Tuesday October 15, 2019 |

काङ्ग्रेसमा सैद्धान्तिक विचलन आएको छः अध्यक्ष थापा

featured-news

भक्तपुर, ११ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काङ्ग्रेसले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाउनुभएको छ ।

राप्रपा भक्तपुर जिल्ला समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको एजेण्डा छाडेर काङ्ग्रेसले प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाउनुभएको हो ।

अध्यक्ष थापाले भन्नुभयो, “काङ्ग्रेसले प्रचण्डको भरिया भएर उसको एजेण्डा बोकेर हिँडेकाले देशमा अहिले योजनाबद्ध रुपमा प्राचिन र मौलिक धर्म संस्कृतिमाथि आक्रमण भइरहेको छ ।” नेपालको धर्म र संस्कृति त्यागेर विदेशी धर्म स्थापना गर्ने दुस्प्रयास भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले ठूला दलका केही वरिष्ठ नेताहरु नै विदेशीको प्रभावमा पर्दा नेपालको धर्म, संस्कृतिमा सङ्कट आएको बताउनुभयो । अध्यक्ष थापाले नेपालको धर्म संस्कृतिमा भइरहेको अतिक्रमणलाई रोक्न नसके यहाँको पहिचान र अस्तित्व गुम्ने उल्लेख गर्दै राप्रपाले हिन्दू राष्ट्रका लागि आन्दोलन र अभियान सञ्चालन गरेको तथा यो कुनै पार्टी वा धर्म विरुद्ध नभई हिन्दू धर्ममाथि बढ्दो बाह्य आक्रमण रोक्न चालेको अभियान भएको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “माओवादीले गलत बिरुवा रोप्यो, धतुरो रोपेर आँप फल्दैन, अहिले नेकपा मात्रै होइन काङ्ग्रेसमा पनि सैद्धान्तिक विचलन आएको छ ।”

राप्रपा भक्तपुर जिल्ला अध्यक्ष माधव खत्रीले हिन्दू राज्यको अभियानमा सहभागी हुन कार्यक्रममा विभिन्न दलहरु परित्याग गरी राप्रपा प्रवेश गर्नेलाई टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon