Thursday December 13, 2018 |

प्रलयंकारी रूप लिंदै बलात्कारको तान्डव – डा डी आर उपाध्याय

featured-news

                  बलात्कारको तान्डवले प्रलयंकारी रूप लिन थालेपछि सिंगो समाज स्तब्ध भएको छ । अब त यसलाई ‘सतीले सरापेको देश’ उखानको अर्को पाटोका रूपमा लिन थालिएको छ । समाज सुधारको क्षेत्रमा संलग्न गैरसरकारी संस्थाहरू मात्र होइन सबैको जिउधनको सुरक्षाको जिम्मेवारी बोकेको राज्य संयन्त्रले पनि बलात्कारका घटनामा अंकुशी लगाउन सकेका छैनन् ।
राजधानी उपत्यकाभित्रैको जिल्ला भक्तपुरमा प्रत्येक महिना दुईजना बलात्कृत हुने गरेको तथ्य सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक जिल्ला शाखाले हालै आयोजना गरेको नेपाल मानवाधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो । सन् २०१८ जनवरीदेखि नोभेम्बर २७ तारिखसम्म अर्थात विगत ११ महिनामा भक्तपुरमा २६ जना बलात्कृत भएको सो कार्यक्रममा बताइयो ।
लामो समयसम्म ठूलो बहस र सुरक्षा संयन्त्रको आलोचनाको कारण बनेको निर्मला पन्तको बलात्कारपछि हत्या भएयता कञ्चनपुरमै ३० भन्दा बढी बलात्कार भएको महिलाका पक्षमा कार्यरत संघसंस्थाले बताएका छन् । उनीहरूका अनुसार आर्थिक क्षेत्र र सम्पत्तिमा महिलाको पहुँच नभएसम्म महिलामाथि बलात्कार तथा हिंसामा बढोत्तरी हुनेछन् ।
प्रदेश नम्बर २ मा बढ्दै गएको बलात्कारको तथ्यांक अझ भयावह छ । महोत्तरीमा ९ महिनामा ६ बालिका र २ महिला, सप्तरीमा सोही अवधिमा २५ बालिका र ९ महिला, सिरहामा १६ बालिका र ८ महिला तथा ९ महिनामै बारामा ४ बालिका र २ महिला बलात्कृत भएका छन् ।
बलात्कारीहरूको मनमा समाजको वा कानुनको कुनै डर नभएको प्रतीति गराउने किसिमबाट बलात्कार गरिनु झनै चिन्ताको विषय हो । पर्साको पछपहरमाई गाउँपालिका १ मिर्जापुर गाउँकी २५ वर्षीया एक महिलालाई गाउँकै ३२ वर्षीय युवक राजकुमार यादवले मंसिर ४ गते साँझ घरमै पसी बलात्कार गरेको सार्वजनिक भयो । यस्तै गत कात्तिक ५ गते पर्साकै वीरगन्ज महानगरपालिका १८ सौराहा टोलकी ४० वर्षीया एक दलित महिला शौच गर्न खेतमा गएको बेला गाउँकै चार युवाले सामूहिक बलात्कार गरेको घटना झनै पाशविक छ ।
प्रदेश नम्बर २ मा बढ्दै गएको मादक पदार्थ सेवन, घरमा शौचालय भए पनि खुल्ला चौरमा शौच गर्न जाने चलन रहनु, एक्लै घाँसपात गर्न जाने तथा विद्यालय एवं मेला हेर्न जानु, जनचेतनाको अभाव, फितलो कानुन कार्यान्वयन, कयौं स्थानमा प्रहरी प्रशासनले पीडितप्रति सहानुभूति नराख्नु जस्ता कारणले बलात्कारको घटना बढ्दै गएको सामाजिक अभियन्ताहरूको भनाइ छ । यस सन्दर्भमा कपिलवस्तुको वाणगंगा नगरपालिका ६ बैदौलीकी फहिया चौधरीको पीडातर्पm सबैको ध्यानाकर्षण हुनुपर्छ । उनले आँखाबाट आँसु झार्दै सञ्चारकर्मी समक्ष दुखेसो पोखिन्– “मेरी छोरीको अस्मिता लुटेर हत्या गरियो । छोरीको हत्यारा अहिलेसम्म पक्राउ नपर्दा दुख लागेको छ ।” उनकी छोरी १४ वर्षीया शिवरानीको वि.सं. २०६८ असोज १४ गते घर नजिकै आफ्नै समुदायको सांस्कृतिक कार्यक्रम हेर्न जाँदा भोलिपल्ट बिहान बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको नहरमा शव भेटिएको थियो । फहियालाई मानसिक रोगले समेत सताउने गरेको छिमेकीले बताए । उनी र शिवरानीका हजुरबुबा कुल्चा थारूले न्याय पाउने आश हराएको दुखेसो पोख्नु अत्यन्तै लज्जाजनक हो, सुशासन र सभ्य सुसंस्कृत समाज निर्माणको दाबी गर्नेहरूका लागि । आधा आकाशभन्दा बढी ढाकेको जनसंख्या महिलालाई श्वच्छन्दता, स्वतन्त्रता र सुरक्षाको पूर्ण अनुभूति नगराएसम्म समाजमा वास्तविक सुख र सन्तोष प्रवाह हुनै सक्दैन । यसतर्पm गम्भीरतापूर्वक मनन–अध्ययन गरी आवश्यक कदम चलाउनु आजको माग हो । यसैबीच यो आलेख पूरा गर्दागर्दै निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग गर्दै राजधानीमा पोस्टर टाँंस्ने १२ युवालाई प्रहरीले पक्राउ गरेको समाचारले बलात्कारको विरोधमा आन्दोलनरत रहेकाहरुलाई निराश बनाएको छ भने अर्कोतिर महिला हिंसाविरुद्ध संयुक्त राष्ट्रसंघीय विशेषदूत डुब्रभ्का सिमोनोभिचले निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्ने बताएपछि उनीहरुलाई सशक्त ऊर्जा प्रदान गरेको छ ।
सेन्ट जेभियर्स कलेजमा कक्षा ११ मा अध्ययनरत अर्जुन विकले प्रविधिसँग जोड्दै एन्टी रेप अर्थात बलात्कार प्रतिरोधी मेसिन बनाएको कुरालाई मार्ग दर्शनको रूपमा लिन सकिन्छ । यसकै उदाहरण राखेर ठूलो स्तरमा कुनै यन्त्र निर्माण वा उपाय गरेर बलात्कारी पिशाचहरूलाई रोक्न वा नियन्त्रण गर्न सकिन्छ कि भन्नेतर्पm सबैले ध्यान दिनुपर्छ । 
—२०७५ मंसिर १६

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon