Wednesday December 19, 2018 |

गिट्टीको अभावले जलविद्युतको काम प्रभावित

featured-news

पर्वत । पर्याप्त मात्रामा गिट्टी बालुवा नहुँदा पर्वतमा निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य प्रभावित भएको छ । आयोजनाको सुरुङमा कंक्रिटिङ गर्नका लागि बालुवा र गिट्टी नपाउँदा निर्माण कार्य पूर्णरुपमा प्रभावित भएको हो । आयोजनाको सुरुङ निर्माण कार्य गरिरहेको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनी लिमिटेडले दिएको जानकारी अनुसार कात्तिक महिनादेखि पर्याप्त मात्रामा बालुवा र गिट्टी उपलब्ध हुन नसकेकाले निर्माण कार्य पूरै प्रभावित भएको छ ।

कम्पनीका अनुसार अहिलेसम्म चार हजार १९ मिटर सुरुङमध्ये १८० मिटर मात्रै खन्न बाँकी छ । खनिएको सबै सुरुङलाई कंक्रिटिङ गर्नुपर्ने हुन्छ । सुरुङ कंक्रिटिङ गर्न ६५ हजार घन मिटर बालुवा तथा १३० घनमिटर गिट्टी आवश्यक पर्छ । तर पर्वतका क्रसर र वरपरका क्रसरले समेत मागको तुलनामा न्यून संख्यामा पनि आपूर्ति गर्न नसकेको प्रोजेक्ट म्यानेजर मिश्रले बताउनुभयो । हेम्जाबाट दैनिक एक टिपर मात्र बालुवा ल्याएर काम भएको छ ।

यस्तै अवस्था रहेमा आयोजनाको निर्माण कार्य लम्बिँदै जाने र लागत समेत बढेर जाने उहाँले जानकारी दिनुभयो । पर्वतका क्रसरले माग अनुसार कहिल्यै पनि निर्माण सामग्री उपलब्ध गराउन नसकेकाले आयोजना निर्माणका काममा सधँै समस्या हुने गरेको मिश्रको भनाइ छ । सुरुङ मात्रै होइन आयोजनाको अन्य संरचना निर्माणमा पनि निर्माण सामग्रीको अभाव भइरहेको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon