Friday October 19, 2018 |

महानायक हमालद्वारा विद्यार्थी भर्ना

featured-news

जीतपुर, कपिलवस्तु, ८ वैशाख । नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराएका छन् ।

हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बनेका छन् ।

“मेरो पहिल्यैदेखि चाहना थियो । यस पटक नेपाल सरकारको नीतिले आफूलाई ठूलो अवसर जुटायो”, हमालले भने, “राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटक पटक विशेष महत्वका साथ हेरविचार गर्नेछु, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु ।”

विद्यालयको भर्ना कापीमा अभिभावकका रुपमा हस्ताक्षर गर्दै उनले राजलाई झोला, पाठ्यपुस्तक र पाठ्य सामग्री दिए । बालकको पालनपोषणका लागि केही रकमसमेत उनले सहयोग गर्नुभएको राजकी आमा लक्ष्मीले बताइन् ।

कार्यक्रममा बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ र उपप्रमुख मीरा चौधरी, समन्वय एकाइ प्रमुख सुरेन्द्र पराजुली, गौतमबुद्ध माविका प्रअ रामप्रसाद अर्याल, स्रोत व्यक्ति खेमराज पौडेललगायतले हमालको कामले सबैमा उत्सुकता आएको बताए ।

राज बुद्धभूमि–२ पुरेनाको सामान्य परिवारमा जन्मिएका बालक हुन् । बुबा काशीराम र आमा लक्ष्मीका उनी कान्छो सन्तान हुन् । उनका बुबाको गत वर्ष कात्तिक १९ गते भारतमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु भएको एक वर्ष पुगे पनि राजको परिवारले हालसम्म राहत रकम पाएको छैन । पतिको मृत्युपछि लक्ष्मी श्रमिक बनेकी छन् । उनी नदीजन्य पदार्थ गाडीमा लाद्ने काम गर्ने गरेकी छन् । हमालले अभिभावकत्व ग्रहण गरेपछि आफ्नो बालकको भविष्य उज्वल हुने उनले बताइन् । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon