्देशमा समाजको वर्तमान र भविष्यलाई सुखद वा दुखद बनाउने गहन पाठ लुकेको छ । यताका दिनमा अधिकांश प्रेमी–प्रेमिकाबीच बढ्दै गएको हिंसाले सबैलाई सचेत गराउँदैछ ।
२०७५ मंसिर ९

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon