Sunday November 18, 2018 |

पत्रपत्रिकाबाट— टेलिकम कामिनीको दुहुनो गाई

featured-news

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरले टेलिकमलाई दुहुनो गाई बनाएका छन् । प्रबन्ध निर्देशक राजभण्डारी र प्रबन्धक ठाकुरले फोरजी सेवा सञ्चालन र अन्य अनेकौं प्रोजेक्ट तथा टेन्डरको बहानामा टेलिकममा अनियमितता गरिरहेको खबर छ । थ्रीजीका उपकरण तथा पुरानै टावर प्रयोग गरेर फोरजी सेवा सञ्चालन गरेको प्रचार प्रसार गरेर एक अर्ब पच्चीस करोड रुपैयाँ खर्च गरिएको छ । यस खर्चको टेक्निकल अडिट गरिएमा एक अर्बभन्दा बढीको भ्रष्टाचार गरिएको स्वतः स्पष्ट हुने विज्ञहरु बताउँंछन् । फोरजीका लागि हुवावे टेक्नोलोजीजसँग करिब एक सय पच्चीस करोड रुपैयाँको सामग्री खरिद गरिएको थियो । यसमध्ये प्रबन्ध निर्देशक राजभण्डारीको कार्यकालमा मात्र ५७ करोड रुपैयाँ खर्च गरिएको छ । टेलिकमको फोर जीको थ्रीजीको स्पीड जति पनि छैन ।
यही साउन ५ गते टेलिकमको फोरजीको स्पीड जाँच गर्दा राजधानीको सिंहदरबार, थापाथली, माइतीघर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, नयाँ बानेश्वर, बबरमहल, कोटेश्वरमध्ये टेलिकमको तालिम केन्द्र बबरमहल, सिंहदरबार र टेलिकमको केन्द्रीय कार्यालय बाहेक कतै पनि थ्रीजीको स्पीडसम्म पुगेन । टेलिकमको वेबसाइटमा फोर जीका लागि ३० एमबीपीएसभन्दा बढी स्पीड रहेको भनी सेवाग्राही समक्ष प्रचारप्रसार गरिएको छ तर १० एमबीपीएससम्मको स्पीड उपलब्ध हुँदैन । यस्तो खुल्ला भ्रष्टाचार पनि सरकारी संयन्त्रको दृष्टिमा अझै परेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणको यस सम्बन्धमा अझै ध्यानाकर्षण हुन सकेको छैन । टेलिकमको प्रबन्ध निर्देशक राजभण्डारीले सो पदमा नियुक्ति पाउनका निम्ति विभिन्न शीर्षक अन्तर्गत कम्पनीको कारोबार वृद्धि गर्ने कबोल गरेकी थिइन् र त्यसै आधारमा उनलाई नियुक्ति गरियो तर अहिले ती सबै शीर्षकमा उनको कबोल अनुसार आधा पनि प्रगति भएको छैन । वायरलाइन (पीएसटीएन) अर्थात् ल्यान्डलाइनमा पहिलेको लक्ष्य ३० हजार लाइनलाई घटाएर राजभण्डारीले २८ हजारमा झारिन् तर त्यो लक्ष्य पुग्न त कहाँकहाँ ७ हजार लाइन त फिर्ता भइसकेको छ । जीएसएम पोस्टपेड ८० हजार लाइनको लक्ष्य राखेकोमा ८४५ मात्र पुगेको, जीएसएम प्रिपेडतर्पm २३ लाख लक्ष्य राखेकोमा २२ लाख बाँडिए पनि एक्टिभ सिमको संख्या १३ लाख घटेको तथ्यांक जानकारीमा आएको छ । नेपाल टेलिकमले एक्टिभ सब्स्क्राइबर एक करोड ५२ लाख रहेको बताउने गरेको छ तर नेपाल दूरसञ्चार प्राधिकरणले यो संख्या ७६ लाख मात्र रहेको बताउने गरेको छ । टेलिकम जस्तो सरकारी स्वामित्वको कम्पनीले के यस्तो झुटो विवरण दिन मिल्छ ? र एक्टिभ सब्स्क्राइबर किन घट्दै गइरहेका छन् ? प्रश्न गम्भीर बनेको छ ।


राजभण्डारीले प्रबन्ध निर्देशक पद सम्हालेपछि पीएसटीएनतर्पmको आम्दानी नौ प्रतिशत घटेको छ, सीडीएमएतर्पm २१ प्रतिशत, वाइमेक्सको आम्दानी ३७ प्रतिशत घटेको टेलिकमकै एक वरिष्ठ कर्मचारीले जानकारी दिए । त्यस्तै नौ महिनाको प्रतिवेदनमा अन्तर्राष्ट्रिय आगमन कलमा टेलिकमलाई करिब चार अर्ब रुपैयाँ घाटा हुने प्रष्ट देखिन्छ । वार्षिक लक्ष्य १३ अर्ब ५२ करोड रहेकोमा नौ महिनामा जम्मा ७ अर्ब ६ करोड मात्र प्रगति भएको छ । राजभण्डारीले पछिल्लो समय आफ्नो असक्षमतालाई ढाकछोप गर्न पहिले कबोल गरेको लक्ष्य नै परिवर्तन गराउने चाँजोपाँचो मिलाइरहेको थाहा भएको छ । उता, निजी सञ्चार कम्पनी एनसेलको चार वर्षदेखि अन्तर्राष्ट्रिय कलमा सधैं लक्ष्य वृद्धि भएको छ । यसरी राजभण्डारीको कार्यकालमा टेलिकमको वास्तविक आम्दानी घराशायी हुँदै गएको छ र यो उनले नियुक्ति पाउन गरेको कबोलको विपरीतको अवस्था भएको बताइन्छ । पछिल्लो समय बैकिङमा व्यापक तरलतापछि टेलिकमको बैंक मौज्दात रकमको व्याज ४.५ प्रतिशतबाट वृद्धि भएर १४ प्रतिशतसम्म पुग्दा टेलिकमको आम्दानी बढेको जस्तो देखिन्छ तर के यो टेलिकमको व्यापारबाट बढेको आम्दानी नभएको प्रस्ट छ । राजभण्डारीले यसलाई कम्पनीको कारोबारबाट भएको आम्दानीका रुपमा प्रस्तुत गरेर सबैलाई भ्रमित पार्न खोजेकी छन् ।
दीर्घकालीन रुपमै बलियो टेवा दिन सक्षम नेपाल टेलिकमलाई धराशायी बनाउने हरसम्भव प्रयास राजभण्डारी र ठाकुरले गरिरहेको टेलिकमभरि चर्चा छ । सामान्य नियम विपरीत प्रबन्धक ठाकुर १० वर्षभन्दा बढी समयसम्म प्रोक्योरमेन्ट विभागको प्रमुख भएर कार्यरत हुँदा अनेकौं भ्रष्टाचार गरी स्वदेश तथा विदेशमा ठूलो धनसम्पत्ति जम्मा पारेको कर्मचारीहरुको आरोप छ । अहिले राजभण्डारी र ठाकुरले एनसेलबाट के–कति आर्थिक लाभ लिएर यो सबै काम गरिरहेको भन्दै छानबिनको लागि माग गरिएको छ । — २०७४ साउन ११ गते बुधबार काठमाडौंबाट प्रकाशित बुधबार साप्ताहिकबाट साभार

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon