Wednesday March 20, 2019 |

आफ्नो हात जगन्नाथ भएपछि सबै जायज हुन्छ – डा डी आर उपाध्याय

featured-news

‘आफ्नो हात जगन्नाथ’ उखानले अचेल नेपाली जनमानसमा ठूलै हलचल मच्चाइरहेको हुनसक्छ । गत मंसिर २९ गते प्रतिष्ठित दैनिक अखबार कान्तिपुरमा ‘घरधनी सांसदलाई घरभाडा’ शीर्षकको मुख्य समाचार पढ्दा देशभरीका बुद्धिजीवी जिब्रो टोक्दै यसको बहसमा उत्रिए । निरंकुश तानाशाही र सामन्तवादको अन्त्य गर्ने उद्घोषका साथ अनेकौं आन्दोलन, क्रान्ति र जनयुद्धमा सहभागी भएको राजनीतिक दलका जिम्मेवार नेताहरूले यसरी राज्यको ढुकुटीबाट व्यक्तिगत लाभ लिने कल्पना शायद कसैले गरेका थिएनन् । त्यही भएर यस समाचारले सबैको मनमस्तिष्क खल्बल्याउनु स्वाभाविकै छ ।
प्रकाशित समाचार अनुसार राजधानीमा घर भएका ३० जना सांसदले संसद सचिवालयबाट घर नभएका सांसदले मात्रै पाउने घरभाडाको सुविधा महिनैपिच्छे लिइरहेका छन् । यसरी सुविधा लिनेमा उद्योगी, व्यापारी र दलका चर्चित नेतासम्म रहेका छन् ।
सचिवालयले घरभाडा वापतको रकम हरेक महिना पारिश्रमिकसँगै उनीहरूको बैंक खातामा पठाइदिने गर्छ । सचिवालयको प्रक्रिया अनुसार सांसदले राजधानीमा घर भए÷नभएको उल्लेख गरेपछि आवास सुविधा उपलब्ध गराउने÷नगराउने निर्णय हुन्छ । यसका लागि सचिवालयले उपलब्ध गराएको फाराममा घर भए÷नभएको खुलाउनुपर्ने हुन्छ ।
संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन अनुसार काठमाडौंमा घर नहुने सांसदले घर भाडावापत मासिक १८ हजार पाउँछन् । घर हुनेले पनि मर्मत खर्चवापत मासिक ९ हजार रूपैयाँ पाउँछन् । सचिवालयका एक कर्मचारीका अनुसार घरभाडा लिने कतिपय सांसदको घरमै उनी पुगेका छन् तर सुविधा लिन उहाँहरूले ढाँटिरहनु भएको छ ।
घर भएर पनि भाडावापत रकम लिनेमा नेकपाका १३, नेपाली कांग्रेसका १२, राजपाका ३, फोरमका १ र स्वतन्त्र १ सांसद छन् । घर भए पनि नभएको भन्दै भाडा लिनेमा राष्ट्रिय सभाका दुईजना छन् ।
पूर्व रक्षामन्त्री रहिसकेका सांसद भीमसेनदास प्रधान, पूर्व सभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, पूर्वमन्त्री एवं राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरमकी सरिता गिरी, नेपाली कांग्रेसका उमेश श्रेष्ठ, पूर्वमन्त्री चित्रलेखा यादव, नेकपाका युवा नेता योगेश भट्टराई, नेकपाकी प्रवक्ता पम्फा भुसाल, नेपाली कांग्रेसका नारायण खड्का, नेकपाकै सांसद मोतीलाल दुगड, कांग्रेस सांसद अमरेश कुमार सिंह रहनुभएको छ । पूर्व सभामुख ओनसरी घर्ती र सांसद सत्या पहाडी मन्त्री निवासमा बसेर पनि घरभाडा लिनेको सूचीमा हुनुहुन्छ । समाचार अनुसार संघीय संसदका सांसदले पाउने सेवा–सुविधाको विवरण उपलब्ध गराई दिन अनुरोध गरेको चार महिनापछि विवरण उपलब्ध गराइएको हो । सांसदहरूले बदनामी हुने ठानेर विवरण सच्याउन निवेदन दिन थालेको पनि सार्वजनिक भएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले यसलाई सूचनाको हकको तागत भएको बताउनुभएको छ । उहाँले यसले मुलुकलाई विधिको शासनको बाटोमा हिंडाउन मद्दत गरेको विश्वास व्यक्त गर्नुभयो ।
झुटो विवरण पेस गरेर सरकारी सुविधा लिनु आपैंmले बनाएको कानुनको उल्लंघन भएको विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले बताउनुभयो । उहाँले नक्कली प्रमाणपत्र पेस गर्नु र झुटो विवरण पेस गरेर सरकारी सुविधा लिनु एउटै भएको धारणा व्यक्त गर्नुभयो । उहाँले घर हुँदाहुँदै छैन भनेर ढाँट्नु नैतिक चरित्रले पनि नदिने बताउनुभएको छ । 
यसै सन्दर्भमा पूर्व सहसचिव एवं अधिवक्ता शेरबहादुर ढुंगानाले काठमाडौं उपत्यकामा घर हुँदाहुँदै छैन भनेर कसैले भाडा लिन्छ भने स्वतः भ्रष्टाचार भएको धारणा व्यक्त गर्नुभएको छ । उहाँले कर्मचारीलाई जुन कानुन अनुसार कारबाही हुन्छ, नेताहरू त झन् माथिल्लो तहको भएकाले त्यही कानुनले कारबाही हुने बताउनुभएको छ ।
आफ्नो हात जगन्नाथ बनाउनेहरूले आफ्नो स्वार्थ विपरीत कुनै कदम उठाउने अपेक्षा सर्वसाधारणले गर्न सक्ने आधार नै छैन । विगतमा पुरूष सांसदहरूले सुत्केरी खर्च लिएको घटना पनि भएकै हो । तर त्यस्तो खर्च लिने राजेनताहरूमाथि कुनै कारबाही गरिएको सार्वजनिक भएन । यस्तै क्रियाकलाप सरकारी कर्मचारीहरूले गरेको भए उनीहरूमाथि निलम्बन, थुना आदि कस्तोकस्तो कठोर कारबाही हुन्थ्यो सजिलै अनुमान लगाउन सकिन्छ ।
पूर्वमुख्यसचिव लीलामणि पौडेल, पूर्व सचिव कृष्णहरि बाँस्कोटा लगायत केही प्रशासकहरूले दोहोरो सुविधा लिन अस्वीकार गरेको यथार्थलाई राजनीतिज्ञहरूले अनकुरण गरिदिएको भए पनि सर्वसाधारण जनताले देशमा सुखद परिवर्तन भएको अनुभूति गर्न पाउने थिए । यसरी आफ्नो रगत–पसिना बगाएर तिरेको राजश्वमा ब्रम्हलुट भएको समाचार पढेर निधारमा हत्केला ठोकाउनु पर्ने थिएन ।
–२०७५ पुस ४

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon