Friday October 19, 2018 |

टेलिकमको १२५ करोड घोटालामा राजभण्डारी र ठाकुरमाथि कारबाही कहिले ?

featured-news

बैशाख १७, काठमाडौं । नेपाल टेलिकमलाई धराशायी हुनबाट जोगाउन सर्घषरत इमानदार कर्मचारीहरुले प्रबन्ध निर्देशक कमिनीराज भण्डारी तथा प्रबन्धक प्रदीप ठाकुरले विभिन्न टेन्डरको सम्झौता एवं प्रोजेक्टहरुमा गरेका अनियमितताबारे सप्रमाण उजुरी दिएर सञ्चार मन्त्रालय एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटकपटक हार गुहार गर्दा पनि कतैबाट कुनै कारबाही नभएको गुनासो व्यक्त गरेका छन् ।
टेलिकम उच्च स्रोतले जानकारी दिए अनुसार फोर जी सेवाको डंका पिटेर एक सय पच्चीस करोड रुपैयाँंको घोटाला गरिएको छ । फोर जीका नाममा सरकारी संयन्त्र एवं सर्वसाधारणको आँखामा राजभण्डारी र ठाकुरले छारो हालेको टेलिकमकै कर्मचारीको दाबी छ । त्यहाँको प्राविधिकहरुका अनुसार नेपाल टेलिकमले प्रयोग गर्ने ९०० मेगाहर्ज (जीएसएम) टूजीका लागि र १८०० मेगाहर्ज (डीसीएस) टूजीका लागि तथा २१०० मेगाहर्ज (यूएमटीएस) थ्रीजीका लागि प्रयोगमा आइरहेको छ, सबै पुरानै टावर तथा उपकरण प्रयोग गरेर सेवा दिइँदै आएकोमा नयाँ टावर तथा उपकरण जडान नै नगरी १८०० मेगाहर्जकै ब्यान्डमा कार्डमात्रै परिवर्तन गरेर फोर जी सञ्चालनमा ल्याएको प्रचार प्रसार गरी एक सय पच्चीस करोड रुपैयाँ घोटाला गर्ने खेल राजभण्डारी र ठाकुरले खेलेको स्रोतले खुलासा गरेको छ । स्रोतको दाबी छ, बाहिरका सम्बन्धित सामान्य प्राविधिकलाई समेत ती टावर तथा उपकरणको अध्ययन अनुसन्धान गर्न दिएमा सबै घोटाला छर्लङ हुने र फोरजीका नाममा कति भ्रष्टाचार भयो भन्ने तथ्य खुल्नेछ ।
टेलिकम कर्मचारीहरुका अनुसार तथाकथित फोर जी जो वास्तवमा थ्री जी हो, यसका प्रयोगकर्ता एघार हजारमात्र भएतापनि राजभण्डारी एवं ठाकुरले यो संख्या बढाइचढाइ बताउने गरेका छन् । यसका लागि (देखाइएको) खर्चको तुलनामा आम्दानी अत्यन्तै न्यून छ । यो रकम उठ्नुभन्दा धेरै पहिले यसका उपकरणको ग्यारेन्टी र वारेन्टी म्याद समाप्त हुने स्रोतले खुलासा गरेको छ ।
दुई तीनजना नायव प्रबन्ध निर्देशकले यस प्रकरणमा आफूहरुको जागिर नै संकटमा पर्ने भनी हस्ताक्षर गर्न ठाडै अस्वीकार गरे तापनि राजभण्डारी तथा ठाकुरको मनोमानीले एकसय पच्चीस करोडको घोटाला गरिएको स्रोतले बताएको छ ।
विभिन्न अनियमित एवं टेलिकमलाई जानाजान रसातलमा मिलाउने कार्य राजभण्डारीले ठाकुरकै उक्साहट तथा चाँडोभन्दा चाँडो बढी भन्दा बढी रकम आर्जन गर्नका निम्ति गर्ने गरेको टेलिकमका कर्मचारी बताउँछन् । उनीहरुका अनुसार टेलिकमलाई ध्वस्त बनाएर एनसेलमा गएर उच्च सुविधा लिने चाँजोपाँचो प्रबन्धक ठाकुरले मिलाइसकेका छन् । टेलिकमको फोर जीभन्दा एनसेलको थ्री जी सेवा राम्रो रहेको टेलिकमकै कर्मचारीको भनाइ छ ।
बैशाख १३ गते आमाको मुख हेर्ने दिन पूर्वमा नेपाल टेलिकमको सेवा एक्कासि अवरुद्ध बनेको समाचार यही बैशाख १५ गते “टेलिकमको मोबाइलमा समस्या” शीर्षकमा काठमाडौंबाट प्रकाशित एक प्रमुख दैनिक अन्नपूर्ण पोस्ट्मा छापियो । सो दैनिकमा छापिएको छ–नेपाल टेलिकमको पोस्टपेड नम्बरमा अक्सर यस्तो समस्या देखिने गरेकोमा प्रिपेड र ल्यान्डलाइनसमेत बिहानदेखि अवरुद्ध बनेपछि आफन्तलाई सम्पर्क गर्न खोजेका धेरै सेवाग्राही निराश बने । सोही दैनिकमा लेखिएको छ —टेलिकमको नेटवर्कमा समस्या आइरहँंदा विकल्पमा एनसेलको सिमकार्ड ग्राहकले बोक्ने गरेका छन् । टेलिकमको नेटवर्कमा समस्या देखिने गरेकै कारण धैरै मानिसले एनसेलको प्रयोग गर्ने गरेका छन् । के यो टेलिकम डुबाउने र एनसेललाई झन माथि लाने खेल होइन ? टेलकमका इमानदार कर्मचारीको प्रश्न छ ।
पूर्व प्रबन्ध निर्देशक वुद्धि प्रसाद आचार्यको कार्यकालभन्दा पनि राजभण्डारीको कार्यकालमा टेलिकमको कोर बिजनेश खस्कँदै गएको यथार्थ त्यहाँको वास्तविक तथ्यांक अध्ययन गरिएप्रष्ट हुन्छ । यसरी राजभण्डारीको असक्षमता प्रकट भएको छ । स्रोतका अनुसार राजभण्डारीले सो पदमा नियुक्ति पाउनका लागि दाबी गरेको लक्ष्यको जम्मा दश अंकमा पाँच अंक पनि नपुग्ने निश्चित छ । यसो हुँदा राजभण्डारीले आफैं पद त्याग गर्नुपर्नेमा करोडौं रुपैया खर्च गरेर भए पनि आफू टिकिरहन प्रयास गरिरहेको कर्मचारीहरुले बताए ।
टेलिकम उच्च स्रोतले अन्य घोटालाका सम्बन्धमा यसरी खुलासा गरेको छ सीआरबीटी प्रोजेक्टमा डकुमेन्ट मिलाएर एकजनालाई मात्र पर्ने गरी टेन्डर दिइएको छ । रोमिङ बिलिङ सोलुसनको टेन्डरमा माइक्रोसफ्ट जस्तो प्रसिद्ध कम्पनी समेतलाई भाग लिन पाउनुबाट वञ्चित हुने गरी चाँजोपाँजो मिलाइयो । यसैगरी मेडिएसन एण्ड इन्टरकनेक्टमा सबै डकुमेन्ट मिलाएर कालो सूची वाला कम्पनीलाई टेन्डर दिइएको स्रोतले बतायो । यी सबैमा करोडौं रुपैयाँको खेल भएको छ । यी सबै अनियमिततामा प्रमुख हात प्रबन्धक ठाकुरकै रहेको स्रोतको दाबी छ । यी सबै टेन्डर एवं प्रोजेक्टको सूक्ष्म एवं प्राविधिक छानबिन एवं लेखा परीक्षण भएमा टेलिकम कसरी ध्वस्त पारिदैछ भन्ने कुरा छर्लङ हुने स्रोतले बताएको छ । प्रबन्धक ठाकुरले हालै नायब प्रबन्धनिर्देशकहरुको बैठकमै अख्तियारलाई टेक्निकल कुराहरुको जानकारी नभएकाले कसैले चिन्ता लिन नपर्ने र अप्ठ्यारो पर्दा आफूले अख्तियारलाई अल्मल्याउन सक्ने कुरा गरेको समेत स्रोतले खुलासा गरेको छ ।(पूरा समाचार ब्युरो)

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon