Monday May 27, 2019 |

वैकल्पिक शक्तिको मृगतृष्णामा भौतारिंदै जनता र नेताहरुको “इगो प्रब्लम”– डा डी आर उपाध्याय

featured-news

                                       केही समयता अपेक्षाकृत शान्त देखिएको राजनीतिक झीलमा नयाँ शक्ति नेपाल तथा संघीय समाजवादी फोरम नेपालबीचको एकीकरणले ठूलै छाल उत्पन्न गरेको छ । हिजो भएको पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै पार्टीका नेताहरुको जोश र उमंग हेर्न लायकको थियो । उक्त दुई पार्टी एकीकृत भई नवगठित समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठले घोषणा कार्यक्रम स्थलमै कम्युनिष्ट–कांग्रेसलाई घोक्रेठ्याक लगाउने जस्ता दाबी गर्नाले पनि दुई पार्टी एकीकरण अर्थपूर्ण रहेको दर्शाउँछ ।
                              डा.बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै नेताको एउटा राजनीतिक पार्टीलाई अर्कोमा एकीकरण गर्ने अनुभव नौलो होइन । डा.भट्टराईले २०७२ असोज ९ गते तत्कालीन माओवादी केन्द्र परित्याग गर्नुभन्दा पहिला उनले त्यहाँ जिम्मेवार पद सम्हालेकै बेला पार्टी एकीकरण हुने र टुक्रने भइरहेको थियो । उनले माओवादी केन्द्र परित्याग गरेपछि पूँजीवाद र समाजवादलाई संयोजनगरेर नयाँ विचारसहित नयाँ शक्ति नेपाल गठन गरे । केही समय नयाँ शक्ति नेपालले राजनीतिक वृत्तमा तहल्का नै मच्चायो । नागरिक समाजका केही अगुवा, पूर्व प्रशासक, पूर्व प्रहरी, लेखक र कलाकार नयाँ शक्तिमा आँधीतूफान भएर भित्रिए । तर अल्प समयमै त्यसैगरी बाहिरिए पनि । स्थानीय तहको निर्वाचनमा जताततै पराजयपछि त नयाँ शक्ति छाड्नेहरुको लर्को नै लाग्यो । डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनका विश्वासी तथा निकट रहेका नेताहरुसमेत उनलाई छाडेर अन्यत्र लागे । एक किसिमले नयाँ शक्तिको अवस्था दयनीय नै भयो । दस वर्षे माओवादी सशस्त्र द्वन्द्वका बेला पनि जनमानसमा सबैभन्दा आक्रामक तथा आकर्षक र थिंक ट्यांकको छवि बनाएका डा.बाबुराम भट्टराईको स्थिति दिनानुदिन खस्किंदै गयो । गत संसदीय निर्वाचनमा नयाँ शक्ति नेपाल केवल एक सिटमा सीमित रह्यो । डा.भट्टराई आफ्नै गृह जिल्ला गोरखाबाट कांग्रेससँगको सहकार्यमा चुनाव जितेपछि उनको राजनीतिक जहाज पूरै डुबेन । डा.भट्टराईले यसैबीच मधेश र मधेशीहरुप्रति जे–जसरी सहानुभूति व्यक्त गरे त्यसले उनको फरक चिन्तनवाला व्यक्तित्वलाई फेरि उजागर ग¥यो । यद्यपि उनको यो चिन्तन केहीलाई पच्न सकेको छैन भने केहीमा नयाँं आशा जगाएको छ । समाजवादी पार्टीले घोषणासभामै हालका लागि नौलो कुरा अगाडि सारेको छ । उसले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझाव अनुसार संविधान संशोधन गरेर १०+१ प्रदेश बनाउनुपर्ने बताएको छ । यो प्रसंग नवगठित पार्टीका लागि निल्नु नओकल्नुको जोखिम पनि निम्त्याउन सक्छ र राजनीतिक कार्यकर्ता तथा सर्वसाधारणमा ऊप्रति आकर्षण बढाउन पनि सक्छ ।
नेकपा नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री पद सम्हालिरहेका उपेन्द्र यादवसहित संघीय समाजवादी फोरमका मन्त्री केन्द्र सरकारबाट बाहिरिने सम्भावना बढेको उनी निकट नेताहरुले घोषणासभापछि बताउन थालेका छन् । मधेशवादी राजनीति थाल्नुभन्दा पूर्व यादव माओवादी संगठनमै थिए । यस कारण डा. भट्टराईसँगको उनको निकटता नौलो होइन र सजिलै यो एकीकरणमा कुनै असमझदारी आउला जस्तो पनि लाग्दैन ।

उपेन्द्र यादवले राजपासँगको एकीकरण प्रसंगलाई फेरि अघि बढाउने निश्चित देखिन्छ । नयाँ शक्तिसँग एकीकरण हुनुभन्दा निकै पहिलेदेखि राजपा र संघीय समाजवादी फोरमबीच एकीकरणको कुरा केवल पत्राचारमै सीमित रहेको थियो । डा.भट्टराईसँगै उभिएपछि अब भने राजपासँग एकीकरणको प्रसंगमा उपेन्द्र यादव निकै सुविधाजनक स्थितिमा रहनेछन् । नयाँ शक्तिसँगको एकीकरण घोषणासभामा नेताहरुले नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको जुन दाबी गरे त्यो राजपासँगको एकतापछि नै सार्थक रुप लिन सक्छ । अझ यो भन्दा अगाडि पनि सोच्न नसकिने होइन तर विगतझैं नेताहरुबीचको ‘इगो प्रब्लम’ले त्यसमा फेरि पनि तगारो लगाउँदछ । वैकल्पिक शक्तिको मृगतृष्णामा सर्वसाधारण जनता पटकपटक भौंतारिनुपर्ने क्रम अब सही अर्थमै रोकिनुपर्छ ।

                                                                                      – २०७६ वैशाख २४

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon