Thursday December 13, 2018 |

धर्मको आडमा अधार्मिक गतिविधि गर्नेहरू सिंगो मानवताकै शत्रु – डा डी आर उपाध्याय

featured-news

विगत केही दशकदेखि नेपालमा जबर्जस्ती र विभिन्न लोभलालचमा पारेर फकाइ फुलाइ धर्म परिवर्तन गराउने क्रम तीव्र रूपमा बढेको छ । यसको मारमा हिन्दू धर्म नै बढी परेको छ । केही वर्ष अघिसम्म विश्वको एकमात्र हिन्दू राष्ट्र रहेको नेपालमा अहिलेकै अनुपातमा धर्म परिवर्तन भइरह्यो भने केही दशकपछि हिन्दू धर्मावलम्बी अल्पसंख्यकमा पर्ने चिन्ता व्यक्त गर्न थालिएको छ । सन्तोषजनक कुरा के छ भने यताका दिनमा यस समस्यातर्पm हिन्दू धर्मका संरक्षकहरूका साथै ढिलै भए पनि सरकारको समेत सचेतता बढेको छ । 
यही कात्तिक २५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालमा जबर्जस्ती धर्म परिवर्तन गराउने घटना भइरहेकामा दुख व्यक्त गर्नुभयो । उहाँले धर्म, संस्कृति र राजनीतिको लक्ष्य न्याय, समानता, प्रगति, सद्भाव प्राणी जातिको रक्षा भएकाले विविधतामा एकता भएको नेपालमा रहनुमा गर्वित हुनुपर्ने बताउनुभयो । काभ्रेपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती भएकोमा जोड दिनुभयो ।
मन्त्री बाँस्कोटाले धर्म परिवर्तनका घटनाप्रति दुख व्यक्त गरेको एक साता पनि बित्न नपाउँदै गृह मन्त्रालयले धर्म परिवर्तन गराउनेमाथि कडा कारबाही गरेका विवरण सार्वजनिक भए । भिसा दुरूपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई गृह मन्त्रालयले पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको छ । मारी इकुरा र यासुको ओबाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाई धर्म परिवर्तन गराउँदै आएका थिए । धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई गृहसचिव प्रेम कुमार राईको निर्णयबाट कात्तिक २९ गते देश निष्कासन गरिएको हो । उनीहरू पर्यटक भिसामा बस्दै आएका थिए । उनीहरूको भिसाको बाँकी अवधि रद्दसमेत गरिएको छ । गृह मन्त्रालयले इसाई धर्म प्रचारकै क्रममा पक्राउ परेकी अस्ट्रेलियाकी युवती क्याटिया ग्रानलाई समेत निष्कासन गर्ने तयारी गरेको सार्वजनिक हुनुले हिन्दू धर्मका शुभचिन्तकहरूलाई थोरै भए पनि राहतको सास प्रदान गरेको छ । हिन्दू धर्मबाट अन्य धर्मतर्पm पलायन गराउनेहरूले हिन्दू धर्मावलम्बी बीचको जातीय भेदभाव र कानुन विपरीत भए पनि व्यवहारमा अझै कायम रहेको छुवाछूतजस्ता कुरीतिलाई बलियो हतियारका रूपमा प्रयोग गर्ने गर्दछन् । यस्ता कुरीतिले हिन्दू धर्ममाथि अन्य धर्मको अतिक्रमण तीव्र पारेका हुन् । अतः यस्ता कुरीति र अन्धविश्वासलाई जरैबाट उखेल्न समाजका अगुवाहरूले सक्रिय भूमिका खेल्नुपर्छ । कानुनले यसमा साथ दिइरहेको अवस्थामा व्यवहारमा लागू गर्न झनै सजिलो छ । यसतर्पm सबैले गम्भीरतापूर्वक सोच्नुपर्छ । हिन्दू धर्मबाट केही जातिको पलायन सिंगो हिन्दू धर्मकै लागि घातक हो भन्ने कुरा सबैले बुझ्नुपर्छ ।
वृहत् नेपाली शब्दकोषमा धर्मलाई व्याख्या गरिए अनुसार— व्यक्ति वा वस्तुमा सधैं रहिरने गुण वा मूल वृत्ति, प्रकृति, स्वभाव, स्वाभाविक गुण, सहज वृत्ति । स्वर्ग प्राप्त गर्न सकिने लोक विश्वास भएको पुण्य कार्य । कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकको हित वा व्यवस्थाका लागि अंगालिने कर्म वा कर्तव्य । ईश्वर अथवा सद्गतिको प्राप्तिको लागि गरिने शास्त्रविहित कर्म । कुनै महापुरूषले चलाएको मत सम्प्रदाय, आदि रहेको छ ।
कुनै पनि धर्मले जबर्जस्ती वा हिंसालाई प्रोत्साहन दिंदैन तर अनेकौं तथाकथित स्वघोषित धर्मगुरूहरूले आआफ्नो सर्वोच्चता र विद्वता कायम राख्नका लागि आआफ्नो धर्म एवं सम्प्रदायको विस्तार गर्न जबर्जस्ती, आर्थिक प्रलोभन तथा हिंसालाई प्रयोग गर्ने गरेका छन् । सम्बन्धित धर्मका वास्तविक विश्लेषक तथा विद्वानहरूले यस सम्बन्धमा खुलस्त रूपमै बोल्नु र लेख्नुपर्छ । यस्ता कृत्यहरू पूर्णरूपमा अधार्मिक मात्र होइन धर्ममाथिका प्रहार हुन् भन्नेतर्पm सबै सोझा–सिधा धर्मावलम्बीलाई सचेत गराउनुपर्छ । धर्मको आड लिएर गरिने अधार्मिक गतिविधि बन्द गराउनुपर्छ । आर्थिक प्रलोभनमा पार्नेहरू माथि जसरी सरकारले कारबाही तीव्र पारेको छ र देश निष्कासन गरेको छ त्यो अवश्य नै प्रशंसनीय कदम हो । यसलाई अझ तीव्र र कडा पार्नेतर्पm अवश्य नै सरकारको ध्यानाकर्षण हुनेछ । धर्मको आडमा अधार्मिक गतिविधिमा संलिप्तहरूलाई सिंगो मानवताकै शत्रुका रूपमा लिनुपर्छ ।
२०७५ मंसिर ३

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon