लिच्छविकालीन शैलीमा मन्दिर निर्माण

0
18

– रामबहादुर थापा बागलुङ, १ फागुन (रासस) ः

मौलिक शिल्प र सामग्री प्रयोग गरेर बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरको नवनिर्माण गरिएको छ । लिच्छविकालीन शैली झल्कने गरी मन्दिर बनाइएको अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताउनुभयो । विसं २०४२ मा बनेको मन्दिर जीर्ण भएपछि सोही ठाउँमा नयाँ निर्माण गरिएको हो । प्यागोडाशैलीको मन्दिरमा श्रीराम अङ्किन कालीगण्डकी नदीका शिला (ढुङ्गा) र सालको काठ प्रयोग गरिएको छ । उदयपुरबाट ल्याइएको सालको काठबाट कलात्मक टुँडाल, झ्याल र ढोका बनाइएको छ । मन्दिर निर्माणको काम भक्तपुरका कालीगढले गरेका हुन् । कालीगढले महिनौँ लगाएर काठमा देवी, देवताका आकृति कुँदेका थिए । मन्दिरमा ढुङ्गा, काठ र तामा मात्र प्रयोग भएको छ । “प्राचीन नेपाली कला र शैली पछ्याएर मन्दिर बनाइएको छ”, मन्दिरका अध्यक्ष प्रपन्नाचार्यले भन्नुभयो, “झक्तपुरको चाँगुनारायण मन्दिरकै ढाँचामा बनेको छ ।” चाँगुनारायण मन्दिर लिच्छविकालीन राजा हरिदत्त बर्माले इसापूर्व ३२३ मा बनाएको बताइन्छ । श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरको स्थापना अध्यक्ष प्रपन्नाचार्यका गुरुदेव स्वामी श्रीधराचार्यले गर्नुभएको थियो । नयाँ मन्दिरमा प्राण–प्रतिष्ठा भइनसकेकाले अहिले पुरानै मन्दिरमा पूजाआजा हुने गरेको छ । नवनिर्मित मन्दिरमा तीन ढोका, २८ झ्याल र ६४ टुँडाल छन् । मन्दिरमा ३५० किलोको शालिग्राम पनि छ । मन्दिरमा भगवान् मुक्तिनाथ, श्रीरङ्गनाथ, श्रीवेङ्कटनाथ, श्रीदेवी, भूदेवी र नीलादेवीको मूर्ति रहेका छन् । मन्दिरको छाना, मण्डप, गरुढ शिलालगायतमा गरी करिब ११ हजार किलो तामा प्रयोग भएको छ । “मन्दिरसँगै मुख्य संरचना निर्माणको काम सकिएको छ”, अध्यक्ष प्रपन्नाचार्यले भन्नुभयो, “छिटपुट काम मात्र बाँकी छ, आउँदो वैशाखमा यज्ञसहित मन्दिरमा प्राण–प्रतिष्ठा हुन्छ ।” वैशाख १० देखि १९ गतेसम्म मन्दिर परिसरमै श्री विष्णुयाग धनधाञ्याचल महामहोत्सवको आयोजना गरिएको छ । १८ गते प्राण–प्रतिष्ठा गरिने र सोही दिनदेखि मन्दिर सर्वसाधारणका लागि खुला हुने जनाइएको छ । उक्त महामहोत्सवमा देश विदेशका सयौँ सन्त, महात्मा उपस्थित हुनेछन् । भारतको हरिद्वार, बृन्दावन, त्रिपती बालजीलगायतका ठाउँबाट समेत महात्मा आउने मन्दिर व्यवस्थापनले जनाएको छ । विसं २०७४ चैतबाट निर्माण शुरु भएको मन्दिरको लागत झण्डै रु सात करोड पुगेको छ । पुरातात्विक कला र शैली अपनाउँदा मन्दिर निर्माणले केही बढी समय लिएको हो । भूकम्प, नाकाबन्दी आदि कारणले पनि बीचमा निर्माण कार्य प्रभावित भएको थियो । मन्दिर निर्माणका लागि शुरुमा अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्टले रु. एक करोड उपलब्ध गराएको थियो । त्यसयता विभिन्न क्षेत्रका दाताबाट जुटेको सहयोगले मन्दिर निर्माण गरिएको हो । मन्दिरअघिको मण्डप निर्माणका लागि बागलुङ घर भई हाल काठमाडौँ बस्नु हुने आनन्दप्रकाश राजभण्डारीले रु एक करोड सहयोग गर्नुभएको थियो । केही ऋणधनमा समेत काम भइरहेको मन्दिर व्यवस्थापनले जनाएको छ । परम्परागत शिल्प, शैली र स्थानीय सामग्रीबाट बनेको मन्दिर पर्यटकीय दृष्टिकोणले पनि आकर्षक मानिएको छ । मन्दिर नजिकै सर्वसिद्धिधाम पञ्चकोट, गलेश्वर, मुक्तिनाथ क्षेत्र भएका कारण पनि यसको महत्व झन् बढ्ने देखिन्छ । मुक्तिनाथ जाने तीर्थयात्रीमाझ उक्त मन्दिर विगतदेखि नै प्रसिद्ध छ । मन्दिर परिसरमै यही वर्ष बनेको भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ ले पनि पर्यटक तथा तीर्थयात्रीलाई लोभ्याएको छ । सङ्ग्रहालयमा सवा लाख शालिग्राम सङ्ग्रह गर्नुका साथै गण्डकी सभ्यताको प्रतिरुप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनी कक्ष बनाइएको छ । सय मिटर लामो सुरुङमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ । जसमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् । करिब रु छ करोडको लागतमा एक वर्ष लगाएर सङ्ग्रहालय बनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here