Sunday September 15, 2019 |

नारीलाई प्रताडित गर्ने प्रवृतिमाथि अंकुशी लगाइए नारीमाथि हुने हिंसा न्यून हुन्छ – डा डी आर उपाध्याय

featured-news

                                     श्रृष्टिकर्ताले नै आधा आकाश ओगटेका नारीलाई कोमल हृदय र प्रेम भावनाले भरेर संसारमा अवतरण गराउने गरेका छन् । यिनै नारीलाई प्रताडित गरेर आनन्द एवं आत्म संतुष्टि पाउन खोज्नेहरुको कमी छैन समाजमा । आश्चर्य के छ भने कयौं नारीले नै नारीलाई प्रताडित गर्ने प्रवृति बढ्दै गएको छ । जसले गर्दा अनेकौं परिवारको सुखशान्ति तहसनहस हुँंदै गएको छ । दैेनिक–साप्ताहिक–मासिक पत्रपत्रिका, विद्युतीय सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतमा दिनहुँंजसो महिला प्रताडित भइरहेका समाचार प्रकाशन भइरहेका हुन्छन् ।
आईएनजीओ एनजीओ मार्पmत देशभर अर्बौं रुपैयाँं खर्च भइरहेको छ । तर महिला प्रताडनाका घटना न्यून हुनुको साटो बढ्दै गएका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था होऊन् वा राष्ट्रिय गैरसरकारी संस्था, यिनीहरुको कार्यक्षेत्र विशेषगरी सामाजिक जनजीवनको विकास र सुधार नै हुने गर्दछ । समाजमा व्याप्त अनेकौं विकृति–विसंगतिलाई यस्ता गैरसरकारी संस्थाहरुले गाउँगाउँमा पुगेर समाप्त पार्ने वा न्यून गर्ने विश्वास सबैले लिएका हुन्छन् । देशका गैरसरकारी संस्थाहरुलाई यस्ता कार्य गर्न प्रोत्साहित गर्न हाम्रै सरकारले बर्षेनि अर्बौं रुपैयाँ लगानी गर्ने गरेको छ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सन्दर्भमा सार्वजनिक भएको विवरण अनुसार, नेपालका विभिन्न जिल्लामा २३ देशका संस्थाले २५ अर्ब रुपैयाँ खर्च गर्दैछन् । बेलायतले एक्सन एड इन्टरनेशनल नेपाल एनजीओमार्पmत २४ जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । समाजमा व्याप्त विकृति–विसंगतिको गहिराइमा जाने हो भने त्यहाँ कुनै न कुनै रुपमा गरिबी नै भेटिन्छ । एक्सन एड इन्टरनेशनल नेपालले करिब चार वर्षसम्म वार्षिक चौंतीस करोड रुपैयाँ खर्च गर्ने योजना अन्तर्गत काम गरिरहेको छ ।
फ्रान्सले नुवाकोट तथा रसुवामा एक्सन कोट्रेला एनजीओमार्पmत बास परियोजनाका लागि करिब ११ करोड रुपैयाँ यस वर्ष खर्चने भएको छ । यस आर्थिक वर्ष नेपालमा काम गर्न लागेका १ सय ३७ आईएनजीओमध्ये १ सय ६ युरोपियन युनियन र अमेरिकासँग सम्बन्धित छन् । अन्य ३१ एसिया, अष्टे«लिया र दक्षिण अमेरिकी राष्ट्रसँग सम्बन्धित छन् ।
अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–७७ मा ती आईएनजीओले नेपालमा खर्चन लागेको कुल रकम २४ अर्ब ७९ करोड २४ लाख ८१ हजार रुपैयाँ छ ।
कयौं एनजीओले महिला सशक्तीकरण र यौनहिंसा न्यूनीकरणलाई समेत आफ्नो उद्देश्य बनाएका छन् । अन्य उद्देश्यले पनि सामाजिक विकृति–विसंगति न्यूनीकरणलाई कुनै न कुनै रुपमा छोएको मान्न सकिन्छ ।
यति हुँदाहुँदै पनि केवल एक जिल्ला सिरहामा दुई महिना नबित्दै चार महिलाको हत्या हुनुले गम्भीर प्रश्न उठाएको छ । अझ यी हत्याका कारणहरुले झनै चिन्ता उत्पन्न गरेका छन् । यहाँं छोरा नजन्माएको निहँंमा दिनहुँं महिला प्रताडित हुनु परिरहेको छ । प्रताडनाको मनसायबाट बलात्कार गरिएका अनेकौं घटनाले सिंगो समाजलाई कसरी स्तब्ध पार्ने गरेको छ, कसैबाट लुकेको छैन ।
नारीमाथिको प्रताडना विरुद्ध दिनहुँ अनेकौं कार्यक्रम हुने गरेका छन् । तर पनि यस्ता घटना बढ्दै जानुले कता के कमजोरी छ, कहाँ कुन प्रयास पुगेन आदि इत्यादि प्रश्न उठाइरहेका छन् । महिलामाथि बढी प्रताडना भइरहेका क्षेत्रको पहिचान गरी अन्तर्राष्ट्रिय–राष्ट्रिय गैरसरकारी संस्थाहरुका सबै निकाय साथै सम्पूर्ण सरकारी संयन्त्रले त्यहाँ तत्काल दीर्घकालीन रुपमा आफ्नो विशेष अभियान सञ्चालन गर्नु आवश्यक छ । नारीलाई गरिने प्रताडनाले नै समयक्रमसँंगै नारीमाथिको विभिन्न हिंसाको रुप लिने गरेको यथार्थलाई आत्मसात गरी आरम्भमै यसको विस्तारलाई नष्ट गरिए नारीमाथिका हिंसा स्वयमेव न्यून हुन्छन् ।
                                                                                                – २०७६ भदौ २०

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon