Wednesday March 20, 2019 |

तर्क र भाषणले अकर्मण्यता ढाकछोप गर्दैमा कटु सत्य बदलिंदैन – डा डी आर उपाध्याय

featured-news

                              मुलुकमा तीन तहको सरकार सक्रिय रहेको एक वर्ष व्यतीत भइसकेको छ । सर्वसाधारण जनताबाट असुलिएको राजश्वबाटै तीनै तहका शासक र राजनीतिज्ञहरूले विभिन्न सेवा सुविधाहरू लिइरहेका छन् । सोही अनुरूप जनताका पीरमर्का र समस्याहरू समाधान हुने आशा एवं विश्वास गरेका जनतामा निराशा बढ्दै गएको छ । जनताका समस्यातर्पm एउटा सरकारको आँखा नपुगे अर्कोको पुग्नुपर्ने हो तर आधारभूत आवश्यकता पूरा गर्न कोही तत्पर नहुँदा दुर्गम क्षेत्रका जनताले देशमा परिवर्तनको सुखद अनुभूति गर्नुको साटो आपूmहरू जहाँको तहीं रहेको महसुस गरिरहेका छन् ।
समृद्धिको जग खडा गरिएको दाबीले एक–दुई दिन जनताको मनमा तरंग ल्याउन सक्छ तर त्यसपछि जताततै लथालिंग चाला देखेर सबै जोश बेलुनको हावा फुस्स हुन्छ । वि.सं. २००७, २०३६, २०४६, २०६२ का क्रान्ति, आन्दोलन, जनआन्दोलन र जनयुद्धको सफलतापछि यही हविगत सबैले भोग्दै आएका छन् । लड्डु खाए, दीप प्रज्ज्वल गरे तर केही महिनापछि नै मुख तितो र निराशाको अन्धकार !
संघीय र प्रदेशको राजधानीमा विकास तथा द्रुततर प्रगतिका चर्का भाषण दिनहुँ गुञ्जिन्छन् । उता, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका ३ सूँ गाउँमा खानेपानीको हाहाकार भएको समाचार प्रतिष्ठित दैनिकको प्रथम पृष्ठमा प्रकाशन हुन्छ । गाउँका पानीमुहान सुकेपछि पानीको चरम अभाव भएको हो । मुहान सुकेपछि स्थानीय बासिन्दाले गाउँदेखि परको मुहानबाट घोडामा बोकेर खानेपानी ल्याउँदै गरेको तस्बिरसमेत छापिएको छ । गाउँबाट आधा घन्टाको दूरीमा रहेको मुहानमा घन्टौं लाइन लागेर पानी भर्नुपर्ने र घोडा तथा खच्चरलाई बोकाएर पानीको जोहो गरिरहेको पीडा गाउँलेले पोखे । सूँ गाउँ र यस्ता अन्य सयौं गाउँ अकस्मात भुइँ फाटेर हालसालै प्रकट भएका पक्कै होइनन् । यस्तो समस्या पनि एक्कासि आएको होइन । अनि अनेकौं परिवर्तन र त्यसपछि आएका विकास एवं उन्नतिका भाषणले त्यहाँ साकार रूप किन लिन सकेनन् ? स्थानीय सरकारको नजरमा पनि निरीह जनताको यो दुर्गति नपर्नु दुर्भाग्यपूर्ण नै हो । गाउँमा पानी ल्याउन लाखौं रूपैयाँ खर्च भइसकेको छ ।
दुर्गममा मात्र होइन सुगममा पनि आधारभूत आवश्यकतामा अनेकौं बेथितिले परिवर्तनमाथि औंला ठड्याइरहेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका १० मा रहेको पशुपति प्राथमिक विद्यालयमा १४ वर्षअघि ओमप्रकाश शर्मा प्रधानाध्यापक भएर आउँदा विद्यार्थी ३ सय पचासजना थिए । शैक्षिक उपलब्धि ५० प्रतिशतभन्दा माथि थियो । अहिले भने विद्यार्थी ४३ जना छन्, शैक्षिक उपलब्धि ३८ प्रतिशत । अचम्म के छ भने प्रधानाध्यापक शर्मा नै छन् । यसभन्दा पनि तीनछक्क बनाउने अर्को उदाहरण छ । दाङकै दंगीशरण गाउँपालिका ५ मिरौलीको सरस्वती प्राथमिक विद्यालयमा विजय कुमार भट्टराई प्रधानाध्यापक भएको पनि लामो समय भयो । यसमा कुनै बेला चार सय विद्यार्थी थिए भने अहिले जम्माजम्मी ७ जना छन् ।
मोफसलका कुरा छाडेर देशको राजधानीमा छिरौं । काठमाडौँ मख्खनस्थित तारिणी आधारभूत विद्यालय, काठमाडौँकै इटुम्बहालस्थित २०१४ सालमा स्थापित केशचन्द्र प्राथमिक विद्यालयका दुई–दुई शिक्षक, शिक्षक नै हुन् र विद्यालय पनि आउँछन् तर पढाउनु पर्दैन किनभने विद्यार्थी छैनन् । केशचन्द्रमा पाँच विद्यार्थी भर्ना भए पनि आउँदैनन् । राजधानीका यस्ता कयौं सामुदायिक विद्यालय छन् जहाँ विद्यार्थी घटिरहेका छन्, राज्यको लगानी भने बढेको बढ्यै छ ।
एउटा रोचक उद्धरण छ– जो सानो कुरामा इमानदार हुन्छ ऊ ठूलो कुरामा पनि इमानदार हुन्छ र जो सानो कुरामा बेइमान हुन्छ ऊ ठूलो कुरामा पनि बेइमान हुन्छ । कसैलाई उक्त समस्याहरू सानो लाग्न सक्छन् र उनीहरूले विभिन्न तर्क अघि सारेर ठूलाठूलो भाषण गरेर आफ्नो अकर्मण्यतालाई ढाकछोप पनि गर्न सक्छन् तर त्यसले कटु सत्यतालाई बदल्न सकिंदैन ।

                                                                           –२०७५ फागुन ५

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon