Saturday August 24, 2019 |

एकिकृत शिविरमा पच्चीस सयले सेवा लिए

featured-news


बनियानी, २६ माघ । झापा अर्जुनधारा–३ का युवराज दुलाल लामो समयदेखि आँखामा समस्या भए पनि उपचारका लागि कतै जान सक्नुभएको थिएन । अर्जुनधारा नगरपालिकाले गाउँघरमै एकीकृत घुम्ती शिविर आयोजना गरेपछि उहाँले आँखा जचाउनाका साथै त्यही मौकामा छोराको फोटोसहितको मतदाता नामावलीमा नाम पनि दर्ता गराउनुभयो ।

उहाँ मात्रै होइन, अर्जुनधारा–३ का पुष्पलाल बाँस्कोटाले पनि आँखाको उपचारसँगै नातिनीको नागरिकता बनाउन पाएकामा दङ्ग हुनुभयो । विभिन्न कारणले उपचार गराउन नपाएका र सरकारी सेवाबाट बञ्चित बृद्ध–बृद्धाले नगरपालिकाले गाउँघरमै एकीकृत शिविर आयोजना गरेपछि स्थानीय सरकारको प्रत्याभूति भएकोे प्रतिक्रिया दिए ।

यस्तो शिविरबाट नागरिकलाई जिल्ला धाउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको स्थानीय शिक्षक जयप्रकाश भण्डारीले बताउनुभयो । नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको संयोजनमा शुक्रबार सञ्चालित घुम्ती शिविरबाट उक्त नगरपालिकाका वडा नं १, २ र ३ का दुई हजार ५००ले सेवा लिएका थिए ।

शिविरमा एक दर्जनभन्दा बढी विषयगत कार्यालयले नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली सङ्कलन, आँखा तथा स्वास्थ्य परीक्षण, माटो परीक्षण, पशुसेवालगायत सेवा प्रदान गरेका थिए । नगरप्रमुख हरिकुमार राना, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, उपप्रमुख कमला खतिवडा र वडा नं ३ वडाध्यक्ष जीवकुमार भण्डारीले संयुक्तरूपमा नागरिकता वितरण गरेर शिविर उद्घाटन गर्नुभएको थियो ।

हक्की प्रतियोगिता

झापाको भद्रपुरस्थित मेची रङ्गशालामा आजदेखि ‘प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की’ प्रतियोगिता शुरु हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्को संयोजनमा नेपाल हक्की सङ्घले मेची अञ्चलमै पहिलो पटक उक्त प्रतियोगिता गर्न लागेको हो । यसअघि विराटनगरमा विसं २०४५ मा पहिलो पटक राष्ट्रियस्तरको हक्की प्रतियोगिता आयोजना गरिएको थियो ।

ओझेलमा परेको हक्की खेललाई प्रोत्साहन गर्नाका साथै प्रदेशस्तरबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको नेपाल हक्की सङ्घका सचिव रञ्जन थापाले बताउनुभयो । आज शनिवार गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यो प्रतियोगितामा कर्णाली प्रदेशबाहेक छ प्रदेश र नेपाल आर्मीको एउटा विभागीय टोलीले सहभागिता जनाउने प्रतियोगिताका संयोजकसमेत रहनुभएका सचिव थापाले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न रु २० लाख खर्च हुने आयोजकको अनुमान छ ।

दुर्घटना एकको मृत्यु

बिर्तामोड नगरपालिका–९ स्थित नरियाबारीमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड–१० का १८ वर्षीय मङ्गल चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार नरियाबारीबाट हल्दिबारीतर्फ जाने क्रममा मे९प ७७४१ नंको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको बेलको रुखमा ठोक्किँदा चौधरीको मृत्यु भएको थियो ।
दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार बिर्तामोड–२ का १८ वर्षीय विशाल दास र २० वर्षीय नवीन कटुवालसमेत सख्त घाइते भएका छन् । घाइते दुवैको बिर्तामोड बीएण्डसी अस्पतालमा उपचार भइरहेको र मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ
भद्रपुर नगरपालिका–५ स्थित नयाँ बजारबाट प्रहरीले शुक्रबार लागुऔषध ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । भद्रपुर वडाप्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बजारमा हिँडिरहेका भद्रपुर–७ का १९ वर्षीय सन्देश यादवको शरिर जाँच गर्दा उनको साथबाट लागुऔषध फेनारागन, लुपिजेसिक, डाइजोपाम १०–१० एम्पुल र नाइट्रोजन ४८ ट्याब्लेट बरामद गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । – सन्तोष शर्मा, रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon