Wednesday March 20, 2019 |

हात्ती आयो ...हात्ती आयो फुस्सा नहोस् नेपाल भ्रमण वर्ष २०२० —डा डी आर उपाध्याय

featured-news

 नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने तयारी जोडतोडका साथ चलिरहेको छ । यसका लागि अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन पनि सम्बन्धित निकाय लागि परेका छन् । कतारी राजदूत युसुफ बिन अल हैलले हालै कतारको राष्ट्रिय दिवसका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन कतारको समर्थन र सहयोग रहने बताउनुभएको छ । यसैगरी अन्य राष्ट्रबाट पनि यस किसिमको समर्थन र सहयोग प्राप्त हुने निश्चित नै छ । यस्ता सहयोग र समर्थन नेपाल भ्रमण २०११ मा समेत प्राप्त नभएको होइन । नेपाल भ्रमण वर्ष २०११ को शुभारम्भ दशरथ रंगशालामा भव्य समारोह आयोजना गरी भएको थियो । तत्कालीन राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्नुभएको समारोहमा तत्कालीन उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, मन्त्रीहरु तथा विभिन्न राजनीतिक दलका नेताहरुका साथै संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका महासचिवसमेतको उपस्थिति थियो ।
नेपाल भ्रमण वर्ष २०११ म लाखौं पर्यटकले भ्रमण गर्ने अपेक्षा गरिएको थियो । यसका लागि व्यापक प्रचारप्रसार पनि नगरिएको होइन । तर विदेशी पर्यटकलाई आकर्षित गर्न विदेशमा गर्नुपर्ने प्रचारप्रसारका अपेक्षा स्वदेशमै प्रचारप्रसार गरिएको विडम्बना देखियो । परिणामस्वरुप नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरुको संख्या आशा गरिएअनुरुप वृद्धि हुन सकेन ।
नेपाल भ्रमण वर्ष २०२० आरम्भ हुनुपूर्व नै भ्रमण वर्षमा प्रतिकूल प्रभाव पार्ने निर्णय गरिएको प्रकाशमा आएको छ । सबैभन्दा बढी विदेशी पर्यटक छिमेकी मित्रराष्ट्र भारतबाट आउने गरेका छन् । पौराणिककालदेखिको नेपाल–भारत सांस्कृतिक एवं धार्मिक समानता तथा खुला सीमानाका कारण भारतीय पर्यटकहरुको संख्या प्रत्येक वर्ष बढ्ने गरेको छ । यस संख्यालाई जति बढाउन सक्यो देशलाई त्यति नै आर्थिक लाभ निरन्तर हुन्छ । तर अहिले भारतीय एक सय रुपैयाँंबाहेकका नोटहरुमाथि प्रतिबन्ध लगाइएको समाचारले भारतीय पर्यटकहरुलाई नेपाल भ्रमण गर्नबाट हतोत्साहित पार्ने वातावरण बनेको छ । सय वा दुई सय थान नोट खल्तीमा राखेर नेपाल भित्रिने भारतीय पर्यटकले एक हजार वा दुई हजार नोटको बिटा खल्ती वा ब्यागमा राखेर ल्याउनुपर्दा अनेकौं जोखिम मोल्नुपर्ने हुन्छ । यसलाई झमेला मानेर भारतीय पर्यटकहरुले नेपाल भ्रमण गर्ने आफ्नो चाहनालाई पाखा लगाउन पनि सक्छन् । अर्कोतिर भारतीय नोटको ढुवानी खर्चको बोझ सरकारमाथि पनि अवश्य नै बढ्नेछ । एउटा विमानबाट ल्याउने नोट दसवटा विमानबाट ल्याउनुपर्ने हुन्छ । नेपाल पर्यटन वर्ष २०२० शुभारम्भ हुनुभन्दा करिब एक वर्ष पूर्व गरिएको यस निर्णयबारे सरकारले समयमै पुनर्विचार गर्नु आवश्यक छ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सत्तारुढ रहेको सरकारले हरेक कार्य संगठनात्मक रुपमा गर्ने अपेक्षा सर्वसाधारणले गरेका थिए । सुदृढ संगनको बलमा नै नेकपा एमाले र नेकपा माओवादीले गत आम निर्वाचनमा बहुमत ल्याएको सर्वविदितै छ । यस्ता राजनीतिक दलको नेतृत्मा सत्तारुढ सरकारका अनेकौं मन्त्रालय, विभाग र सरकारी स्वामित्वका संस्थानमा व्यक्तिवादी निर्णयबाट कार्य भइरहेको पटकपटक प्रकाशमा आउनु निराशाजनक कुरा हो । नेपाल भ्रमण वर्ष २०२०मा नेपाल आउने पर्यटकहरुको ठूलो संख्याका लागि प्रभावकारी सञ्चारमाध्यम पहिलो आवश्यकता हुन्छ । तर नेपाल दूरसञ्चार प्राधिकरण आफैं विभिन्न समस्यामा जेलिएको छ । सत्तारुढ दलकै जिम्मेवार वरिष्ठ नेताहरुले सो प्राधिकरणमा अर्बौं रुपैयाँं भ्रष्टाचारभइरहेको आरोप लगाउने गरेका छन् । तर त्यस्ता आरोपउपर कुनै सुनुवाइ गरिएको छैन । र दूरसञ्चार प्राधिकरण व्यक्तिवादी निर्णयबाट सञचालन भइरहेको त्यहींकै उच्च पदाधिकारीहरुले गुनासो गर्ने गरेका छन् । दूरसञ्चारमा मात्र नभई हरेक क्षेत्रमा यस्ता प्रवृतिलाई हतोत्साहित पार्नु आजको आवश्यकता हो । अन्यता नेपाल भ्रमण वर्ष पनि यसबाट प्रभावित हुनेछ । यसो गरिएन भने नेपाल भ्रमण वर्ष २०२० पनि हात्ती आयो....हात्ती आयो फुस्सा हुने सम्भावनालाई नकार्न सकिंदैन ।
—२०७५ पुस १०

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon